कथा: आमा

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ५ ब‌ैशाख, २०७२

mother-child

रमेश गिरी ‘आशा’ –  ‘आमा, ए आमा, आमा’—आमाले घ्यार्रघ्यार्र आवाज निकालेर लामो स्वास तानिरहेको देखेर आत्तिएको आशिष आमाको जिउ हल्लाउँदै बोलाउन थाल्छ । आमा निस्वास एकोहोरो छोराको अनुहार हेरिरहन्छिन् । मानौ उनी छोरा आशिषसँग अन्तिम विदाई मागिरहेछकी छिन् ।

ऊ आत्तिन्छ, फेरि त्यसैगरि बोलाउँछ—‘आमा ए आमा, के भो भन्या, आमा बोल न आमा’ । आमा त्यसैगरि घ्यार्रघ्यार्र आवाज निकालेर टुलुटुलु छोराको अनुहार हेरिरहन्छिन् । मध्यराती २ बजे एक्कासी आमालाई स्वास फेर्न गाह्रो भएको देखेर के गरौं, कसो गरांै भएको थियो उसलाई ।

राती १० बजेसम्म आमालाई ठिकै थियो । त्यसैदिनदेखि घर नजिकै महायज्ञ लगाउन सुरु गरेको । त्यसदिन दिउँसो कलश यात्रा आशाको १० वर्षकी छोरीले पनि कलश यात्रामा सहभागि भएर झण्डै ६ किलोमिटर परिक्रमा गरेर आएको कुरा छोरालाई कतिखेर सुनाऊ जस्तो भएको थियो उनलाई ।

छोरो अफिस सकेर साँझ ७ बजे घर भित्र पसे लगत्तै आमाले भनेकी थिईन्—‘सुनिस्, तैले धर्मकर्ममा मन नलगाए पनि तेरो छोरीले आज कलश बोकेर पानीमा रुझ्दै सिंगो गाउँ घुमि, आज मेरी नातिनीले निकै धर्म गरि ।’

नातिनीले महायज्ञको कलश बोकेकोमा मख्ख थिईन् आमा । महायज्ञ सुरु हुनु १० दिन अघिदेखि नै अब एक हप्ता त महायज्ञमा कथा सुन्नपाईने भो भनेर मख्ख थिईन् उनी । तर महायज्ञ सुरु भएकै दिन राती उनलाई एक्कासी गाह्रो भयो ।

आशिषले आत्तिदै छिमेकीलाई बोलाउन श्रीमतीलाई पठायो, छिमेकीहरु पनि आएकै हुन् । आमाले छोरा आशालाई टुलुटुली हेरिरहिन्, मानौ उनी छोरासँग कुरा गर्न खोजी रहेकी छिन् । छोरालाई धेरै कुरा भन्न खोजिरहेकी छिन् । तर अहँ ! उनको बोली फुटेन । एम्बुलेन्स आँगनमा आईपुग्यो । हतारहतार सबैले एम्बुलेन्समा राखे । आमाले लामो स्वास तानिन् । आँखा चिम्लिईन् । अस्पतालमा पुगेकी आमालाई ईमरजेन्सीमै उपचार हुन थाल्यो । झण्डै १५ मिनेट डाक्टरले उपचारको प्रयास गरे । अन्तत डाक्टरले भने ‘अस्पताल ल्याउन नै ढिला भयो, उहाँलाई बचाउन सकिएन ।’

राती १० बजेसम्म आमाछोराले कुरा गरेर बसेकै हुन् । १० बजे छोरा सुत्न गएपछि आमा टिभिमा नेपाली सिनेमा हेरेर बसेकै हो । करिब ११ बजे आफैले टिभी बन्द गरेर सुतेको आमाले राती १ बजे पिसाब गर्न छोरा बोलाउँदासम्म आमालाई केही भएको थिएन । प्यारालाईसिसले थलिएको झण्डै २५ वर्ष भैसक्दा पनि दिसापिसाबमा गर्न शौचालय आफै जाने उनी २ वर्ष अघिदेखि भने छोराबुहारीको सहयोग चाहिन थालेको थियो ।

त्यसरात पनि राती १ बजे आमाले आशिषलाई बोलाएपछि पिसाब फेराएर सुताएर आफू सुत्न गएको थियो ऊ । अचानक राती २ बजे नै आमाको घ्यार्र घ्यार्र आवाज आएको सुनेर पल्लो कोठाबाट आत्तिएर आमाको कोठामा जाँदा त आमाको आवाज बन्द भईसकेको थियो, स्वास फेर्न निकै गाह्रो भएको थियो, टुलुटुलु छोरालाई हेर्न बाहेक उनले केही गर्न सकिनन् ।

त्यसको केहीबेरमै अस्पताल पुर्याएपनि उनी फेरि बाँचेर घर फर्किन पाईनन् । एकसातासम्म महायज्ञमा प्रवचन सुनने उनको धोको अधूरै रह्यो, नातिनीलाई गुन्यू चोलो दिने उनको चाहना अधूरै रह्यो ।

अस्पतालबाटै शव बाहनमा पशुपति पुर्याएर परम्परा अनुसार अन्त्येष्टि गरेर आएको दुई वर्ष वितिसक्दा पनि आशालाई आमाको यादले अहँ ! पटक्कै छोडेन ।

प्यारालाईसिस भएर थलिएकै आमा भएपनि आशिषको निकै ख्याल गर्थिन्, उनी । उनलाई भेट्न आउनेहरुले ल्याएका खानेकुरा, यो मेरो छोरा, यो मेरो नातिनीलाई भनेर उनले छुट्याएर राख्थिन । नातिनीलाई नखुवाई आफू केही खान्नथिन् । नातिनी कतिखेर स्कूलबाट आउँछे भनेर कुरी बस्थिन, अनिसंगै खाजा चिया खान्थिन्, मानौ उनको नजिकको साथी त्यही नातिनी थिईँ ।
बुहारी जागिरे, बिहान ७ बजे गएपछि बेलुका ६ बजेमात्रै घरमा आउने, त्यसैले पनि बहुारीसँग त्यति लगाव थिएन उनको । छोरा र नातिनी नै उनको साथी बन्दै आएका थिए । बाहिर गएको छोरा घर नआएसम्म कोठाको झ्यालबाट बाटोतिरै आँखा तन्काई रहन्थिन् । एक दिन छोरा घर नआए उनका लागि रित्तो हुन्थ्यो त्यो घर, त्यसैले पनि आशाले घर छोडेर एकरात कतै गएर बस्दैनथ्यो । कतै गएर ढिला हुँदा पनि आमाले के खाईन् होला, कसरी बस्दै होलिन् भन्ने चिन्ताले सधै हतास बनाउँथ्यो उसलाई । उसको घरमा कहिल्य ताल्चा लागेको थिएन ।

आमाले यो धर्ती छाडेर गएदेखि नै आशिष आफूलाई एक्लो महसुस गर्न थालेको छ । आमाको कयौ चाहनालाई उसले पूरा गर्न सकेको छैन । कहिले त आमा बिनाको घर र आमा छदाँको रौनकमा धेरै अन्तर पाएको छ उसले । आज ऊ बाहिर निस्कदा घरमा ताल्चा लाग्न थालेको छ, छोरी स्कूलबाट घर फर्किदा एक्लि हुन थालेकी छे । आमाको अभाव निकै खड्किएको छ, उसलाई ।

आमाको मुख हेर्ने दिन निद्रामै अचानक आमाको आवाज गुन्जिए जस्तो लाग्यो उसलाई । जुरुक्क उठेर एक पटक आमाको कोठालाई नियाल्यो उसले । आमाको तस्विरलाई नियाल्यो । आमाले मलाई फलफूल चाहिँदैन, हर्लिक्स, मिठाई र चूरोट ल्याईदिए पुग्छ भन्ने गरेको आमाको आवाज कोठामा गुन्जिए जस्तो लाग्यो उसलाई । चुरोटको निकै अम्मली आमा, जति गर्दा पनि चुरोट छोडाउन सकेको थिएन ।

आमाको पुरानो दिनलाई आमाको मुख हेर्ने दिनले फेरि सम्झाईदियो । अरुको घरमा आमा भेट्न आउनेहरुको रौनक देखेर आशिषलाई आज आफ्नो घर एक्लो लागेको छ । आमा विनाको घर नितान्त एक्लो, निष्पट अँध्यारो ।

सम्बन्धित खबरहरु