स्वास्थ्य संस्थामा न त स्वास्थ्यकर्मी छन् न त औषधि नै छ

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

jajarkot_districtजाजरकोट । जाजरकोटमा चैतको दोस्रो साता रुघाखोकी, ज्वरो आउने, हातखुट्टा दुख्ने अज्ञात रोग देखियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षणपछि स्वाइनफ्लु पुष्टी भयो । स्वास्थ्य संस्थाहरुमा औषधी र स्वास्थ्यकर्मी नहुँदा यो रोगले महामारीको रुप लिएको स्थानीयको भनाइ छ । अझै पनि दुर्गमका स्वास्थ्य संस्थामा न त स्वास्थ्यकर्मी छन् न त औषधि नै छ, नयाँ पत्रिकामा खबर छ ।

बारेकोटको लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा एक मेडिकल अधिकृतसहित एक दर्जन स्वास्थ्यकर्मीको दरबन्दी छ । तर, स्थापनाकालदेखि नै मेडिकल अधिकृत पुगेका छैनन् । दरबन्दीमा भएका स्वास्थ्यकर्मीसमेत नबस्दा स्थानीय स्वास्थ्य सेवाबाट बञ्चित छन् ।

बारेकोटमा मात्र होइन, प्राथमिक स्वास्थ्य केन्दै गर्खाकोटको हालत पनि उस्तै छ । एक जना मेडिकल अधिकृतसहित एक दर्जन स्वास्थ्यकर्मीको दरबन्दी भएको गर्खाकोटमा पनि मेडिकल अधिकृतसहित आधादर्जन दरबन्दी रिक्त छ ।

जिल्लाको पश्चिमी क्षेत्रको स्वास्थ्यकेन्द्र गर्खाकोटमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा त्यस क्षेत्रको स्वास्थ्य सेवा नाम मात्रको भएको स्थानीयको गुनासो छ ।

त्यस्तै, दल्लीको प्राथमिक स्वास्थ्य केन्द्र पनि एक जना अहेवको भरमा चलेको छ । दरबन्दी भए पनि डाक्टर नआएकाले केन्द्र अहेवले चलाउँदै आएका हुन् । स्वास्थ्य संस्थामा गएका विरामीले औषधिसमेत नपाएको पैंक-१ का मोहन शाहीले बताए ।

दरबन्दीमा स्वास्थ्यकर्मी भए पनि स्वास्थ्य संस्थामा नपुगेकोले स्थानीयले महामारीका बेलासमेत उपचार पाउन सकेका छैनन् ।

सम्बन्धित खबरहरु