महिला हिंसाको घटना बढ्दो

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

Himsha pidit mahilaजनबोली २६ चैत, सिरहा । सिरहाको विभिन्न भागमा पति तथा परिवारका सदस्यबाट हुने महिला हिंसाको घटना बढेको पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहाले लहानमा आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक त्रैमासिक पूर्व समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा घरेलु महिला हिंसा बढेको उल्लेख छ ।

प्रतिवेदन सार्वजनिक गर्दै इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले पछिल्लो पुस १७ देखि चैत १७ गतेसम्मको तीन महिनाको अवधिमा जिल्लाका विभिन्न भागमा १४ वटा घरेलु हिंसाका घटना भएको बताए  ।

प्रतिवेदनअनुसार सबैभन्दा बढी सिरहाको लहान नगरपालिका क्षेत्रमा १० वटा र लहान बाहिरका ग्रामीण बस्तीमा चार वटा घरेलु हिंसाका घटना भएकामा सबै घटना प्रहरीको रोहवरमा मिलापत्र गरिएको छ ।

त्यस विषयमा इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले अधिकांश घरेलु हिंसाका घटना ठाडो उजुरीको रुपमा आउने र घरेलु हिंसा कसुर र सजाय ऐनमा पनि उजुरी परेको एक महिनाभित्र मिलापत्र गर्न सकिने व्यवस्था भएकाले मिलापत्र भएको बताए ।

प्रतिवेदनमा उक्त अवधिमा भएका २५ वटा मानवअधिकार हननअन्तर्गत तीन वटा घटनामा एक महिलासहित तीन जना पीडित भएका छन् । गैरराज्य पक्षबाट भएका २२ वटा घटनामा २० महिलासहित २१ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लाको विभिन्न भागमा उक्त अवधिमा हत्या दुई, बालिका बलात्कार दुई, महिला बलात्कार एक, बाल विवाह एक, सवारीसाधनमा एक घटना भएको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित खबरहरु