२०७२ नयाँ वर्ष, जनबोली विशेष

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १ ब‌ैशाख, २०७२

11149722_1563657263904064_7083444900967144634_o‘क्षणे क्षणे यन्ननवतामुपैति तदेव रूपं रमणीयताया:’ संस्कृत महाकवि कालिदासको यो भनाइ जस्तै सामान्यतया प्रत्येक मानिसको मनले रमाइलो पक्षको खोजी गर्दछ । यद्यपि व्यक्तिको तनको अवस्था भने दिन प्रतिदिन थोत्रँदै र बिंग्रदै गएको हुन्छ । सामान्य हिसाबले हेर्ने हो भने नयाँ वर्ष भनेको पुरानो वर्ष सकिएर नयाँ वर्ष आउनुलाई मान्ने गरिन्छ, अनि प्रत्येक वर्ग, तह र तप्काका निर्धारित नयाँवर्ष फरकफरक समयमा पर्दछन् । नेपालकै परिप्रेक्षमा यहाँ नयाँ वर्ष मनाउने प्रचलन कार्तिकदेखि नै चलिरहन्छ र यो क्रम वैशाखे पूर्णिमासम्म जारी रहन्छ । नेवारहरु कार्तिक महिनामा पर्ने गोवद्र्धन पूजाका दिन नयाँ वर्ष मनाउँछन् भने अंग्रेजी नयाँ वर्ष पौषको मध्यभागमा, गुरुंगहरुले पौष १५ गते, पश्चिमका थारुले माघ १ गते, तामांगले माघको शुक्ल प्रतिपदामा, शेर्पाले फाल्गुनको शुक्ल प्रतिपदामा, वैदिक कर्मकाण्डीय दृष्टिकोणले चैत्र शुक्ल प्रतिपदामा र पहाडीमूलका नेपाली, पूर्वका थारु र मिथिलाञ्चलबासीहरुले वैशाख १ गते नयाँ वर्ष मनाउने गर्दछन् । समयमा फरक भएजस्तै यस पर्वको नाममा समेत विविधता भेटिन्छ । जे भएपनि गहन चिन्तन गर्दा नयाँ वर्ष मनाउने र नवीनतम वर्षको गणनाले मानव सभ्यताको विकासको लेखाजोखा गर्ने परम्परालाई निर्वाह गरेको अनुभूति हुन्छ ।

समय गणना गर्ने पद्धति संसारको प्राचीनतम पद्धति हो । यीमध्ये अधिकांश हिन्दू संस्कारमा पोषितपल्लवित समुदायमा वैशाख ०१ गते वर्षको नवीनतम दिवस प्रारम्भ भएको मान्यता छ । जुन नेपाललगायत भारत, बांग्लादेश, बर्मा, थाइल्याण्ड आदि देशमा समेत प्रचलित रहेको पाइन्छ । हाम्रा चाडपर्व, रीतिरिवाज र संस्कार प्रकृतिको दिनानुदिन परिवर्तन हुने लावण्य र सुषमाको प्रतिच्छायाका रुपमा विकसित भएका छन् । वैशाख महिनालाई प्रकृतिको नयाँ वातावरणको सिर्जना गर्ने महिनाका रुपमा लिइन्छ र यो महिना वसन्त ऋतुमा पर्ने दुईवटा महिनामध्ये पछिल्लो महिना समेत हो । पृथ्वीले सूर्यलाई परिक्रमा गरेका प्रत्येक दिनमा वातावरणमा नयाँ आयाम कोरेको हुन्छ । सूर्यको परिक्रमा गर्न लाग्ने ३६५ दिन र केही घण्टाको समयावधिमा प्रकृतिका नियमित क्रियाकलाप पुनः दोहोरिन थाल्छन् । वसन्त ऋतु प्राकृतिक जीवनचक्रको प्रारम्भिक अवस्था हो । फाल्गुन चैत्रको तुसारे मौसम र हावाहुरीको प्रभावका कारण वातावरण उराठलाग्दो बनेको हुन्छ । रुखबिरुवाका पातहरु सुकेका हुन्छन् अनि तुवालो र धूलोले आकाश ढपक्क ढाकेको हुन्छ । वैशाख लागेपछि रुखपातका नयाँ पालुवा, फलफूलका नयाँ चिचिला र वातावरणमा पाइने हरियाली आदिको पुनः आगमन हुन्छ । हुन त नयाँवर्ष सुरु हुँदा मानिसमा अन्तर्निहित क्रियाकलाप र आचरण ह्वात्तै परिवर्तन आउने होइन, तर प्रतिक्षण नवीनता खोज्ने हाम्रो अन्तर्मनमा प्रकृतिको नवीनतम सुषमासँगै नयाँ बहारको अनुभूति हुनेहुँदा हुन सक्छ यहाँको संस्कारमा वैशाखमा नै नयाँवर्ष मनाउने चलन विकसित भएको हो । त्यसैले यस अवसरमा गरिएको शुभकामना आदानप्रदानले जीवनलाई उन्नत र प्रगतिशील बनाउँछ भन्ने आमधारणा छ । यस अवसरमा आपसमा सद्भावको आदानप्रदान गर्ने, शुभकामना लिनेदिने, साथीभाइ, प्रेमीप्रेमिका, इष्टमित्रसँग भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । प्रकृति नराम्रो र विद्रुप स्वरुपलाई बदलेर प्रत्येक वर्ष नवीनतम लावण्य प्रदान गरें झैं व्यक्तिले पनि आफ्न विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गर्नु नै नयाँ वर्षले प्रदान गर्ने प्रेरणा र सन्देश हो ।

ज्योतिषीय आधारमा चैत्र महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिनदेखि नयाँ संवत्सरको प्रारम्भ हुने गर्दछ । चान्द्र पद्धतिमा निर्धारण गरिने भएकाले यो समय सामान्यतया चैत्र १ गतेदेखि वैशाख १ गतेभित्रको कुनै दिन पर्ने गर्दछ । ‘चैत्रे मासि जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति । ।’ यस श्लोकको आशय बमोजिम ब्रह्माले सृष्टिको प्रारम्भ यसै दिनबाट गरेका हुन् । त्यस्तै हामीले मान्ने वर्षलाई विक्रम संवत् भन्ने गरिन्छ, आर्यावर्तका चक्रवर्ती सम्राट् विक्रमादित्यले शकहरूलाई परास्त गरी विजयध्वजा फहराएको दिनको स्मरणमा वैशाख १ गतेबाट उनको नाममा नयाँवर्ष मनाउन थालिएको र उनको विजयोत्सवलाई चिरस्थायी तुल्याउन विक्रमसंवत र शाके संवत प्रारम्भ भएको मानिन्छ । ज्योतिषीय आधारमा आगामी नयाँ वर्ष २०७१ मा निम्न विशेषताहरु समावेश भएको देखिन्छ । यस वर्ष प्लवङ्ग नामको संवत्सर परेको छ । नयाँ संवत्सरको फल विचार गर्दा हिउँदे बालीमा कमी आउने र सत्ताधारी प्रशासकहरूमा नकारात्मकता देखिए पनि समग्रमा यो वर्ष आम जनताका लागि सकारात्मक नै रहेको देखिन्छ । यस वर्ष गुरु बृहस्पतिको उदयास्तका आधारमा खासगरी कृषिक्षेत्रमा सकारात्मक सन्देश प्रदान गर्ने सम्भावना देखिन्छ । नयाँ संवत्सर प्रारम्भ हुने दिन वर्षको राजा हुने र वैशाख सङ्क्रान्तिको दिन मन्त्री हुने व्यवस्था छ, जसअनुसार यस पटक दुबै दिन सोमबार परेकाले चन्द्रमा वर्षभरिका लागि राजा र मन्त्री दुबै पदमा आसीन भएका छन् । त्यसैले यस वर्ष माङ्गलिक कार्यहरूमा बढोत्तरी हुने छ । समुचित वर्षा र कृषिउपजमा आउने सुधारका कारण सहकालको वातावरण बन्नेछ । आम जनता हर्ष, आनन्द र खुसीको जीवनमा रमाउन पाउने सम्भावना छ । सस्येशमा गुरु बृहस्पतिको अधिकार छ । त्यस्तै निरसेश र धनेशमा बुधको प्रभाव छ । गुरु र बुधको कार्यकालमा रसादि पदार्थ र कृषि उत्पादनका क्षेत्रमा सकारात्मक फल प्राप्ति हुन्छ । देशले आर्थिक समुन्नतिको बाटो अख्तियार गर्नेछ भने आम मानिसहरू पूजापाठ, धर्मकर्म र परोपकारका मार्गमा लाग्नेछन् । धान्येशमा मङ्गल, रसेशमा शनिश्चर एवं फलेश, मेघेश र दुर्गेशको जिम्मेबारी सूर्यले प्राप्त गरेका छन्, त्यसैले राष्ट्रले कुटनैतिक सफलता आर्जन गर्नेछ, शान्तिसुरक्षाको स्थितिमा सुधार आउने छ, आम जनताले शान्तिको सास फेर्न पाउनेछन् । यद्यपि पशुपन्छी र चौपायाको कारोबार र व्यवसायमा हानिनोक्सानी हुनेछ, दलहन र तेलहन सामाग्रीको दाम बढ्नेछ, बेमौसमी वर्षा, अतिवृष्टि, अनावृष्टि आदि प्रकोपका कारण तुलफूल र बालीनालीमा समेत नोक्सानी हुने सम्भावना छ ।

सूर्यले आर्द्रा नक्षत्रमा प्रवेश गरेको बिन्दुलाई मूलतः कृषि व्यवसायमा आधारित जनजीवनको दैनिकीमा महत्त्वपूर्ण भूमिका रहने मानेर ज्योतिषग्रन्थले फलादेश गर्ने र आम कृषकहरूले त्यसलाई अम्मल गर्ने चलन पनि छ । २०७१ सालको आर्द्रा प्रवेशको कृषिक्षेत्रमा पर्ने परिणाम भने सकारात्मक छैन, खण्डवृष्टि, वायुका साथ हुने वर्षा, झैझगडा, पशुचौपायामा हुने नोक्सानी जस्ता अशुभफल सूर्यार्द्राप्रवेशबाट प्राप्त भएको छ ।

जगल्लग्न कुण्डलीको प्रभाव

सामान्यतया वैशाख १ गते सूर्यले एउटा राशिचक्र पूर्ण गरी नयाँ राशिचक्रमा प्रवेश गरेको मानिन्छ । व्यक्ति रहेको स्थानमा सूर्यले नयाँ राशिचक्रमा प्रवेश गरेको दिन र समयमा आउने लग्नलाई जगल्लग्न भन्ने गरिन्छ । यस पटक नयाँवर्षका दिन सूर्यले नवीन राशिचक्रमा प्रवेश गरेको बेला नेपालको परिप्रेक्षमा मिथुन लग्न रहेको देखिन्छ । लग्नमा बृहस्पति, एघारौं भावमा उच्च सूर्य, नवौं घरमा शुक्र र दसौं घरमा लग्नपति बुध रहेर यस कुण्डली संरचना बनेको देखिन्छ । त्यस्तै चौथो भावमा चन्द्र र मङ्गलको युति, एघारौं भावको सूर्य र केतुको युतिले निर्माण गरेको ग्रहण योग, अनि पाँचौं स्थानमा शनि र राहुले निर्माण गरेको नागमणि योग समेत यस पटकको जगल्लग्नकुण्डलीका विशेषता बनेका छन् । समग्रमा यी विशेषताहरूले अधिकांश राम्रै परिणाामहरू प्राप्त गर्ने सम्भावनालाई औंल्याएको भान हुन्छ । यस वर्ष देश र जनताका हीतमा राम्रा कामहरू बन्नेछन् । दीर्घकालिक फाइदा हुने केही ठूलठूला योजनाहरू प्रारम्भ हुनेछन् । धार्मकि, सांस्कृतिक र पारम्परिक कर्म र अनुष्ठानमा भने उल्लेखनी बृद्धि हुनेछ । रेमिट्यान्स र वैदेशिक व्यापारिक कारोबार फस्टाउने छ । वैदेशिक सम्बन्ध राम्रो रहने छ । तर जगल्लग्नको स्वामी ग्रह नीच राशिमा रहनु र ग्रहाधीश मानिने सूर्यमा ग्रहण योग बन्नु चाहिं राजनीतिकर्मी र शासकहरूका निम्ति नकारात्मक छ । सरकारी र राजनीतिक क्षेत्रबाट भएका निर्णय कार्यान्वयन हुन कठिन हुने र गलत साबित हुने सम्भावना देखिन्छ । दलहरूका बीचमा खिचातानी यथावत् रहने छ । नेता र प्रशासकले जनतालाई आशलाग्दो योजना, कानून र व्यवस्था प्रदान गर्न सक्ने छैनन् । राजनैतिक क्षेत्रमा नयाँ शक्तिको उदय हुनेछ । नेपालको बृश्चिक राशि मान्दा आषाढ ३ गतेबाट भाग्यमा बृहस्पति र कार्तिक २८ गतेबाट स्वराशिमा शनिश्चरको प्रवेश हुनाले सारांशमा झिनामसिना चुनौती र सम्भावनालाई बोकेर आगामी वर्ष २०७१ ले राज्यलाई उन्नतिको नयाँ मार्ग पहिल्याउन मद्दत नै गर्ने सम्भावना छ ।

सम्बन्धित खबरहरु