कम्प्याक्ट प्रोग्राम चाँडै कार्यान्वयनमा आउने : किम

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ८ ब‌ैशाख, २०७२

नेपाल भ्रमणमा रहेका अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का प्रमुख उपाध्यक्ष किइथ किमले अमेरिकी सरकारले उपलब्ध गराउने कम्प्याक्ट प्रोग्राम चाँडै कार्यान्वयनमा आउने बताएकी छन् ।

अर्थमन्त्री डा. रामशरण महतसँग सोमबार भएको भेटमा प्रमुख उपाध्यक्ष किमले एमसीसीलाई चाँडै कार्यान्वयन गर्न अमेरिका तयार रहेको र सोही सिलसिलामा आफू नेतृत्वको टोली नेपाल आएको बताएकी हुन ।

गएको डिसेम्बरमा अमेरिकाले नेपाललाई सहयोग गर्ने नयाँ ढोका खालेर १० अर्बदेखि ६० अर्ब रुपैयाँसम्म सहयोगको घोषणा गरेको थियो । अर्थमन्त्री महतसँग किमको छलफल सोही विषयमा केन्द्रीत थियो ।

नेपाल सरकारले उक्त कार्यक्रम कार्यान्वयनका लागि पूर्व सचिव कृष्ण ज्ञवालीलाई संयोजक पनि तोकिसकेको छ । भेटमा महतले नेपाललाई अमेरिकाले उपलब्ध गराउने यस किसिमको सहयोगले विशेषगरी ऊर्जा र यातायात विकासका क्षेत्रमा ठूलो भूमिका हुने बताए ।

हाम्रो प्राथमिकता अहिले ऊर्जा र यातायात विकास हो । किनकी यी दुईको अभावमा अहिले उत्पादन लागत उल्लेख्य मात्रामा बढेको छ र उद्योग अप्ठेरोमा परेका छन । यसले गर्दा निर्यातमा समेत ठूलो ह्रास आएको छ, उनले भने ।

नेपाल सरकारका यिनै प्राथमिकताका क्षेत्रमा अमेरिकी सरकारले पनि सहयोग केन्द्रीत गरेकोमा महतले धन्यवाद दिए । हिंसात्मक द्वन्द्व र राजनीतिक संक्रमणकालका बीच बिगत दुई बर्षयता लगातार पाँच प्रतिशतभन्दा बढीको आर्थिक बृद्धिदर हासिल भएको र सरकार यसलाई अझ बढाएर छिटो सम्पन्नता हासिल गर्नेतिर क्रियाशील भएर लागेको मन्त्री महतको भनाई थियो ।

उनले यसका लागि सरकारले लगानीको वातावरण निर्माण गरेको र लगानी धमाधम आइरहेको जानकारी पनि दिए । अर्थतन्त्रमा यातायात र ऊर्जाको अभावको लागत धेरै भएको उल्लेख र छिटै नै यी अभावको परिपूर्ति भई आर्थिक वृद्धिदर सात प्रतिशतमाथि हुने महतको दावी थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेलले नेपाल सरकारले पनि ऊर्जा र यातायातलाई प्राथमिकतामा राखेको अवस्थामा अन्य मुलुकमा अमेरिकाले गरेको यस्तो लगानीको सफल मोडललाई नेपालमा पनि उतार्न सके राम्रो हुने बताए ।

प्रमुख उपाध्यक्ष किमले कम्प्याक्ट प्रोग्रामका लागि कार्यालय तथा अन्य आवश्यक पूर्व तयारीका लागि पनि बजेट छुट्याइएको जानकारी दिएकी थिइन ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७