नेविसंघ आन्दोलनबाटै जन्मिएको संस्था : उपप्रधानमन्त्री सिंह

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ६ ब‌ैशाख, २०७२

जनबोली ६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले आफ्नो स्थापनाको ४५ औं वर्ष प्रवेशका अवसरमा आज यहाँ साइकल र्‍यालीको आयोजना गरी संविधान र विकासका लागि दबाब दिएको छ । स्थानीय भृकृटीमण्डपबाट सुरु भएको सो र्‍यालीको उद्घाटन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेविसंघ आन्दोलनबाटै जन्मिएको संस्था भएकाले लोकतान्त्रिक आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न चाँडो नयाँ संविधान जारी गराउने अभियानमा भूमिका निर्वाह गर्न सङ्घलाई आग्रह गरे । लोकतान्त्रिक आन्दोलनमा सङ्घले अग्रणी भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँले त्यही जोसका साथ संविधान प्राप्तिका लागि भूमिका निर्वाह हुनुपर्नेमा जोड दिए ।

सङ्घका अध्यक्ष रञ्जित कर्णले संविधानका लागि अब धेरै समय कुर्न नसकिने भएकाले चाँडो संविधान ल्याउन दबाब दिन आवश्यक परेमा सङ्घ पुनः सडकमा आउन तयार रहेको बताए । ‘स्वच्छ सहर हाम्रो रहर’ भन्ने नाराका साथ गरिएको सो र्‍याली भृकुटीमण्डप, भद्रकाली, रत्नपार्क हुँदै पुनः सोही स्थानमा पुगी समापन भएको थियो । विसं २०२७ वैशाख ६ गते स्वयम्भू सत्तलमा नेता कृष्णप्रसाद भट्टराईलगायतको पहलमा विपीन कोइरालाको सभापतित्वमा सङ्घको स्थापना भएको थियो । आन्तरिक विवादका कारण आठ वर्षदेखि सङ्घको महाधिवेशन हुन सकेको छैन ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७