lumbini bikash koshजनबोली २२ चैत, बुटवल । अन्तर्राष्ट्रिय महत्वको निकाय लुम्बिनी विकास कोषमा उपाध्यक्षसहित चार सदस्य पद साढे दुई महिनाभन्दा बढी समयदेखि रिक्त हुँदा दैनिक काम प्रभावित भएको छ ।

कोषका पदाधिकारीसहित चार सदस्यको नियुक्ति हुन नसक्दा विकास कोष सञ्चालन समितिको बहुमत सङ्ख्या रिक्त हुन पुगेको छ । तत्कालीन उपाध्यक्ष आचार्य कर्मा स्यायाङ्बो शेर्पाले गत पुस २५ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यसमक्ष राजीनामा बुझाएका थिए ।

यस्तै कोषका चार सदस्यको समेत गत फागुन ७ गतेदेखि अवधि सकिएपछि एक उपाध्यक्षसहित चार सदस्य गरी पाँच पद रिक्त हुन पुगेको छ । कोषको सदस्य हुनलाई कोषको परिषद् सदस्य हुनुपर्ने व्यवस्था छ ।

पदाधिकारी तथा सदस्य सबै पदको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ । हाल कोषमा नियमित काम गर्ने कोषाध्यक्ष ओमप्रकाश अर्याल र सदस्यसचिव अजितमान तामाङ मात्र छन् ।

कोषको अध्यक्ष मन्त्री रहने व्यवस्था भए पनि कोषको नियमित काम भने कार्यकारी रुपले उपाध्यक्षले सञ्चालन गर्ने व्यवस्था छ । कोषको नीति निर्माणदेखि महत्वपूर्ण कामको सदर र टुङ्गो लगाउने अधिकार उपाध्यक्षलाई रहने भएकाले अहिले त्यहाँ नीतिगत तहमा पनि समस्या देखिएको छ ।

लुम्बिनीमा सञ्चालित विभिन्न योजनाका काममा पनि उपाध्यक्ष नहुँदा प्रभावित भइरहेका छन् । हाल त्यहाँ आधा दर्जनभन्दा बढी विभिन्न योजनाको काम भइरहेका छन् ।

सम्बन्धित खबरहरु