बालुवा चालेर जीविका चलाइरहे खेलाडी

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ९ ब‌ैशाख, २०७२

Siraha Districtसिरहा । जीवनको ऊर्जाशील समय मुलुकको प्रतिष्ठाका लागि कुस्ती खेलेर बिताएका सिरहाका एक खेलाडी हातमुख जोर्न समस्या परेपछि अहिले बालुवा चालेर जीविका चलाइरहेका छन्।

अयोध्यानगरका ५२ वर्षीय कुस्ती खेलाडी जनक यादवले आफूसहित ६ जनाको परिवार पाल्न समस्या परेपछि गिट्टीबालुवा चाल्न थालेको अन्नपूर्ण पोस्टमा खबर छ ।

सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न सातौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा जनकले ९० केजी तौल समूहमा स्वर्णपदक जितेर मुलुकको प्रतिष्ठा बढाएका थिए।

तीनै जनक अचेल परिवार पाल्न गाउँ नजिकैको गागन खोलामा गिट्टीबालुवा चालिरहेका भेटिन्छन्।

‘साफमा स्वर्णपदक जितेर फर्केपछि जीविकाका लागि केही व्यवस्था हुन्छ कि भन्ने आशाले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लगायतका निकायमा पटकपटक धाएँ तर आश्वासनबाहेक केही पाइनँ’, जनकले गुनासो गरे, ‘परिषद् र मन्त्रालयका पदाधिकारी आफन्तलाई जागिर लगाउनमात्र तल्लीन भए, मेरो कुनै सोर्सफोर्स नभएकाले काम पाउन सकिनँ।’

‘कुनै समय आफ्नो नाम सुनेरै कुस्ती हेर्न मानिसको ठूलो भीड जम्मा हुन्थ्यो, अहिले मेरो पीडा कसैले देखेन।

उमेर छँदा देशका लागि विदेशसम्म पुगेर इमानदारीपूर्वक खेलियो। अहिले चुलो बाल्न समस्या परेपछि गिट्टीबालुवा चाल्नुको विकल्प रहेन’, जनकले भने।

सम्पत्तिका नाउँमा चार कठ्ठा जमिनमात्र रहेका जनकका चार छोरी, एक छोरा र पत्नी छन्। आर्थिक अभावले राम्रो शिक्षा दिन नसकेपछि ऋण गरेर छोरीहरूको विवाह गरिदिएको उनले बताए।

‘उमेर छँदा पसिना बगाएर कुस्तीबाट देशको गौरव बढाएँ तर छोराछोरीको भविष्य अन्धकार भयो’, यसो भन्दा उनी भक्कानिए।

सिरहा-४ का सभासद् रामचन्द्र यादवले भने भेटेका बेला धेरथोर आर्थिक सहयोग गर्ने गरेको जनकले सुनाए। जनकसँगै कुस्तीका कला सिकेका रामचन्द्र विद्यार्थीकालमा स्थानीय स्तरका चर्चित खेलाडी थिए। रामचन्द्रले थुप्रै उपाधिसमेत जितेका थिए।

कुनै समय एकाबिहानै उठेर कसरत गर्ने कुस्तीबाज जनकको दैनिकी अचेल हातमुख जोर्ने मेसो मिलाउन गिट्टीबालुवा चाल्नेबाट सुरु हुन्छ।

चार वर्षसम्म राष्ट्रिय टिममा रहेर देशविदेशमा आयोजना हुने प्रतियोगितामा सहभागी भएर दर्जनौं पदक जितेका जनकले सातौं साफमा स्वर्णपदक जितेपछि भने राज्यबाट दुई लाख ६५ रुपैयाँ पाएका थिए। ‘त्यसबाहेक राज्यले मलाई फर्केर पनि हेर्न चाहेन’, उनले भने।

अझै पनि आवश्यक सन्तुलित खाना र व्ययाम गर्ने समय पाउने हो भने कुस्ती खेलका लागि केही गर्न सक्छु भन्ने हिम्मत छ उनमा।

‘सरकारले चाहने हो भने कुस्तीका नयाँ खेलाडी उत्पादन गर्न सक्छु। मसँग अनुभव छ र राष्ट्रका लागि अझ केही गर्ने चाहना मरेको छैन’, उनले भने।

सम्बन्धित खबरहरु