पुनस्थापनाका लागि अहिलेसम्म ४० अर्ब खर्च, के मा कति ?

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १ ब‌ैशाख, २०७२

singh durbarजनबोली ३० चैत, काठमाडौं । सरकारले माओवादी लडाकू व्यवस्थापन, द्वन्द्वबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण तथा द्वन्द्व पीडितलाई राहत र पुनःस्थापनामा अहिलेसम्म ४० अर्ब रुपैयाँ खर्च भएको जनाएको छ ।

सिंहदरबारमा सोमबार बसेको व्यवस्थापिका संसदको सामाजिक, न्याय तथा मानवअधिकार समितिको सोमबारको बैठकमा उपस्थित शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव खुमराज पुञ्जालीले लडाकू व्यवस्थापनका लागि विभिन्न शीर्षकमा उक्त रकम खर्च भएको जानकारी दिएका हुन् ।

सचिव पुञ्जालीले पेश गरेको विवरण अनुसार माओवादी लडाकू व्यवस्थापनामा १९ अर्ब ६१ करोड ९ लाख ५६ हजार ५ सय ५५ रुपैयाँ, शिविर व्यवस्थापनामा ९ अर्ब ७९ करोड ६८ लाख ८० हजार २ सय रुपैयाँ, बाटो निर्माण खानेपानी, विद्युत लाइन पुनःनिर्माणमा १ अर्ब ५४ करोड ४८ लाख १५ हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै, माओवादी लडाकूको स्वेच्छिक अवकास, बाटो खर्च र प्रशासनिक खर्च गरेर ८ अर्ब २६ करोड ९२ लाख ६१ हजार ३ सय ५२ रुपयाँं खर्च भएको सचिव पुञ्जालीले जानकारी दिए ।

चालु आर्थिक वर्षमा पनि पुनःनिर्माण तथा पुनःस्र्थापना कार्यक्रममा १२ सय ४३ ओटा आयोजनालाई १ अर्ब २७ करोड, ७७ लाख ७१ हजार र शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत १५ सय १२ आयोजनालाई ५० करोड रुपैयाँ छुट्याइएको सचिव पुञ्जालीले जनाए ।

बैठकमा सभासदहरुले पहुँचवालाले मात्र राहत पाएको र नक्कली कागज बनाएर टाठाबाठाले मात्र रकम बुझेको गुनासो गरेका थिए ।

जवाफमा सचिव पुञ्जालीले त्यस्तो कार्य नभएको भन्दै सम्पत्ति कब्जा भएकाहरुको पनि लागत संकलन गरी राहत दिने तयारी भइरहेको बताए ।

सम्बन्धित खबरहरु