ग्रामीण आवासको जग्गा बेचेर करोडौं भ्रष्टाचार

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २८ चैत, २०७१

corruption_Nepal-530x353काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनी (तत्कालीन ग्रामीण आवास) को जग्गा बेचेर करोडौं भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन दुईजना महाप्रबन्धकसहित १४ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर भएको छ।

निजी लाभका लागि सरकारी सम्पत्तिको हानिनोक्सानी पुर्याएको दाबीसहित सजाय माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।

नक्कली कागजात र जोतभोतकर्ता खडा गरी जग्गा बेचेको देखाएर रकम बुझेको तथ्य अख्तियारको अनुसन्धानबाट फेला परेको अन्नपूर्ण पोस्टमा खबर छ ।

यी अभियुक्तले जग्गा मासेर ११ करोड तीन लाख १० हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबी अख्तियारको छ। बेचिएको जग्गा नवलपरासी जिल्लाको दाउन्ने देवी गाउँ विकास समितिअन्तर्गत बर्दघाटबाट त्रिवेणी जाने पक्की बाटोसँग जोडिएको छ।

कम्पनीका जिम्मेवार पदाधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को ३(१)(ज) अनुरूप बिगोबमोजिम जरिबाना र आठ वर्षसम्म जेल सजाय माग गरिएको छ।

कम्पनीका तत्कालीन महाप्रबन्धकद्वय नरेश चौधरी, कृष्णदेव चौधरी, योजना प्रमुख नागेश्वरप्रसाद चौधरी, कायममुकायम प्रमुख नारायणप्रसाद घिमिरे, वरिष्ठ सहायक रत्नबहादुर थापा, हरिकृष्ण घिमिरे, सबइन्जिनियर उमेशप्रसाद साह, नायब सुब्बा खडानन्द तिवारी, दाउन्ने देवी गाउँ विकास समितिका सचिव केशव तिवारी र गाविस सहायक विष्णुप्रसाद अर्याल भ्रष्टाचारमा मुछिएका छन्।

यसैगरी नक्कली रूपमा खडा गरिएका स्थानीय जोतभोतकर्ता रामवृक्ष केवट, शोभाकर भुसाल, किंकरप्रसाद दुबे र अशोककुमार चौधरीलाई मुद्दामा प्रतिवादी कायम गरिएको छ।

महाप्रबन्धक नरेश चौधरी, सबइन्जिनियर साह, नासु तिवारी, गाविस सहायक अर्याल, गाविस सचिव तिवारी र नक्कली रूपमा खडा गरिएका जोताहा केवट र भुसालले जनही ६८ लाख ५१ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ।

यस्तै योजना प्रमुख नागेश्वर चौधरी, वरिष्ठ सहायक थापा र घिमिरेविरुद्ध जनही एक करोड ५२ लाख ११ हजार रुपैयाँ भ्रष्टाचारको अभियोग छ।

अर्का महाप्रबन्धक कृष्णदेव चौधरी, कामु प्रमुख घिमिरे, नक्कली जोताहा रहेका दुवे र अशोक चौधरीले जनही ८३ लाख ६० हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ।

सबै अभियुक्तलाई बिगोको मात्राअनुसार भ्रष्टाचारमा सजाय गर्न अख्तियारको माग छ।

सम्बन्धित खबरहरु