माननिय ज्यू, ‘उडुसले टोकेर रातभर सुत्न पाइँदैन’

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१

Jailगोरखा । ‘माननिय ज्यू, उडुसले टोकेर रातभर सुत्न पाइँदैन, मारिदिनु पर्यो ‘, जिल्ला कारागारका कैदी बन्दीले राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठक र प्रमुख जिल्ला अधिकारीसँग आइतबार गुनासो गरे ।

कारागार अनुगमनमा पुगेका पाठकलाई महिला र पुरुष कैदीबन्दीको पहिलो भनाइनै यही थियो । बन्दीहरुका चौकीदार मानबहादुर भुजेल पनि भन्दै थिए, ‘धेरै जना भएकाले सरसफाई छैन, उडुसले चुसेर सखाप पार्न लाग्यो ।’

महिला बन्दीको पनि समस्या उस्तै थियो । ‘उडुस मारेरै दिनबित्छ’, चौकीदार निर्मला मिश्रले भनिन, ‘राती पनि सुत्न पाइदैन ।’

गतवर्ष रङ्गरोगन गरेपछि मासिएको उडुस फेरि गर्मी सुरु भएपछि फैलन थालेको उनले बताईन । कारागार शाखाले रङ्ग लगाउने र सरसफाईका लागि फिनेल किन्ने पैसा पनि नभएको भन्दै टारेको बन्दीले बताए ।

क्षमता भन्दा दोब्बर बढी कैदीबन्दीका कारण सुत्न, बस्न, शौचालय जान समस्या भएको भुजेलले बताए ।

‘राती एउटै कोठामा खप्टिएर सुत्दा शास फेर्न पनि गाह्रो हुन्छ’, उनले भने । कारागारमा न्युनतम मानवियता पनि नभएको प्रजिअ उद्धव तिमेल्सेनाले स्वीकारे ।

उनले भने ‘नेताहरुले जेल बसेर उडुस टिपेको बिर्सिए, कारागार सुधार हुन सकेन ।’ सरसफाईमा ध्यान दिन सके उडुस मासिने उनले कैदीबन्दीलाई सुझाव दिए । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु