कथाः (दीपक घिमिरे ) / नेपालबाट बुढाले म्यासेन्जरमा पठाइदेको छोरीको फोटोलाई हेरेर शितल आधा घण्टा रोई ।

दर्जनौँ थोपा आँसु मोबाइलको स्क्रिनमै खसे । उसले आँसु पुछ्दै फोटो हेरिरही अनि दर्जनाँै पटक छोरीको फोटोमा चु'म्बन गर्दै भनी– “मेरो बाबा तिमी यति ठुली भयौ । मामुले तिमीलाई धेरै मिस गरेकी छ है ।

धेरै बेरसम्म ऊ एक्लै बरबराई रही ।ऊ सम्हालिई, मोबाइलको डाटा अफ गरी । आँसुले भिजेका आँखा निचोर्दै खाना बनाउने तयारी गरी ।

पल्लो कोठाबाट मालिक्नी कराउँदै भनी “ओए शितल अक्कल तर्तिव खलास वल्ल माफी खलास उसले चिच्याउदै भनी “सोइए १ खम्सा दिगिग ।”मालिक्नी हतारिएकी थिई, शितलले पाँच मिनेटमै सबै काम सक्ने उत्तर दिएकी थिई ।

अरबमा घरको काम गर्ने भिसामा चार वर्ष अघि कुवेत आइपुगेकी शितल दिनहुँ रुन्छे । कहिले बाआमाको यादले रुन्छे त कहिले बूढा र छोरीको मायाले रुन्छे ।

एक सुरमा काम गर्दै गरेकी शितललाई फिलिपिनी जेनीले झस्क्याउँदै भनी “यल्ल सोरा झस्केकी शितलको हातबाट स्टिलको जग फुस्कियो ।

भुइँको टायलमा खसेको जगको आवाज बाहिरसम्म पुग्यो । बाहिर बसेको अरबी मालिक अनि पल्लो रुममा भएकी मालिक्नी किचेनमा प्रवेश गरे ।फिलिपिनी जेनीले जग उठाई, शितलले पोखिएको पानी । अरबी मालिक केही नबोली फर्कियो, मालिक्नीले अनुहार बिगार्दै आफ्नै भाषामा गाली गरी ।जेनी र शितल मिलेर खाना पकाइसकेपछि उनीहरु बाहिर आए । अरबी परिवारका सबै मिलेर खाना खाए ।

एक घण्टा पछाडि अरबी परिवारको खानपिन सकिएपछि जेनी र शितल भान्सा छिरे । बचेको दुईवटा खबुस सादेको अचारसँग शितलले खाई । जेनीले चाहिँ मस्तले बिर्यानी खाई । जेनी क्रिस्चियन हो, ऊ गाईको या उँटको मासु खान्छे । शितलले अरब छिरेपछि माछा मासु सबै खान छाडी । ऊ पकाइदिन्छे तर खाँदिन ।

नेपाल हुँदा शितल माछामासु भनेपछि हुरुक्कै हुन्थी रे । एक प्लेट मात्र होइन ऊ एक किलो मासु एक्लै खाई सक्ने हिम्मत राख्थी ।सुकाएको माछा, पाडाको सुकुटी या खसीको मासु । यी सबै शितलका फेभरेट थिए । तर कुवेत छिरेपछि मात्र थाहा पाई अरबका भान्सामा गाई या उँटको मासु नपाकेको दिनै हँुदैन । अनि शितलले निर्णय गरी, अब अरबको बसाइसम्म माछामासु केही पनि खाँदिनँ ।

अनि ऊ शुद्ध साकाहारी बनी ।बचेको खानाले नै जेनी र शितलको पेट भरियो । जेनी जुठो, फोहोर या छोइछुतो मान्दिनथी । उसको फिलिपिन्समा पनि यस्तै अरबको जस्तै चलन छ रे । तर शितल जुठो र फोहोरसँग टाढै बस्थी । ऊ जेनीको जुठोसम्म खादिनथी । जेनिले जुठो खान प्रेरित गर्दा भन्थी “जुठो त हामी नेपाली आफ्नै बूढाको मात्र खान्छौँ । बाँकीको खाने हो भने त जिब्रो अनि ओठमा घाउ निस्कन्छ ।”शितलको कुराले जेनी मस्तले हाँस्थी अनि हसुर्थी एक्लै बचेको खाना ।

छोरीको फोटो हेरेर मन चञ्चल बनाएकी शितलले आज छिट्टै भान्साको काम सकी । भान्साभित्र पोचा लगाउने काम जेनीलाई सुम्पेर ऊ आफ्नो कोठामा आई ।विस्तरामा पल्टेर मोबाइल डाटा अन गरी, म्यासेन्जरमा आको फोटो फेरि एक पटक हेरी । अनि चुमेर फोटोलाई सेभ गरी ।फेसबुकमा फोटो पोस्ट्याउँदै क्याप्सन लेखी “मिस यु छोरी, लभ यु सो मच ।”फोटोमा आएका कमेन्टको रिप्लाई दिँदै लाइक गनेर बस्दै थिई, एक्कासि म्यासेन्जर ट्वाङ बज्यो । उसको बूढाले म्यासेज गरेका रहेछन् ।

म्यासेज पढेर खिस्स हाँसी । बुढाले लेखेका थिए “छोरीलाई मात्र मिस गर्छ्यौ है शितल त्यो परदेशबाट रु मलाई भुल्यौ ऊ मुन्टो ठाडो पारेर सिलिङतिर हेरी, रसाएका आँखाबाट आँसु नचुहोस् भनेर ऊ माथि फर्केकी थिई । ऊ आँसु लुकाउन चाहन्थी । तर पल पल आँसु बगिरहन्थे । बेस्सरी आँखाका परेली झिम्क्याएर आँसुलाई आँखामै लुकाई ।बुढालाई रिप्लाई गर्ने शब्द ऊसँग थिएन ।

ऊ बुढालाई यति धेरै माया गर्छु भनेर छाती चिरेर देखाउन पनि सक्दिनथी । शब्दले बयान गर्नै नसक्ने माया ऊ बुढालाई गर्थी ।म्यासेन्जरमा भएको लभको सिग्नल वाला इमो पठाउँदै बुढाको म्यासेजमा रिप्लाई गरी । यत्तिले मात्र पुगेन, अँगालोमा बेरेर किस गरेको इमो पनि पठाइदिई । अनि तलबाट लेखिदिई “आई मिस यु काले अनि मुटु भरीको माया पनि ल ।बुढाले हेरे, तर केही लेखेनन्, सायद बुढाले उता आँसु लुकाउँदै होलान । उस्तै गरेर, जसरी शितलले लुकाउँछे ।शितल फेरि फेसबुकमा आएका लाइक गन्दै कमेन्टमा रिप्लाई गर्न व्यस्त भई ।

ऊ निक्कै राम्रो गजल लेख्छे । एउटा शिक्षित परिवारको छोरी भएर पनि उसका आफ्नै बाध्यता थिए कुवेत आउनुमा । ऊ गजलमा आफ्नो वास्तविकता झल्काउँथी । आफै गजल लेख्थी, अनि यही गजल पढेर आफै रुन्थी । आफ्नै जीवनको कथा सम्झेर ऊ रुन्थी, अरुका कथा फिक्का लाग्थे उसलाई ।कुवेतमा बसेर बिग्रेका नेपाली चेलीकै कारण कति पटक ऊ पनि घरपरिवारको नजरमा शङ्काको घेराबन्दीमा परेकी छे ।

एक दिन उसका बुढाले कुवेतमा बस्ने नेपाली केटीको छाडा भिडियो युटुबमा भेटेर त्यही भिडियोको लिङ्क शितललाई म्यासेन्जरमा पठाउँदै भनेका थिए “सानू १ म धेरै पटक डराउँछु यस्ता कुराले । भो चाहिँदैन त्यो धन, बरु आजै फर्क । यस्ता शङ्काको घेरामा ऊ आफन्तबाट मात्र होइन, साथी भाइबाट पनि परेकी छे ।एक दिन उसको फेसबुके साथी दीपकले च्याटबाटै भन्यो “कुवेतमा बस्ने नेपाली केटीहरु धेरै बिग्रेका हुन्छन् रे ।

तिमी पनि त्यही क्याटोगेरीको त हैन्यौ दीपकलाई दिने जवाफ ऊसँग थिएन । बाध्यताले परदेशमा आउने र रहरले परदेशमा आउनेबीच निक्कै भिन्नता छ भनेर ऊ बुझेकी थिई तर समाज यसरी बुझ्दैनथ्यो । ऊ कुवेत पुगेपछि उसको खुट्टा तान्ने अनि उसलाई गलत देखाउनेहरुको ठूलै जमात बन्यो नेपालमा । तर ऊ खुट्टा कमाउने मध्येकी आइमाई थिइन ।

दीपकसँगको च्याटमा पनि ऊ भन्थी “म मेरो बाबाको, आमाको अनि बुढा र छोरीको इज्जत सोचेर बसेकी एउटी नेपाली नारी हँु । म रहरले परदेश आएकी होइन, आफ्नै बाध्यता छन् सको कुराले उसलाई गलत भन्नेहरु मुखभरीको जवाफ पाउँथे । नबुझ्नेहरुका लागि उ कराइरहन सक्दिनथी ।

भन्थी “गलत नगर्दासम्म डराउनु पर्दैन । कुकुर भुक्दै गर्छ, हात्ती लम्किरहेकै हुन्छ ।ऊ साँच्चै एउटा असल नारी थिई । घरायसी बाध्यताले कुवेत छिरे पनि उसको मन नेपालमै थियो । छोरीको यादले निदाउ नै नसकेकी शितल राती अबेरसम्म अनलाइन बसेर लाइक र कमेन्ट गनिरही ।उसलाई राति अबेरसम्म अनलाइन देख्नेहरुले गलत सोचे । कतिले त फोहोर शब्द लेख्दै म्यासेजसम्म गर्न भ्याए । ऊ केहीलाई तुरुन्तै अनफ्रेन गर्थी भने केहीलाई ब्लक नै गर्दिन्थी ।

अनि केही मन मिल्ने साथीसँग चै मज्जाले गफिन्थी ।बाध्यताले कुवेत पुगेकी शितलजस्तै युवती हो फिलिपिनी मुलकी जेनी पनि । घरमा सात वर्ष पूरा भएको छोरा छ रे अनि बुढा पनि छन् । तर जेनि अर्काको देशमा पसिना बगाउँदै छे । कहिलेकाहीँ नबुझिने भाषामा बुझिने गरी थोरै बोलेरभए नि जेनी र शितलसँगै रुन्छन् । छोरालाई सम्झेर जेनी रुन्छे अनि छोरीलाई सम्झेर शितल । उनीहरु नेपाल फर्कने दिन औँला भाचेरै गन्छन् अनि बुढाको न्यानो अँगालो र सन्तानको मीठो चु'म्बनको सपना देख्छन् ।ऊ हरेक दिन चार बजे मोबाइलको आलार्मसँगै उठछे । तातो पानी, चिया नास्ताबाट सुरु हुने घरायसी काम रातिको दस बजिसक्दा पनि सकिँदैन ।

दिउँसो एक घण्टा फ्री भए पनि कहिले के काममा त कहिले के काममा ब्यस्त बनाइरहन्छन् यी कुवेती मालिक्नीहरु । अनि जब सबै काम सकेर बिस्तरामा पुग्ने समय आउँछ तब बल्ल अनलाइन आउँछन शितलहरु । तर नेपालमा छ बजे नै घरको काम सकेर हिन्दी सिरियल या फेसबुकमा मस्त हुने आइमाई शितलहरु जस्तालाई निक्कै गलत देख्छन् ।ऊ कथा लेख्न जान्दिनँ रे । नत्र आफ्नै कथाको एउटा किताब तयार गर्छु भन्दै थिई । गजल लेख्छे तर पढने हिम्मत आउँदैन उसलाई ।

भन्छे “कति रुनु रु बाबा आमाको यादले आधा घण्टा आँसु चुहिन्छ, छोरी र बुढा यादले एक घण्टा आँसु चुहिन्छ । कहिलेकाहीँ त अरबी मालिक्नीका तिखा शब्दले दिनै भर आँसु झर्छन् । यस्तो अबस्थामा आफैले लेख्या गजलले पनि रुवाइदिन्छ त्यसैले लेख्छु तर पढदिन । परदेशिएका हजाराँै शितल जस्ताहरुको आफ्नै कथा छ । कसैका बाध्यता छन् त कसैका रहर । तर सबै परदेशीयकालाई एकै देखेर हेप्ने हाम्रो सोचमा परिवर्तन हुन जरुरी छ ।

सम्बन्धित खबरहरु