सुन आयात घट्दै, बजारमा वैध भन्दा अवैध सुनको विक्री व्यापक

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ७ ब‌ैशाख, २०७२

goldजनबोली ७ वैशाख, काठमाडौं । वैध रुपमा सुन आयात ७८ प्रतिशतले घटेको छ । गत वर्षको फागुनसम्ममा १७ अर्ब आठ करोड रुपैयाँको सुन आयात भएकोमा यो वर्ष सुन आयात तीन अर्ब ६१ करोड रुपैयाँमा सिमित भएको छ ।

आयात घटेको मात्रै होइन, बैंकहरुले भित्र्याएको सुन पनि बिक्री भएको छैन । अहिले वाणिज्य बैंकहरुसँग ६४ किलो भन्दा बढी सुन थन्किएको छ । चोरी आयातको सुन बजारमा गएको कारण वैध मार्गबाट ल्याएको सुन विक्री हुन छाडेको हो । सुन विक्न छाडेपछि बैंकहरुले आयात पनि घटाएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको आठ महिनामा पनि १४ अर्ब ९९ करोड रुपैयाँको सुन आयात भएको थियो । राष्ट्र बैंकको तथ्यांक अनुसार सुन आयात गत वर्ष भन्दा यो वर्ष झण्डै १४ अर्ब रुपैयाँले घटेको छ ।

नेपाल बैंकर्स संघका अनुसार बैंकहरुमा अहिले झण्डै सातसय ५० केजी भन्दा धेरै सुन स्टक छ । तर एक बैंकरले भने बजारमा अवैध सुन भित्रिएकाले नै बैंकमा सुन थुप्रिएको बताए । ‘बैंकमा सुन थुप्रिनु र बजारमा सुन छ्यापछ्याप्ती हुनुको कारण यही हो,’ उनले भने, ‘वैधानिक बाटोबाट आएको सुन नबिक्ने अनि अवैधानिक बाटोबाट आएको सुनले बजार भरिएको छ ।’

सुन आयात कम भएपनि बजारमा सुनको कुनै अभाव नभएको व्यवसायीहरु नै स्वीकार्छन् । नेपाल सुन चाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बजारमा अवैध सुन धेरै भित्रिएकाले नै समस्या देखिएको बताए ।[quote font_size=”14″ bcolor=”#1e73be” align=”right”]तस्करीबाट आएको सुन तोलामा एकहजारदेखि १५ सय रुपैयाँसम्म महँगो छ[/quote]

‘नेपालको बजारमा ३०र३५ किलोसम्म माग हुन्छ तर बैंकहरुले ल्याउने पनि १५ किलो मात्रै हो,’ उनले भने, ‘माग घटेको त छैन, तर बजारको माग धान्ने काम अवैध च्यानलबाट आएको सुनले गरेको छ ।’

उनले गत वर्षको तुलनामा यो वर्ष विवाहको लगन कम हुनु, बजारमा तस्करीको सुन आउनु र सुविधाबाट भित्रने सुनका कारण पनि वैधानिक बाटोबाट आएको सुन व्यापारमा कमी आएको बताए । बजारमा वैधानिक च्यानलबाट आएको सुन अवैधानिक भन्दा केही महँगो भएको पनि शाक्यको भनाइ छ ।

‘तस्करीबाट आएको सुन तोलामा एकहजारदेखि १५ सय रुपैयाँसम्म महँगो छ भन्ने सुनेको छु,’ उनले भने, ‘यसले गर्दा अवैधानिक बाटोबाट आएको सुनले बजार लिएको हो ।’

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७