माओवादी लडाकु व्यवस्थापनमा राज्यकोषको ४० अर्ब स्वाहा

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ३० चैत, २०७१

Ladaku

जनबोली/ ३० चैत, काठमाडौ । माओवादीको सशत्र द्वन्द्वले राज्य कोषबाट ४० अर्ब भन्दा बढी खर्च गराएको छ । माओवादी लडाकु व्यवस्थापन, द्वन्द्वबाट क्षति भएका भौतिक संरचनाको पुननिर्माण तथा द्वन्द्व पीडितलाई राहत र पुर्नस्थापनामा अहिलेसम्म ४० अर्ब रुपैयाँ खर्च भएको छ ।

संसदको सामाजिक, न्याय तथा मानवअधिकार समितिको सोमबारको बैठकमा उपस्थित शान्ति तथा पुर्ननिमार्ण मन्त्रालयका सचिव खुमराज पुंजालीले सो विवरण प्रस्तुत गरे । माओवादी लडाकु व्यवस्थापनामा १९ अर्ब ६१ करोड ९ लाख ५६ हजार ५ सय ५५ रुपैयाँ, शिविर व्यवस्थापनामा ९ अर्ब ७९ करोड ६८ लाख ८० हजार २ सय रुपैयाँ, बाटो निमार्ण, खानेपानी, विद्युत लाईन पुनःनिर्माणमा १ अर्ब ५४ करोड ४८ लाख १५ हजार रुपैयाँ खर्च भएको छ ।
यस्तै माओवादी लडाकुको स्वेच्छिक अवकास, बाटो खर्च र प्रशासनिक खर्च गरेर ८ अर्ब २६ करोड ९२ लाख ६१ हजार ३ सय ५२ रुपयाँं खर्च भएको सचिव पुञ्जालीले पेश गरेको विवरणमा जनाइएको छ ।
चालु आर्थिक वर्षमा पनि पुर्ननिमार्ण तथा पुनस्र्थापना कार्यक्रममा १२ सय ४३ वटा आयोजनालाई १ अर्ब २७ करोड, ७७ लाख ७१ हजार र शान्तिका लागि विकास कार्यक्रम अन्र्तगत १५ सय १२ आयोजनालाई ५० करोड रुपैयाँ छुट्याइएको सचिव पुजांलीले जानकारी दिए ।
बैठकमा सांसदहरुले पहुंचवालाले मात्र राहत पाएको र नक्कली कागज बनाएर टाठाबाठाले मात्र रकम बुझेको गुनासो गरेका थिए । जवाफमा सचिव पुञ्जालीले अब त्यस्तो गल्ती नदोहोरिने बचन दिँदै सम्पत्ती कब्जा भएकाहरुको पनि लगत संकलन गरी राहत दिने तयारी भइरहेको जानकारी दिए ।

सम्बन्धित खबरहरु