१३ वर्षीया बालिकाको पेटमा गर्भ, प्रहरी जवानले बलात्कार गरेको आरोप

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

Nepal-Policeजनबोली २६ चैत, डोटी । नेपाल प्रहरीको जवानबाट डोटी जिल्लामा १३ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजिनक भएको छ ।

बैतडी जिल्ला घर भई घण्टेश्वर प्रहरीचौकी गैरा डोटीमा कार्यरत प्रहरी जवान कमानसिंह बोहराले ती बालिकालाई बलात्कार गरेको आरोप लागेको हो ।

आरोपित जवानमाथि कारवाहीका लागि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी दर्ता गराएका छन् । घटना यहि चैत्र ९ गतेको भए पनि उपचार गराउने क्रममा कैलालीको अत्तरीयामा रहेको एक निजी अस्पतालले बालिकाको पेटमा गर्भ रहेको देखाएपछि मात्रै ढिलो गरी घट्नाको रहस्य सार्वजनिक भएको हो ।

बालिकाको चैत्र १४ गते स्कुल जाँदा साईकलबाट लडेर हात भाँचिएपछि उपचार गराउने क्रममा पिसाव जाँच गराउदा उनको पेटमा गर्भ रहेको रहस्य खुलेको बताईएको छ । कक्षा ७ मा पढ्दै गरेकी ती बालिका फुपुको घरबाट आफनो घर जाने क्रममा बलात्कृत भएको बताइएको छ ।राति करिब साढे सात बजेतिर जंगलमा लगेर आफूलाई बलात्कार गरेको पीडित बालिकाले बताईन् ।

उनले भनिन् ‘उसले मलाई बलात्कार गरिसकेपछि कसैलाई नभन्नु म तिमि संग विहे गरौंला भन्दै गरेको हो ।’ श्रोतका अनुसार बलात्कारको आरोप लागेका प्रहरी जवानको घरमा श्रीमती र छोराछोरी छन् ।

आरोपित प्रहरी जवान बोहरालाई जिल्ला प्रहरी कार्यालयको निगरानीमा राखिएको छ भने पीडित बालिकाको जिल्ला अस्पताल डोटीमा स्वास्थ्य जाँच भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता डम्बरबहादुर चन्दले बताए ।

घटनाको पुष्टी भए आरोपित जवानविरुद्ध जवरजस्ती करणीको मुद्दा चलाईने पनि उनले बताए । उनले भने ‘घट्नाको छानविन भैरहेको छ आरोप प्रमाणित भए कानुनी कार्वाही अवश्य हुन्छ ।’

सम्बन्धित खबरहरु