यस्तो छ सहमतिकालागि कांग्रेस–एमालेको नयाँ प्रस्ताव

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ३० चैत, २०७१

congress umlकाठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले मधेस र पहाड नछुट्टिने गरी छ प्रदेशको नयाँ सीमांकन गरेर संघीयतासम्बन्धी विवाद समाधान गर्न तयार भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको दुईदलीय बैठकमा नेताहरू सहमतिका लागि प्रदेश विभाजनबारे यसअघिको प्रस्ताव संशोधन गर्न तयार भएका हुन् ।

एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले दलीय सहमतिका लागि छ वा आठ प्रदेश निर्माणको प्रस्ताव अघि सारेको थियो । त्यसपछि दुई दल छ प्रदेशमै दलीय सहमतिको प्रयास गर्ने निष्कर्षमा पुगेका हुन् ।

‘पूर्व र पश्चिमलाई मधेस र पहाडसँग नछुट्ट्याई अरू भागमा मिलाएर जान सकिन्छ’, कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भने, ‘छ प्रदेशमा नै दलीय सहमतिको प्रयास गर्छौं।’

एमाओवादीले जातीय पहिचानका आधारमा नामांकन गरे छ र प्रदेश सभालाई नामांकनको जिम्मा दिए आठ प्रदेश बनाउनुपर्ने प्रस्ताव अघि सारेपछि कांग्रेस र एमालेले सात प्रदेशको अडान छाडेका हुन् ।

मधेसवादीसहित विभिन्न जातीय समूहलाई पनि ‘चित्त बुझाउन’ भन्दै एमाओवादीले प्रदेशसभालाई नामांकन जिम्मा दिन आठ प्रदेश बनाउनुपर्ने तर्क गरेका छन् ।

प्रदेशको नाम बहुजातीय पहिचानका आधारमा राख्न कांग्रेस र एमाले तयार भए छ प्रदेश मात्र बनाउन सकिने एमाओवादी प्रस्ताव छ । ‘हामी जतिसक्दो थोरै प्रदेश निर्माणको पक्षमा छौं’, कांग्रेस प्रवक्ता बडूले भने ।

प्रदेशको संख्यामा दलीय सहमति जुटे शीर्ष नेता सहभागी कार्यदलले सीमांकनको टुंगो लगाउन सक्ने गरी सहमति गर्न पनि शीर्ष नेता सकारात्मक देखिएका छन् । कार्यदललाई १५ दिन समय दिएर नयाँ सीमांकन गर्न दुई दल सकारात्मक भएका हुन् ।

दलीय सहमति जुट्न नसके दलहरूले अघि सारेका आ–आफ्नो नाम र सीमांकनको प्रस्ताव अनुसूचीमा राखेर जनतामाझ लैजाने दुई दलको अर्को प्रस्ताव छ । आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु