शम्भवामी युगेः युगेः – पेशल आचार्य

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २५ चैत, २०७१
Pesal Acharya

– पेशल आचार्य

युग अनुसारका खोजी हुन्छन् । वैदिक युगमा दर्शनको खोजी भएथ्यो । उत्तरवैदिक युगमा भक्ति र द्वन्द्वको खोजी भयो । रामायणले भक्ति र महाभारतले खोजेको द्वन्द्वमय गूढ रहस्यका बारे यद्यपि खोजीको विषयातिरेक हुन सक्छ या सक्दैन विद्वत् वर्गबाट सन्धान जारी छ । वर्गतले भ्याएसम्म सबैले खोज्ने हो । खोजेमा पाइन्छ । नखोजेमा केही पाइँदैन ।

खोजी सबैको छ । कोही बाहिर खोज्छन् । कोही भित्र । भित्रबाहिर दुवैतिर खोज्नेहरू पनि छन् –यो संसारमा । कोही मुठी कसेर खोज्छन्, कोही मुठी खोलेर । जसले जता खोजे पनि धेरथोर अवश्य पाउँछ–पाउँछ । नखोज्नेले त के पाउनु के गुमाउनु र ? बाबु आमाको खोजीमा हामी आयौँ । हाम्रा खोजीमा सन्ततीहरू आएका छन् । भोलि सन्ततीहरूकै खोजीमा चीर नूतन अनुज र भान्तेहरू पनि आउछन् –शनैशनैः ।

तथागत र नन्दीभृङ्गी विषयाभिमुख र कामाभिमुख भएर मुस्कानका लहर लहरमा पौरिँदै–तैरिँदै नाद र नखराको त्रुटि विश्लेषण गर्दै पूर्णाङ्की र एकाङ्की समस्याहरूका साथमा आलोडित हुँदै सगुनका साइपाटाहरू लिएर आउछन् । लश्करहरू भित्र जन्ती र मलामी दुवै छन् । आयोजक र अतिथिहरू दुवै छन् । दुई वैपिरित्य नदीका किनार यहाँ साथसाथै देखिन्छन् । अभिनयमा नै सही बाघ र बाख्रा एउटै जङ्गलमा विचरणार्थ निस्केका छन् । रेमन चस्माले संसार बदलिने भए रेमनको ‘ट्रेडमार्क’सहित उहिल्यै संसार अर्कै भैसक्ने थियो, जस्तो अहिले छैन र देखिँदैन । दाउन सिद्धिदै गएपछि दर्शनले क्रमशः चस्मा फेरेको हो –कसलाई थाहा छैन ? दृष्टिको व्यापार शैलीमा फेरबदल गरेको हो । परायामार्फत् संवेदनाको कित्ताकाट गराएर मूल मिसिल मुल्तवी राखिएको हो । लामो र लक्ष्याभिमुख यात्रालाई मोडिएको हो । भित्र जनगीत गाउन लगाएर बाहिर अपाङ्गहरूलाई भजन गीतमा नाच्न लगाइएको हो । अह्राइएको हो । सुस्मुम्याएर वा औंला ठड्याएर बोली एवम् लोली फेरिएको हो । वृत्तमा घुमेपछि लक्ष्यमा पुगिदैँन भन्ने कसलाई ज्ञात थिएन ? तर पनि हामी घुमिरहेछौं । कार्तिकेयले सुमेरु र कुमेरु घुमेर आएपनि गणेशले वृत्तीय शैलीमा घुमेरै महादेव र पार्वतीबाट पुरस्कार अनि लोकबाट सम्मान पाए । पुराणले उपजीव्यता प्रकट गर्दै भनेको छ ।

साष्टाङ्ग दण्डवत् शैलीमा समानान्तर क्लिष्टमय भाष्यको विवेचना गरिएको हो । अन्जान नै सही बच्चा बच्चालाई ज्ञात छ । पन्ध्र दिनमा आमा र तीन महिनामा बाउ चिन्ने नवजात शिशुले हाँसो र आँसुको सरहद चिन्छ नै । जसरी नवयुवकले श्लील र अश्लीलको लक्ष्मण रेखालाई उसका इन्द्रीय सारथिबाट भलिभाँती बुझेको हुन्छ । यो उसको बुद्धितत्वको कारयित्री शक्ति पनि हो ।

शरीर उत्तेजित भएझैँ आत्मा उत्तेजित कवै हुँदैन । हुनु पनि हुन्न ।
पर्गेल्न सक्नु मात्र पर्छ यहाँ –आँसु र हाँसो समूल छन् ।
कतै थोकमा त कतै खुद्रामा छन् । सोकेसमा सजाइएका दर्शनहरूमा दाउन तुरिइसक्यो । तिजोरीमा राखेर बयेलिएका नाबालक इच्छाहरूको साथ लिएर अब कुनै आरोही सहासको सगरमाथा उक्लिन सक्दैन । आचार संहितालाई टिम्मुर साँदेर अचार बनायो –हाइब्रिड मानवले । भनिदैछ –संसारमा आँसुको होलसेल विक्री यद्यपि जारी छ तर पनि हाँसो विज्ञापित भैरहन्छ –यहाँ ।

मानव जीवन पद्दति के हो आजपर्यन्त कसैले पर्गेल्न सकेको छैन । पूर्व र पश्चिम एकार्कामा चर्चती बाझेका छन् । जमिन र जमिर कित्ताकाट गरेका छन् । एउटा भन्छ –भौतिक सुख नै अभिभावक हो । अर्को कहिरन हाल्छ –आध्यात्मिक सुख नै सन्तसुख हो । वाद छ । विवाद छ । सँगसँगै संवाद छ । परिसंवादका अन्तर्घुलित वातावरणमा क्लान्त शूत्रधारहरू छन् । कथानकको मूल र सहायक पात्रादिलाई सूत्रधार उपसूत्रधारले छमछमी नचाएको छ । यहाँ निर्देशक बिरामी छ । पात्रहरूले नाटक मञ्चन गरेका छन् । यतिखेर सबैभन्दा जोखिममा विम्ब बनाएर बेवास्ता गरिएका दर्शकदीर्धाहरू रहेका छन् । चिन्तनमा लोडसेडिङ् छ । चिन्ताको इन्भर्टरले देशमा उज्यालो दिन सकेको छैन ।

भन्न त ‘सादा जीवन उच्च विचार’ भनेका छन् विश्वविद्यालयका कर्मकाण्डीय प्राध्यापकहरूले । सूचना बाहिरबाट भित्र पस्न खोज्छ भने ज्ञान भित्रदेखि बाहिर छचल्किन । दश दिकपालबाट आएका ज्ञानलाई नपक्रने गुरु अब गोरु कहलाउँछ । आफूभित्र नखोजेरै यहाँ प्रोफेसर शर्माको डायरी थोत्रिइसक्यो । गुगलमा सर्च नगरे जतिसुकै क्रिज भएको सफारी लगाए पनि शिष्यले उसको पाठ्यक्रमीय प्राध्यापकलाई ‘बाल’ जति गन्दैन ।

नायक र खलनायकहरू आउछन् । ताण्डव र लास्सो आउछन् । नटराज र नटराज्ञीहरू पनि आउछन् । कोही मौलिक आउछन् । कोही पुनसंस्करण भएर आउछन् । दीप्ति र पूर्वदिप्ति शैलीमा रम्रिएर । जसरी होस् आउछन् । जान्छन् । यशोगान भएर आउछन् । शोकगीत भएर जान्छन् । अदव भएर आउछन् । अटेरी भएर जान्छन् ।

हिजो विधिसंम्मत ढङ्ले खोजी गरिन्थ्यो । आज विधिलाई मिचेर खोजी गरिएको छ । शास्त्र र शस्त्र दुवैले खोजेका छन् । इतिहासमा शास्त्रले खोज्थ्यो वर्तमानमा शस्त्रले खोज्छ । कस्तो विरोधाभाष ? मानष र विधिले खोजेका छन् । व्याख्या र मीमांशाले खोजेका छन् । समास र व्यासले खोजेका छन् । संश्लेषण र विश्लेषणले खोजेका छन् । गणित र ज्योतिषले खोजेका छन् । तर सबैभन्दा बढी व्यवहारले खाजेको छ । सबै हारेका छन् –व्यवहारमा । निरक्षर पनि हार्छ । साक्षर पनि हार्छ । सबैभन्दा त शिक्षित हार्ने गर्छ –व्यवहारबाट । हुन पनि ‘व्यय’ र ‘भार’ मिलेर ‘व्यवहार’ शब्द बनेको रै’छ । उपभोक्तावादी समाजमा हरेक बजेट भाषणपछि घट्ने भनेको घरमुलीको आयु मात्र हुन्छ । भान्सा होस् कि मीमांशा सबैमा बजेट बढेकै हुन्छ । घट्न जान्दैन ।

खोज्न पनि जान्नुपर्छ । तौर तरिकाहरू छन् –खोजीका । तरेली–तरेली हुँदै, दिग्दिगन्तमा अहर्निष खोज्ने कि ? व्योम र आकाश गंगामा खोज्ने ? आफूभित्र खोज्नेले आफूबाहिर खोज्ने भन्दा बढी पाएको महशुस गर्छ । शरीरले खोज्ने कि आत्माले खोज्ने ? माथले नियाल्ने कि वादले प्रमाणित गर्ने ? साहित्यले खोज्ने कि संगीतले ? पथ औ पन्थ अनेकानेक छन् । दिक् र विषयाभिमुख भई खोजी गर्नेहरू पनि छन् । खोजीका मार्ग र मोक्ष पृथकाभिमुख छन् । इन्द्रिय संवेद्य शैलीले खोज्नु र आत्माले सन्धान गर्नुमा भने फरक छ । मासा तोलाको हैन पउलपउल फरक छ ।

आँखा हुनेहरू प्रायः आँखा खोलेर खोज्छन् । आँखा नदेख्ने या दृष्टिविहीनहरू आँखा चिम्लेरै खोज्छन् । अहिले त दृश्यविहीन भन्नुपर्छ दृष्टिविहीनहरूलाई पनि । सादृश्यले भन्दा अदृश्यले बढी देख्छ । उसको हेराइ चर्मचक्षुबाट नभई आत्मदृष्टिबाट हुने गर्छ । भारतवर्षका महर्षि रमण नबोलेरै बढी बताउँथे । उनले आफ्ना चेलाचेली र भक्तलाई उनीहरूको मुहारमा हेरेर जुन भाव पोख्थे साधनामा दक्ष भएका चेलाहरू त्यही भाव पढेर न्यानो ग्रहण गर्थे ।

बोल्नु नबोल्नु हो भने नबोल्नु अझ धेरै बोल्नु हो । ज्ञानीहरू, सन्तहरू थोरै बोलेर संसारलाई डोर्याउँछन् । बतौराहरू बढी बोलेर अरूको पछि लुरूलुरू लाग्छन् । अल्पविकसित देशमा बतौराहरूको जनघनत्व बढी छ ।

केटाकेटीमा हामी दौंतरी सामु बाललीला गर्दै जिस्कँदा भन्थ्यौ –एउटा आँखाले एक किलोमिटर देख्छ भने दुईटा आँखाले कति किलोमिटर देख्ला ? हतार हतारमा हामी माझबाटै जवाफ हुने गथ्र्यो –दुई किलोमिटर । तर होइन रहेछ । एउटा र दुईटाको दृष्टिशक्ति उही रहेछ, अर्थात् बराबर । इन्द्रीय शक्तिमा चाक्षुष शक्तिको बल बराबरी हुने ज्ञान जीवनमा साबालक भएपछि मात्र थाहा भयो ।

संसार नै ज्ञात अज्ञात अर्थात् ज्ञाताज्ञात छ । ज्ञानीले आफ्नो बुद्धिशक्ति र प्रतिभाले ज्ञान प्राप्त गर्दछ । अज्ञानीलाई ज्ञान नै अप्राप्य हुन्छ । यो भवसागरमा बुझ्नु जत्तिको सजिलो र नबुझ्नु जत्तिको गाह्रो केही पनि छैन । पानीमा तैरिन जान्नेलाई पोखरी या नदीले डुबाउदैन तर जो जान्दैन उसलाई पानीले तैराइदिन्छ । जीवितले पानीलाई चाल्छ भने निर्जीवलाई पानीले उतार्छ । सास नै हो उत्रिने र डुब्ने । पानी जस्तै हो –यो संसार पनि । यसको न स्वाद् छ । न आकार । अन्धाले हात्ती छामेको जस्तै हो –साराका सारा अनुभवीय ज्ञानगंगा । मानिस ध्यानबाटै ज्ञानगंगा तर्ने कोशिस गर्दछन् तर सबै ध्यानको सागरमा पौरिन त के पस्न पनि जान्दैनन् । जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड हो –यो भवसागर ।

शंकाराचार्य ‘ब्रह्म सत्य जगत् मित्थ्या’ भन्थे तर उनका गुरु ‘जगत् सत्य ब्रह्म मित्थ्या’ भन्थे । गुरु चेलामा पनि कस्तो कत्रो विरोधाभाष ? बाउ छोरो मजस्तै होस् भन्छ रे, छोरो म बाउ जस्तो कहिल्यै नहूँ भन्ने गर्छ । के कारण छ त्यहाँ, त्यस्तो अमिल्दोपन । बेमेलको जननी बास्तवमा के हो ? द्वन्द्व नै संसारको विकासे वीज हो । बाउ र छोरामा, गुरु र चेलामा को सत्य छ त्यो थाहा पाउन सकिँदैन । को गलत छ –त्यो पनि ज्ञात छैन । आफूतिरबाट हेर्दा आफ्नो सब्ल्याँटो र अर्काको बिब्ल्याँटो देखिनु संसारको रित हो ।

एकपटक मैलै कक्षामा मोटिभेसन गर्ने सिलसिलामा एउटा सादा पानामा अङ्ग्रेजीको नौ लेखेर विद्यार्थीलाई देखाएर सोध्दा उनीहरूले अङ्ग्रेजीको छ भनेको पाएँ । मैले मेरो तिरबाट हेर्दा त्यो नौ ठिक थियो भने उनीहरूको तिरबाट हेर्दा छ नै ठिक देखिँदो रहेछ । उनीहरूका लागि उनीहरू ठिक र मेरा लागि म ठिक । संसारलाई बुझ्ने दृष्टि पनि यही हो । केही सार्वकालिक सत्य हुँदैन । सबै सत्यहरू निर्माणाधीन हुन्छन् । अन्तिम सत्य भन्ने कुरा यो संसारमा केही छैन । असत्यहरूको माझमा मात्रात्मक रूपमा बढी सत्य नै सत्य जस्तो लाग्ने हो ।

वेद अध्यायीका लागि वेद सत्य हो । गीतामार्गीका लागि गीता सत्य हो । जो कुरानको पक्षमा छ उसका लागि कुरान सत्य लाग्छ । बुद्धका भान्तेहरू बुद्धका सात अर्तीलाई अजरामर मान्छन् । उनीहरू बुद्धलाई सत्य भाक्छन् । जेन्दा अवेस्ताले बताएको दर्शन त्यसका अनुयायीहरूलाई उँचो जँच्छ । देवी पूजनोत्सवमा रमाउने भक्तलाई देवी या शाक्त परम्परा नै सत्य लाग्छ । तर जो श्वैताम्बर या दिगम्बरमा विश्वास राख्छ उसका लागि श्वैताम्बरपन्थी र दिगम्बरपन्थी नै गूढ रहस्यका लाग्छन् ।

खोजेर पाउने हो –संसारमा । खोज्ने मानिसले पाएको छ । कोलम्बसले खोजे र अमेरिका पाए । भास्को डिगामाले पनि खोजे र नयाँ भूगोल पाए । कलाका कोलम्बस क्रोचेले खोजबाटै कलामा क्रान्ति ल्याइदिए । खोज्नेले पाउँछ । एकपटक प्रसिद्ध वैज्ञानिक थोमस एल्वा एडिसनले रातको बाह्र बजे आफूले आविष्कार गरेको कुरा पाएपछि ‘युरेका युरेका’भन्दै घरबाहिर निस्कँदा नाङ्गै निस्केका थिए रे ! प्राप्तिको कत्रो खुसीयाली ?

कवि, प्रेमी र पागल उस्तै हुन् । कवि कविताको लागि पागल हुन्छ । जीवन नै कवितालाई अर्पेको हुन्छ –कविले । प्रेमी पनि प्रेमका लागि अहोरात्र लागेको हुन्छ । प्रेम ईश्वरको अमूर्त रूप हो । प्रेमलाई सबै मनुष्यले पर्गेल्न सकेका हुन्नन् । अमूर्त रूपलाई प्राप्त गर्न एकप्रकारले पागलै हुनुपर्छ । जस्तो अमूर्त कलालाई जो कसैको चर्मका दृगले परख गर्न सक्दैन । संसारमा जो छ त्यो देखिदैन । जो देखिँदैन त्यो हुन्छ । यस्तो कुरा गर्नेलाई समाजले नै पागलको संज्ञा दिन्छ । देवकोटालाई पनि यो समाजले पागल भनेको थियो अनि उनैले यो समाजलाई पागल भनेर कविता रचेका थिए । को पागल समाज कि देवकोटा ? उत्तर खोजी अझै जारी छ ।

पागललाई उर्दूमा फिदा भनिन्छ । कुनै पनि मानिस केही कुरामा पागल नभई गतिलो कुरा प्राप्त गर्न सक्दैन । प्राप्तिका लागि प्रयासरत हुनु पर्छ । जो प्रयासरत हुन्छ उसैले प्राप्ति गर्छ । खुसीको प्राप्ति पछि मानिस सुखी हुन्छ । तपस्या र साधना पनि पागलपन कै परिचायक हुन् । वाल्मीकिले शरीरमा धमिराले देवल लगाउन्जेल तपस्या गरेका थिए । दधिचि ऋषिको महिमा पनि एक प्रकारको पागलपन नै हो । बुद्धले ज्ञानमा पागल हुन कै लागि स्वास्नी छोराछोरी र राजपाट छाडेका हुन् ।

शास्त्र भन्छ । त्यागबाटै प्राप्ति हुन्छ । जसले त्याग्छ उसले नै पाउँछ । त्यागमा महान्ता लुकेको हुन्छ । गान्धी र गन्धमा धेरै फरक छ । त्यो त्यागी हो ऊ गान्धी बन्न सक्छ । जो त्याग्न सक्दैन ऊ गन्धको पर्यायवाचकता हो । मण्डेला र मण्डलेमा धेरै पार्थक्यता रहन्छ । हाम्रा नेताहरू कोही पनि मण्डेलाको पथका गामी भएनन्, जो नेता भए ती धेरथोर मण्डले नै भए । वाह नेपाली नेतृत्वगण तिमीलाई कोटीकोटी प्रणाम छ । अब तिमीलाई सद्बुद्धि कसले दिने ?

सुत्ने मानिस सुती रहन्छ । उठेको मानिस हिँड्ने हो । हिँडेको मानिस नै दौड्ने हो । सबै सँगसँगै जस्ता देखिन्छन् तर सबैको दौड आआफ्नै हुन्छ । प्रतिस्पर्धा यहाँ कसैसँग कसैको पनि हुँदैन । सबै मानिसहरू सँगसँगै भए जस्ता हुन्छन् तर ती सबै एक्लाएक्लै हुन्छन् ।

दौडमा एक्ला । खेलमा एक्ला । अध्ययनमा एक्ला । ज्ञानमा एक्ला । ध्यानमा एक्ला । न्यासमा । रौसमा । रासलीलामा । खानपानमा । कमाउमा । दृष्टिमा । दर्शनमा । सबैमा एक्ला ।

मन नै हो । यो संसारको सुपर ग्लु । जोड्ने पनि तोड्ने पनि । मन चिसो भयो भने टाढा र मन तातो भयो भने गाढा हुन्छ –भावना । भावनाले नै भगवान्को चित्र बनाएको हो । साकार र निराकार ईश्वर सबै भावनाका खेल हुन् । माने छ नमाने छैन । त्यो पनि मन कै कुरा हो । मन नमिलेका लोग्ने स्वास्नीहरू गोडधूवाका पैसा नसिद्धिँदै एउटै ओच्छ्यानमा सुतेर पनि कोसौं टाढा लाग्छन् ।

सात अरब मानिसहरू छन् तर दुईको मात्र अस्तित्व कायम छ –संसारमा । नर र नारी । नर भनेको महेश र नारी भनेकी महेश्वरी । विम्बात्मक रूपमा भन्दा भग र लिङ्ग । शिव र शक्ति । पेनिस एण्ड भेजिना । भाले र पोथी । कान्छा र कान्छी । हिरो र हिरोइन । डाँगो र छाउरी । अनि किन यस्तो राँडी रुवाइ संसारमा ।

दुःख नै संसारको निर्माता हो । आँसु नै संसारको योजक हो । यो संसारमा जति आँसु बगेको छ त्यति त नद नदीमा पानी पनि बगेको छैन होला । रामायण, महाभारत र देवाशूर संग्राममा मारिएका वा दपेटिएका मानिसहरू र असूरहरूका आफन्तले जति आँसु बगाएका छन् त्यति आजसम्मका कुनै तरल पदार्थहरू पनि यो भवसागरमा बहेको छैन । आँसु नै संसारको सबैभन्दा मँहगो तरल पदार्थ हो । गमेर हेरौं ताजमहल नै आँसुको धरोहर हो । जहाँ अमर प्रेमको मञ्जिल हुन्छ, त्यहाँ आँसुले घर गरेको हुन्छ । सच्चा प्रेमले पुष्पित हुँदा धेरथोर जे होस् आँसु बगेको हुन्छ, हुन्छ ।

आँसुले मानिसलाई जोड्छ भने हासोले छुटाउँछ । मिलनमा हाँसो र विछोडमा आँसुको गुञ्जायस हुने गर्छ । सभ्यताका सबै तिजोरीमा आँसु नै आँसु छन् । गम मानव गम, नियाल, टटोल, यत्नले सन्धान गर त्यहाँ तिमी आँसु पाउँछौ । बाँडेर नबाँडिने अनि दिएर नसिद्धिने पवित्र वस्तु मात्र आँसु नै हो ।

संसार हेर्ने आँखाबाटै आँसु चुहुन्छ तप्तपी । मानौ बादलका आँखाबाट पानी आँसु झैँ बर्सन्छ, वर्षामा । बालवयमा कखरा नजान्दा मास्टरजीको पिटाइबाट आँसु नझार्ने व्यक्ति जीवनमा त्यसै कहाँ ठूलो हुन सक्छन् र ? भलै अहिलेको हाइटेक युगमा मन्टेश्वरी भनेर फकाउने चलन नै किन नचलेको होस् ।

संसारको विभाजनमा पनि, राष्ट्रका सरहद् निर्माणमा पनि धेरथोर आँसु बगेको छ । देशको निर्माण होस् या राष्ट्रियताको त्यहाँ पनि आँसुको लगानी नपरेको स्थान हुँदैन । आँसु नै सभ्यताकी जननी र सिकाइकी मातृशक्ति हुन् । परा र अपरा विद्या हुन् । उषा र सन्ध्या हुन् । वरदा र मोक्षदा हुन् । ऋद्धि र सिद्धि हुन् । ज्ञान र अज्ञान हुन् । सम्भोग र वितृष्णा हुन् । वादी र प्रतिवादी हुन् । फैसला र अपिल हुन् । फ्राइ र ग्रेभी हुन् । आदि र अन्त्य हुन् । स्वान्त सुखाय र परहिताय हुन् । चन्द्र र चकोर हुन् ।

सभ्यताका सिँढी चढ्दै चढ्दै मानिस यहाँ आइपुगेको छ । तर कस्तो अचम्म छ भने सभ्यताको उषाकालमा पनि मानिस एक्लो थियो अहिले पनि एक्लो छ । सभ्यताको प्राचीमा पनि मानिस दिगम्बर थियो अहिले पनि लगभग दिगम्बर भैसकेको छ । यो उसको अबुझपन हो या बुझ्झकीपन हो । अहिले सम्म ज्ञाताज्ञात नै छ ।

जीवन तासको खाल हो । अझ सपाट भन्दा त तासकै कट्फर् हो । यहाँ कोही कसैले कुनै वस्तु या भौतिक चिजको धाक नलगाए पनि हुन्छ । आज जो मसँग छ त्यो हिजो कसैसँग थियो । हिजो कसैसँग भएको चिज आज मसँग छ । अनि आज मसँग भएको चिज भोलि फेरि कसैसँग हुन सक्छ । तरल छ भौतिकी अनि तरल छ संसार ।

भन्नेले त भनेका छन् –आँसु अनि रक्सी र रगत सबै तरल छन् । तरल नै गरल पनि हो । पीयूषलाई पनि काव्यले तरल नै चित्रण गरेको छ । रस भनिने संसारका सबै विषय, वासना र वस्तुहरू तरलमय छन् । जुन चिज तरल छन् तिनीहरू चरित्र र विशेषतामा पनि तरल छन् । तरल चिज बग्न खोज्छन् । बग्नु र सिँचन गर्नु उसको धर्म हो । आँसुले हृदयलाई सिँचन गर्न खोज्छ, मदले शरीरलाई अनि पीयूषले आत्मालाई । यी सबै कुनै न कुनै तबरले बग्न खोज्छन् । पसिनाका बुँदमा जति संवेदना हुँदैन त्योभन्दा आँसुमा कति गुना बढ्ता हुन्छ । यो अझसम्म कसैले आँक्न सकेको छैन ।

युगका सारथिहरूले युग बदल्न प्रयोग गरेका अनेकानेक हतकण्डाहरूहरूमा पनि आँसुको लेप लागेको छ । पालिस लगाएर मानिस अभिनय गर्न खोज्छ । भष्म लेपन गरेर योगीहरू सानाठूला अनेक नाटक गर्न खोज्छन् तर ती त्यहाँसम्म चुकिरहन्छन् । आँसुको नाटक सम्भव छैन । छ, भने केवल हाँसोको मात्र छ । दुनियाँदारमा आँसु सापट लिन सकिन्न हाँसो लिन सकिन्छ । राग, नाद र उन्मादमा हाँसोका सिम्फोनीहरू चलायमान हुन सक्छन् । आँसुका खहरेहरूले संसारलाई मार्गप्रदर्शन गरेका छन् । बुद्धिमा चिहाउने तत्व भनेकै आँसु हुन् । जसले जति धेरै आँसु यो संसारमा बगाएको छ –त्यो त्यति धेरै अनुभवी भएको छ ।

गमेर हेरौं न मुनामदन आँसु हो । रवीन्द्र बाबाको गीताञ्जली पनि आँसु हो । मिश्रका पिरामिड हुन् या चीनका पर्खाल सबैसबै आँसुका तिलश्मी करिश्मा त हुन् । आमाले नौ महिना पेटमा बोकेर पृथ्वी पदार्पण गराउन लाग्दा आमाको प्रशवावस्थामा जसरी आँसुको लेप लाग्छ त्यसरी नै अर्कोतिर नवागत शिशुको पनि चिहाँ चिहाँ भनेर आँसुको आरम्भ हुने गर्छ ।

जीवनको आदिपर्व होस् या मृत्युको अन्त्येष्ठी यी सबैसबै परिप्रेक्ष्यहरूमा, सन्दर्भहरूमा आँसुको खोल लगाइएको हुन्छ । चुरो जे भए पनि गुदी त आँसु नै हो । कसैले मानोस् या नमानोस् आँसुको मोल अनमोल हुन्छ । मोति र आँसु उस्तैउस्तै हुन् । यिनीहरूको मोल आँक्न सकिन्न । अनुभूत गर्न भने सकिन्छ । यो हिजो पनि अमापनीय थियो । आज पनि अमापनीय छ । सायद् भविष्यमा पनि अमापनीय हुनेछ ।

विम्ब विघटनहरूका सन्दर्भहरूले, प्रतीक संयोजनका पुरोवाकहरूले अहिले समयमा आँसुका समुद्र निर्माण गर्न सकेको छैन । बजारको विज्ञापनमा विज्ञापित आँसु होइन त्यो त स्वार्थ हो । स्वार्थमा आँसुको उच्चार्थ हुनै सक्दैन । गरिबीमा, असक्षमतामा र निरीहतामा जति आँसु बगेको छ त्यो अमिरीमा, सक्षमतामा र सबलतामा बग्न सक्दैन । हुन्न पनि ।

प्रारम्भमा कहिले, कसले, कति र कसरी अश्रुधारा बहायो त्यो अब अनुल्लिखित इतिहासको गर्तमा हराएको छ । इतिहास भनेको पनि धेरथोर आँसुकै लिपिबद्ध बजार त हो । जसमा जित्नेको तर्फबाट गाथा र गीत कथिए पनि हार्नेका तर्फबाट केवल आँसु नै बहेको हुन्छ । तौलिनु मात्र पर्छ । पर्गेल्नु मात्र पर्छ । कसैले कसैलाई यहाँ हियाउनु हुँदैन । मानवतालाई गोडमेल गरेर मानव नै माथि जाने हो । अहिलेका सबै विधि र प्रविधिले केवल मानवलाई नै गोडमेल गरेका छन् ।

स्थलचर, जलचर, उभयचर र खेचरलाई त प्रकृति माताले उत्पत्तिमै सिकाउने सधाउने गर्छिन् । संसारका कुनै कुनामा पनि उपर्युक्त चार प्रकारका जीवलाई सिकाउने पढाउने शिक्षालय खोलिएको ज्ञात अहिलेसम्म कम्तिमा यो कलमजीवीलाई छैन ।

चरीले उसका नवागत अभ्यागतलाई फुल अवस्थामै सबै प्रकारका तालिम जो दिएकी हुन्छिन् । जन्मेपछि या द्विज भएपछि पनि उनले सबै सिकाएका सधाएका विषय र वासनाको परीक्षा मात्र लिने हो । अनि आफैँ शनैशनैः आकासमार्गमा विचरण गर्ने हो । युगका पोल्टामा हारेर विचारको चारो खोज्न पथको पथगामी हुने हो । सम्भवामी युगेयुगे । युगौंयुगमा खोज्ने हो । नियाल्ने हो । प्राप्ति र अप्राप्ति जे होस् केवल सन्धान गर्ने हो ।

युग नै अभिभावक हो । युग नै भावक हो । युगलाई चिन्ने मानिस युगान्तर भएर बाँच्छ । मृत्यु पछि बाँच्ने अभिलाषा जसलाई हुन्छ ऊ केही सार्थक काम गर्छ । जो मानिसमा बाँच्नुको असल र सार्थक लोभ छ त्यही हुन्छ –अजरामर । बाँकीे सबै तीन मिनेटका उपज हुन् । मस्तीका नालायक पात्र र प्रवृत्तिहरु जसको मोल कुकुरको जति पनि हुँदैन ।
कुकुर त गुरु हो । उसलाई चिन्न सक्नु मात्र पर्छ ।

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७