व्यङ्ग्य गजल : हेपेकै हो, तँ के गर्छस् ? ~चट्याङ मास्टर~

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ८ ब‌ैशाख, २०७२
Chatyang Master

~चट्याङ मास्टर~

 

एक वर्षमा संविधान म दिन्न, ल जा तँ के गर्छस् ?
हो हो, मैले भनेको मै मान्दिन जा तँ के गर्छस् ?

तेरो भोट मैले पाएँ पच भो, अब तँ के गर्छस् ?
जे जे माग्नु मागिराख, दिन्न म तँ के गर्छस् ?

आफू भन्दा ठूलो मलाई बनाई सकिस् तँ के गर्छस् ?
नमस्कार तैँले गर्नू, म फर्काउन्न तँ के गर्छस् ?

जे जे मुखमा आउँछ म त्यै त्यै बोल्छु तँ के गर्छस् ?
मैले बोल्या मै बुझ्दिन, तैँले बुझे तँ के गर्छस् ?

गणतन्त्र लोकतन्त्र घोकेर बेसरी तँ के गर्छस् ?
अर्थ मैल्यै बुझाउने हो, जेसुकै बुझ् तँ के गर्छस् ?

पाँच वर्षलाई अब टन्न खान्छु खेल्छु, तँ के गर्छस् ?
मेरो चर्चा परिचर्चा गरिराख जा, तँ जे गर्छस् !

तेस्रो संविधानसभा चुनाव गर्छु, तँ के गर्छस् ?
फेरि भोट माग्न आउँछु, नदिएर तँ के गर्छस् ?

सम्बन्धित खबरहरु