सहमतिमै संविधान जारी गर्ने प्रतिबद्धता जनाए आन्दोलन फिर्ता : यादव

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ चैत, २०७१

upendra_yadavजनबोली २४ चैत, काठमाडौं । मधेसी जनअधिकार फोरम (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले विगतमा भएका सम्झौताहरुको कार्यान्वयन नगरी उल्टाउने प्रयास गरिएकाले बाध्य भएर आन्दोलनमा जानुपरेको बताएका छन् ।

विराटनगरस्थित आफ्नो निवासमा आज सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले सत्तारुढ दलले विगतमा भएका सम्झौतालाई कार्यान्वयनका साथै सहमतिमै संविधान जारी गर्ने प्रतिबद्धताका साथ विश्वस्त पार्न सक्यो भने आन्दोलन फिर्ता गरी सहकार्यका लागि अगाडि बढ्ने स्पष्ट पारे ।

उनले तीनदिने बन्दका क्रममा कार्यकर्ताहरु संयमित रहने उल्लेख गरे । उनले सत्तापक्षसँग दुई तिहाइ पनि नरहेको र सहमतिका आधारमा संविधान बनाउन नचाहेकाले मुलुकमा अन्योलता बढेको धारणा प्रकट गरे ।

सङ्घीयतालाई थाती राखेर सङ्घीयताविहीन संविधान स्वीकार नहुने प्रष्ट पार्दै उहाँले यसो गरिएमा मुलुकको अवस्था भयावह हुने चेतावनी दिए ।

संविधानसभा छोड्ने सन्दर्भमा सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष यादवले शताब्दीदेखि विभेदमा पारिएका समुदाय, क्षेत्रसँग न्याय नगरी सत्तापक्षले जबर्जस्ती संविधान जारी गरेको अवस्थामा संविधानसभा छोड्ने अवस्था पनि आउन सक्ने सम्भावना व्यक्त गरे ।

सङ्घीय राज्यको सन्दर्भमा उनले चुरे क्षेत्रदेखि तराईको भूभाग मिलाएर मिश्रित राज्य बन्न सक्ने तर, प्राकृतिक स्रोतविहीन पारेर सप्तरीदेखि पर्सासम्मको राज्य बनाउन खोज्यो भने त्यस्तो राज्य स्वीकार नहुने स्पष्ट पारे । रासस

सम्बन्धित खबरहरु