–रामकुमार एलन /
‘कति फेसबुक चलाएर बसेको ? काम केही नभएजस्तो ?’ गीत पनि उस्तै आएका छन् । ‘मेरो बूढी बिग्रेकै फेसबुकले हो ।’ ‘फेसबुकमा एड गर । फेसबुकमा रिक्वेस्ट आ’को छ ।’ फेसबुक समूहबाट हटाएकामा ढुंगाले किचेर किशोरको हत्या । फेसबुकमा प्रेम पर्दा भारतमा बेचिइन् । फेसबुकमार्फत रकम उठाएर बेपत्ता । कति समाचार छन्–छन् फेसबुकका । कतिले फेसबुकमा माया लगाएर पैसा लिएर ब्लक गरेका छन् । उजुरीका उराङ छन् प्रहरीमा । पक्कै पनि हाम्रा बडा’बालाई फेसबुकको राम्रो कुरा कसैले नसुनाएको हुनुपर्छ ।

त्यसमाथि कहिले होटलमा सलामी लिन्छन् हाम्रा बडाबा । कतिले कम्युनिष्ट भए पनि बोका मार हानेर साइत हेर्छन् र प्रदेश दरबार छिर्छन् । ती सबै फोटो फेसबुकमा आएपछि बडा बाका पनि बडा बाले फोन गरेर धेरै उटुंगे नहुनुस् भनेर झपारेको भनेर पनि फेसबुकमै आउँछ । त्यसैले बडा बाले गज्जबको निर्णय गरे, फेसबुक निषेध । बडाबाको हुलिया फेरिने संकेत छैन । बरु फेसबुकलाई नै तह लगाउन पाए नरहे बाँस नबजे बाँसुरी ।

तेत्रो युद्ध लडेर आएका, संगठन गरेर आएका हाम्रा नेताहरुलाई फेसबुकले खलखली पसिना निकोलेको छ । हनहनी ज्वरो आउने बनाएको छ । फेसबुकले दिएको तनावको बजारमा औषधि पनि आएको छैन । चिन्नु न जान्नुकाहरुले पनि बेलाबखत फेसबुकमा सेखी झारेर गाली गरिदिन्छन् । कहिले कुकुरले मुखमा ‘सु’ गरेको त कहिले विदेशी नेताहरुले नेपाली नेताहरुमाथि ‘उ’ गरेको फोटो हालेर नेताहरुको शर्मनाक बेइजत गरेको हाम्रा नेताहरुको धमनीमा फनफनी घुमिरहेको छ । नाम मात्र सामाजिक सञ्जाल । आनीबानी, बेहोरा सबै हाम्रा बडाबाहरुको जस्तै । त्यसैले एउटै दापमा दुई वटा खुकुरी हुनै सक्दैन भन्ने बुझेर पहिला फेसबुकलाई ठेगान लगाउने जुन पवित्र मनसुवा बडा बामा उत्पत्ति भयो । पत्रकारहरुले त्यसलाई पनि गलतसँग लेखे भन्ने गुनासो पनि बडाबाट आएको चाल पाइएकै छ ।
हालसालैको कुरा हो, कानुन बनाउन गएका हाम्रा बडाबाहरु जस्तै उहाँहरुका परिवारका सदस्यहरुलाई पनि कोग्ल्याँटो हुन मन लाग्दो रहेछ । बनाउन गएका हुन् कानुन । उहाँलाई लागे छ, आफैँ कानुनका किताब हौँ, अरु सब कीरा हुन् । गाई काटेर खान पाइन्छ भन्ने बेहोराको कानुन बनाएर लागू गर्न उहाँहरुलाई कसैले रोक्दैन । तर गाई काट्नेलाई छाड्नुपर्छ भनेर गृहमन्त्री भेट्न जानु भए छ । प्रदेश सभाका प्रवक्ताहरुले बनेका कानुनलाई जनमुखीसँग जनतामा पस्कने हो । यहाँ त पहिलो गाँसमै गाई काट्नेलाई किन कारबाही भन्दै उफ्रिन थालेका छन् । सगोलमा मिलेर कराए गीत हुन्छ, यसैगरी एक्लाएक्लै मनलाग्दी हिँडे ‘हाँसको चाल परेवाको हाल’ हुनेमा कसैले रोक्न नसक्ने अवस्था यो एकसय दिनले देखाइसकेको छ ।

हाम्रा प्रदेशका माननीयहरुलाई अबिर र खादाको भोक अलि बढी नै थियो । हुन पनि हो । गाउँ चुनावमा हारेको, टिकट नपाएको जगजाहेरै छ । पार्टीका अधिवेशनहरु भएका छैनन् । पदमा पुग्न धौ थियो । वन समितिमा पनि गुटले टिकट नदिने । स्वागत सम्मान हुँदा पनि गुटकाले टोलसम्म गर्ने । यसैले गधाको ढाडमा भारी नपरेजस्तै हाम्रा नेताहरुको घाँटीमा खादा र शिरमा अबिर चढ्नै पाएको थिएन । बल्ल टिकट पाइयो । जितियो पनि । अनि सिन्दुरे जात्रा, स्वागत, सम्मान, बधाईका उत्सवहरु आए । अबिर र खादा व्यापारीहरुले पनि २० वर्षमै राम्रो कारोबार गरे । तर यो जात्रा कहिलेसम्म लाग्ने हो ? जनताले जिभ्रो टोक्न थालिसकेका छन् । प्रदेशका मन्त्रीहरुको गतिलो कार्यालय छैन । अधिकार छैन । खादा ओढ्ने र सेल्फी हान्ने काममा सीमित छ । कसैले बोलाइदिए अतिथि भएका छन् ।
मुलुकमा गाविस अध्यक्ष र प्रदेश मन्त्रीहरु लगभग बराबरजस्तै छन् । स्थान्ीय तह स्वात्तै घटाइएको छ र गाउँपालिकाको संख्या पनि कम छ । तर प्रदेश मन्त्री र सांसदको हैसियत भने वडाध्यक्षजति पनि छैन । वडाध्यक्षको बरु मुकाम छ । चियापानीको बजेट छ । प्रदेश सांसदको केही पनि उल्लेख छैन । प्रदेश मन्त्रीको अधिकार, काम, कर्तव्यबारे आफैँले कानुन बनाउनु छ । स्थानीय तहलाई पनि बलियो बनाउनु छ । तर मन्त्रीज्यूहरुलाई प्रदेश राजधानी पनि ‘मन परेको युवती मितिनी’ भनेजस्तै भएको छ ।

आफू केका लागि मन्त्री भएको भन्दा बढी राजधानी सार्छु र राजधानी सार्न दिन्न भन्नेमै कन्दनी खुस्कने गरी भाषणकलामा अभ्यस्त बन्नु परेको छ । एकवर्षसम्म त कानुन बनाउने हो । त्यसपछि पूर्वाधार विकास गर्ने हो । तर राजधानी कहाँ भन्नेमै केहीको राजनीति भुक्तान भएको छ । मुख्यमन्त्री भन्दा मन्त्री ठूला, मन्त्रीभन्दा सांसद ठूला । सांसद भन्दा गाउँपालिकाका अध्यक्ष ठूला । गाउँपालिका अध्यक्ष भन्दा वडाध्यक्ष ठूला । यहाँ त ठूलेहरुले गरेको हल्लामै संघीयतामा कीरा पर्ला भन्ने डर देखिदैँछ ।


हाम्रो प्रदेश पानीमा आत्मनिर्भर । हाम्रो प्रदेश उद्यममा सबल । हाम्रो प्रदेश कृषि उत्पादनमा अब्बल । हाम्रो प्रदेश ऊर्जामा सक्षम । हाम्रो प्रदेश समृद्ध प्रदेश । हाम्रो प्रदेश विकसित प्रदेश । मुख्यमन्त्रीहरुले, मन्त्रीहरुले, सांसदहरुले यसो भनेको सुन्न कान चिप्ला भएका छन् । चिसा भएका छन् । प्रदेशमै अवसर सिर्जना गर्नु र नागरिकलाई ‘स्मार्ट’ बनाउनु प्रदेश सरकारको दायित्व हो । त्यसमाथि बलियो प्रतिपक्षी पनि छ ।

अहिले पदमा पुगेकाहरुको राग अनुराग सुन्दा पाँच वर्षपछि पनि उहाँहरु नै हो टिकट पाउने, जित्ने र यो कुर्सीमा बस्ने भन्नेजस्तो गन्ध ह्वास्सै आउँछ । हुन पनि सक्छ । तर स्थानीय तहकाले झण्डै ९ महिना अन्यौलमै बिताए झैँ प्रदेश सरकारका एकसय दिन पनि सपनाविहीन, योजनाविहीन र खादामा गुँडुल्किएरै बितेको देखिन्छ । उनीहरुले गरेको भाषण पनि आलोचनाको हिस्सा बन्न थालेको छ । लोकतन्त्रको गहना के हो भने, हूल भएपछि कसैमा पनि ‘शरम’ फिटिक्कै छैन ।
भन्न त हाम्रा बडाबाहरुले भनेका छन्, ‘हामी स्मार्ट सिटी बनाउँछौँ ।’ नेताहरु कुन देश घुमेर आएपछि यस्तो अक्कल आएको हो, कुन देशको सक्कल हेरेर यहाँ नक्कल गर्न लागेका हुन् । या यस्ता कुरा आक्कलझुक्कल भनिदिएपछि जनता जनार्दनले मकलले हान्दैनन् भनेर मख्ख परेका हुन् कि, केही भेउ पाइएको छैन । तर स्मार्ट शहर, स्मार्ट बस्तीका नाममा अहिलेसम्म उनीहरुको खाका आएको देखिन्न ।

बाजुरा स्मार्ट शहर हुँदा कस्तो हुन्छ ? सुनसरी स्मार्ट हुँदा कस्तो हुन्छ ? स्मार्टका पनि आआफ्ना खाका होलान् । हिजो २६ लाख किशोरी, युवती फ्यान छन् भन्ने भुवन केसी सदावहार नायक हुन् । आज उनकै छोरा अनमोलसँग संसारकै एक मात्र नागरिकता धारी रोबोट सोफियासमेत ‘डेट’ जान चाहन्छिन् । भुवन केसी पनि स्मार्ट नै हुन् । अनमोल पनि स्मार्ट हुन् । वश बकबक गर्ने हाम्रा नेताहरु चैँ जनताका नजरमा ‘ओभर स्मार्ट’ नदेखिउन् भन्ने कामना गरौँ । यहाँ त भिरबाट लड्ने गाईलाई ‘रामराम’ भन्ने हो ।

अनावश्यक डोजर र स्काभेटर लगाएर भूगोल यस्तो थङ्थिलो पारिएको छ कि, कुन बेला भिर नै लड्ने स्थिति छ । भागाभाग हुने खतरा छ । नेताहरु त्यस्तै ठाउँलाई पनि स्मार्ट सिटी बनाउँछु भन्दै हिँडेका छन् । उनीहरुले स्मार्ट सिटी बनाउँछु भनेका हुन् कि हामी गणतन्त्रका ‘सम्राट’ सरह हौँ भनेका हुन्, बुझ्न सकिएको छैन । आनीबानी, वाणी, बेहोराले जनताले कति धेरै राजा भन्लान् र गाउँलान् गीत किः
‘यस्तो पारामा देशको हित छैन,
अनभूत नहुने व्यवस्थै ठीक छैन ।’
आगे उहाँ नेताहरुकै जो विचार ।
(लेखक तथा पत्रकार रामकुमार एलनको व्यंग्यस्तम्भ ‘खोया न खोसेला’ हरेक महिनाको दोस्रो र अन्तिम शनिबार नियमित प्रकाशन हुनेछ, लेखकलाई ramkumarelan मार्फत फेसबुक, ट्विटर, जिमेलमा भेट्न सकिनेछ ।–सम्पादक ।)

सम्बन्धित खबरहरु