ओलीले झापा क्रान्तिका सहयोद्धाहरुसँँग बाजा बजाएर नयाँ वर्ष मनाए

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १ ब‌ैशाख, २०७२
Kp oli niwasकाठमाडौं, १ वैशाख – नयाँबर्ष कसरी मनाउने सबैका आफ्ना चाहना र प्राथमिकता हुन्छन् । मंगलबार नयाँ वर्ष २०७२ को पहिलो दिन सबै नेपालीहरु आआफ्नै तरिकाले नयाँ वर्ष मनाउँदैछन् ।

एमाले अध्यक्ष केपी ओलीले भने झापा आन्दोलनसंग जोडिएका पुराना कम्युनिष्ट नेतालाई बालकोट निवास निम्त्याएर नयाँ बर्षलाई सिर्जनात्मक बनाए । २०२८ सालको झापा बिद्रोह र त्यसबाट विस्तारित कम्युनिष्ट आन्दोलनले उचाई प्राप्त गरिरहँदा त्यस बिद्रोह र त्यसपछि कम्युनिष्ट आन्दोलन अघि बढाएका योद्धालाई एमाले अध्यक्षले सम्झिए ।

करिब ५० जना पुराना कम्युनिष्ट नेतासंग आन्दोलन, जेल जीवन र जेल तोडेर बाहिर निस्केका क्षण सम्झे । एमाले वरिष्ठ नेता झलनाथ खनाल, माले महासचिव सिपी मैनाली, एमाले नेता राधाकृष्ण मैनाली, मुकुन्द न्यौपानेसहित पार्टीका सक्रिय र निष्क्रिय रहेका योद्धाहरु बालकोटमा पुगेका थिए ।

बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रम दिउँसो अबेरसम्म चल्यो । अध्यक्ष ओलीले झापा आन्दोलनका सहयोद्धालाई आफूले सधै सम्झेको तर भेटघाटको अवसरमा भने नयाँ बर्षले जुराएको र यस्ता भेटघाट निरन्तर गर्न आफु इच्छुक रहेको बताए । उनले झापाबाट विस्तारित कम्युनिष्ट आन्दोलन नै राष्ट्र परिवर्तनको आधार रहेको भन्दै पुराना कम्युनिष्ट सहयोद्धाका कारण एमाले राष्ट राजनीतिको मूलधार भएको बताए ।

बालकोटमा भेला भएका नेताहरुले एमाले अध्यक्षका घरमा नयाँ राष्ट्रिय झण्डा राखे । झण्डा राख्ने कार्यको अगुवाई अध्यक्ष ओली, नेता खनाल, माले महासचिव सिपी मैनाली, मुकुन्द न्यौपाने, राधाकृष्ण मैनाली लगायतका नेताले गरेका थिए । त्यसपछि नेताहरुले खीर खाए, फोटो खिचे ।

झापादेखिका पुराना योद्धालाई काठमाडौंसम्म ल्याउने काममा झापा जिल्ला अध्यक्ष सक्रिय थिए भने एमाले प्रमुख सचेतक अग्नि खरेलले ओलीसंगै पुराना नेतालाई स्वागत गरेका थिए । त्यसपछि अध्यक्ष ओलीले बाजा बजाए, बुढा कम्युनिष्ट योद्धाहरु छमछमी नाचे । ओलीले मादल र ढोलक बजाउँदा त्यसमा लय मिलाउँदै अरु कम्युनिष्ट योद्धाहरु नाचेका थिए । ओलीले बाजा बजाएको फोटो खिच्न भिडभाड नै भयो ।

त्यसपछि बालकोटको स्थानीय जात्राको टोलीले ओली निवास प्रवेश गर्यो । धिमे बाचासहित पुगेको टोलीलाई ओलीले स्वागत गरे, उनीहरुसंगै फेरि ओलीले ताल मिलाए । पुराना कम्युनिष्ट योद्धा जीवन मगरले भने, ‘अहिलेसम्म कसैले सम्झेको थिएन । एमाले अध्यक्ष केपी ओलीले सम्झेर बोलाउनुभयो । खुशी लाग्यो । पुराना योद्धाको सुझाव थियो, राष्ट्रलाई एकीकृत राख्नुहोस, बिभाजन हुन नदिनुहोस् ।

सम्बन्धित खबरहरु