जाजरकोट महामारी : नमुना संकलन बिनै मन्त्रीलाई फर्किन हतार भयो

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२

khagrajकाठमाडौं । जाजरकोटमा फैलिएको महामारी पहिचान गर्न भन्दै हेलिकप्टरमा गाउँ पुगेका स्वास्थ्यमन्त्री खगराज अधिकारीको टोलीले बिरामीको रगतको नमुना नै नलिई राजधानी फर्केको खुलासा भएको छ।

टोलीले ‘हतार भएको’ भन्दै ‘थ्रट स्वाब’ (घाँटीको खकारको नमुना) मात्र लिएर गएको स्रोतले बताएको नागरिकमा खबर छ ।

स्वास्थ्यमन्त्री अधिकारीसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा आइतबार जाजरकोटको महामारी प्रभावित क्षेत्र पुगेको थियो। टोलीको प्रमुख उद्देश्य नै रोग पहिचान गर्न बिरामीको रगत, खकार, थुकलगायत नमुना संकलन गरी काठमाडौं पुर्यानउनु थियो। तर, हेलिकप्टरमा आएका स्वास्थ्यकर्मीले ‘हतार भएको’ बहानामा घाँटीको खकारको नमुना मात्र लिएर गएको टोलीमा संलग्न एक स्वास्थ्यकर्मीले बताए। ‘रगतको नमुना त आज (बिहीबार) मात्र काठमाडौं पठाइएको छ,’ ती स्वास्थ्यकर्मीले भने।

सरकारी अधिकारीले मन्त्रीसहितको टोलीले नै रगतको नमुना ल्याएको र हेलिकप्टरमा नमुना ल्याएको भोलिपल्टै रिपोर्ट आउने बताएका थिए।

ती स्वास्थ्यकर्मीका अनुसार उतिबेला टोलीले १२ जना बिरामीको थ्रट स्वाब राजधानी लगेको थियो। तीमध्ये तीन जनामा ‘एच१एन१’ भनिने मौसमी रुघाखोकी (स्वाइनफ्लु) भेटिएको थियो। अन्य बिरामीमा कुन रोग छ भन्ने अहिलेसम्म पहिचान हुन सकेको छैन। उतिबेलै रगत, खकार, दिसालगायत नमुना लगेको भए यस्तो अन्योल नलम्बिने उनको भनाइ छ।

स्वास्थ्यमन्त्रीको टोलीसँगै प्रभावित क्षेत्रमा झरेका इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका ल्याब टेक्निसियन डबलबहादुर बिसीले मंगलबार मात्र आठ जना बिरामीको रगत निकालेका थिए। उनी जाजरकोटबाट स्थलमार्ग हुँदै तेस्रो दिन (बिहीबार) नेपालगन्ज पुगेर जहाजमा काठमाडौं गएका छन्।

मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा. राजेन्द्र पन्तले बिहीबार रगतको नमुना काठमाडौं पुर्‍याएको जानकारी दिए।
‘यसको परीक्षण त नेपालगन्जमै पनि गर्न सकिन्थ्यो,’ उनले भने, ‘तर हामीले आज जहाजबाट काठमाडौं पठाएका छौं।’

स्वास्थ्यकर्मीहरूका अनुसार थ्रट स्वाबबाट विशेषगरी भाइरल रोगको पहिचान हुन्छ। ब्याक्टेरियाबाट फैलिने संक्रमणका लागि भने रगत र दिसा परीक्षण गर्नुपर्छ। रगतको ‘कल्चर’ गरेर ल्याब परीक्षण गरेपछि बल्ल विभिन्न रोग पहिचान हुन्छ। ‘उतिबेलै रगत काठमाडौं लगेको भए कुन रोगको महामारीको हो भन्ने पहिचान भइसक्थ्यो,’ ती स्वास्थ्यकर्मीले भने, ‘त्यत्रो खर्च गरेर आइसकेपछि पनि हतार गर्दा समस्याको जड पत्ता लाग्न सकेन।’

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. बाबुराम मरासिनीले यसबारे बोल्न चाहेनन्। उनले दुई–तीन दिनपछि मात्र कुरा गर्न सकिने जवाफ दिए।

रोग पहिचान नहुँदा गाउँमा खटिएका चिकित्सक लक्षणकै आधारमा बिरामी उपचार गरिरहेका छन्। पजारु गाविसमा खटिएका पाटन अस्पतालका सरुवारोग विशेषज्ञ डा. प्रमिलसिंह प्रधानले बिरामीमा देखिएका लक्षणका आधारमा उपचार भइरहेको जानकारी दिए। ‘हामीले नमुना रिपोर्ट कुरेर बस्नुभन्दा बिरामीको उपचारलाई प्राथमिकता दिएका छौं,’ उनले भने, ‘लक्षण हेरेर सोहीअनुसार औषधि चलाइरहेका छौं।’ पजारु गाविसमा बिरामीको संख्या निकै घटेको उनले बताए।

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७