२०७२ बैशाख ४ गते, शुक्रबारको राशिफल

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ४ ब‌ैशाख, २०७२
Raasifalवि.सं.२०७२ साल वैशाख ४ गते। शुक्रबार।
शकसंवत् १९३७। इश्वी सन् २०१५ अप्रिल १७ तारिख।
नेपाल संवत् ११३५ चौलागा। कीलक संवत्सर।
उत्तरायण। वसन्त ऋतु। वैशाख कृष्णपक्ष।
तिथि– चतुर्दशी, रात्रि ३:०१ बजेदेखि अमावश्या।
नक्षत्र– उत्तरभाद्रपदा, साँझ ७:०३ बजेपछि रेवती।
योग– ऐन्द्र, अपराह्न २:१३ बजेदेखि वैधृति।
करण– भद्रा, अपराह्न ४:१० बजेदेखि शकुनि, रात्रि ३:०१ बजेउप्रान्त चतुष्पद।
आनन्दादिमा ध्वज योग। चन्द्रराशि– मीन।
काठमाडौंमा सूर्योदय– ५:४० बजे, सूर्यास्त– ६:२९ बजे र दिनमान ३२ घडी ०२ पला।
पर्व– भक्तपुरस्थित छुमागणेश यात्रा। मातातिचह्रे पूजा। साँझ ७:०३ बजेउप्रान्त सर्वार्थसिद्धि योग।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

अहिलेको समय तपाईंको पक्षमा छैन । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । समय उत्साहवद्र्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले आज तपाईंले दिन बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले आज अलि बढी थाकेको अनुभूति गर्नेछन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । बेलुकाको वास वा खानपीन घरपरिवारभन्दा बाहिर हुने सम्भावना समेत छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

दिक्क र झर्कोलाग्दो यात्राको सम्भावना छ । चिताएको काममा सफलता आर्जन हुने छैन । मन नपरेका साथीभाइसित भेटघाट हुनुका साथै तिनले अपमानित गर्नसक्ने सम्भावना छ । दाजुभाइ र दिदीबहिनीले कामधन्दामा सहयोग गर्ने छैनन् । धन, धर्म र भाग्यबलमा ह्रास आएको अनुभूति हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नातेदारले अपमानित तुल्याउन सक्छन् ।  आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न व्यक्तिहरुले आज राम्रो आर्थिक लाभ गर्नेछन् । आज प्रायः सबैले प्रणयसम्बन्ध र रतिरागका लागि समय छुट्याउने छन् । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ, चिताएभन्दा बढी कमाउने योग छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । तर्क, बहस र वादविवादमा जीत हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

प्राज्ञिक, बौद्धिक र लेखनकार्यमा गरेको मिहिनेत खेर जान सक्छ । सन्तति पक्षको क्रियाकलापले नैराश्यता उत्पन्न हुनेछ । बन्धुबान्धवले तपाईंका नकारात्मक धारणालाई बढावा दिनेछन् । खानपान र मनोरञ्जनमा भुलिन सक्नुहुन्छ, तर पाचन प्रणालीमा आएको खराबीले तपाईंलाई निराश तुल्याउन सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्नेेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । आज दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

स्वास्थ्यमा थोरै नकारात्मकता देखिनसक्छ, मौसमी रोगबाट जोगिनु होला । भौतिक साधनको किनमेल गर्दा लाभ हुने देखिंदैन । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च हुनेछ । कुटुम्बपक्ष र दिदीबहिनीलाई सन्तुष्ट पार्न धौधौ हुन्छ । आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन । कार्यमा बिलम्ब हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

नयाँ योजना कार्यान्वयन गर्न अझै अनुकूल समय छैन । घरबाहिर जान वा वैदेशिक यात्रा गर्ने योजना बन्नसक्छ । मनोरञ्जनका लागि मन लालायित हुनसक्छ । प्राविधिक काम वा व्यवसायिक क्षेत्रमा दिक्कलाग्दो परिश्रम गर्नुपर्नेछ । अन्न फलफूल आदि कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

राशिफलका सम्बन्धमा—

यो ब्रह्माण्डको सृष्टि पृथ्वी, जल, तेज, वायु र आकाश मिलेर भएको हो। सम्पूर्ण चराचरजगत् पञ्चमहाभूतमय हुन्छ। मानव शरीर पनि पञ्चमहाभूतले नै बनेको हो। आकाशमा रहेका नवग्रहले यिनै पञ्चमहाभूतको प्रतिनिधित्व गर्दछन्। वेदमा सूर्यलाई आत्मा र चन्द्रमालाई मन भनिएको छ। यस्तै, मंगलमा तेज, बुधमा पृथ्वी, बृहस्पतिमा आकाश, शुक्रमा जल र शनिमा वायुको गुण अन्तर्निहित हुन्छ।

शब्द, स्पर्श, रूप, रस, गन्ध पञ्चमहाभूतका विषय हुन्। यी विषयहरू मानिसका पाँच ज्ञानेन्द्रियले ग्रहण गर्दछन्। मानिसका हरेक इन्द्रिय आफ्नो विषयसुखका लागि लालायित हुन्छन्। आफ्नो विषयभोगका लागि ग्रहले मानिसको सम्बद्ध इन्द्रियलाई क्रियाशील बनाइदिन्छ। इन्द्रियको मागबाट मन प्रभावित हुन्छ। यसर्थ मन लाग्नु नै निश्चित कामको आधार बन्नु हो। मनले काम गर्न आत्माबाट स्वीकृति लिने गर्दछ। आत्माद्वारा स्वीकृत काम र विषयका लागि मनले इन्द्रिय र विषयहरू सञ्चालन गर्दछ।

मनको कारक चन्द्रमा हो। मानिसको नामराशि नै जन्मसमयमा चन्द्रमा बसेको स्थान हो। चन्द्रराशिबाट गतिशील ग्रहहरू जुन–जुन अवस्थामा देखिन्छन् सोही अनुसार मानिसको रुचि, व्यवहार, स्वास्थ्य, परिस्थिति आदिमा परिवर्तन हुन्छ। मन अर्थात् चन्द्रमाको इच्छाशक्ति र आत्मा अर्थात् सूर्यको विवेक शक्ति कार्यसम्पादनका विशेष कारक हुन्। इन्द्रियका सूचक ग्रहहरूले विभिन्न परिस्थिति सिर्जना गर्दछन्।

मानव जीवन यिनै परिस्थितिले जेलिएको हुन्छ। जन्म, मृत्युदेखि जीवनमा आइपर्ने यावत् उन्नति–अवनति, सुख–दुःख, मित्र–शत्रु, ऐश्वर्य, अभाव, दरिद्रता, रोग, राज्य, मान-सम्मान, सन्तान, परिवारलगायत उसका सबै निर्दिष्ट कर्मबन्धनलाई ग्रहहरूले परिचालन गर्दछन्। यसर्थ भनिएको छ—

‘ग्रहाः राज्यं प्रयच्छन्ति ग्रहाः राज्यं हरन्ति च।
ग्रहैर्व्याप्तमिदं सर्वं त्रैलोक्यं सचराचरम्।।’

राशि आकाशमण्डलको निश्चित क्षेत्र हो। यी क्षेत्रमा बसेका ग्रहले मानवजीवनलाई कसरी प्रभाव पार्दछन् भन्ने अध्ययन गोचरअनुसार गरिन्छ। यहाँ प्रस्तुत राशिफल शास्त्रोक्त मतका आधारमा तयार पारिएको हो। खासगरी ग्रहहरूको विभिन्न राशिगत स्थिति, दैनिक गतिलगायत परिस्थितिजन्य बल, अन्य ग्रहहरूको वेध–प्रतिवेध, शुभ–पाप दृष्टि र प्रभावको मूल्याङ्कन गरी मुख्यरूपमा बृहत्संहिता, मुहूर्तचिन्तामणि, मुहूर्तमार्तण्ड, फलदीपिका, जातकपारिजात, बृहद्दैवज्ञरञ्जनम् जस्ता आधिकारिक ग्रन्थहरूको निष्कर्षअनुसार शास्त्रीयरूपमै राशिफललाई विश्वसनीय बनाउने प्रयास गरिएको छ।

सम्बन्धित खबरहरु