आज लोकतन्त्रको दशौँ वर्ष, मुलुक भर विभिन्न कार्यक्रम गरी मनाईँदै

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ११ ब‌ैशाख, २०७२

loktantraजनबोली ११ वैशाख, काठमाडौं । आज बैशाख ११ गते अर्थात लोकतन्त्र दिवस। तत्कालीन सात राजनीतिक दल र सशस्त्र जनयुद्ध गरिरहेको नेकपा माओवादीले संयुक्त रुपमा सुरु गरेको जनआन्दोलन मार्फत तत्कालीन राजा ज्ञानेन्द शाहले आजकै दिन २०६३ वैशाख ११ गते राति विघटित प्रतिनिधिसभा पुनःस्थापना गरेका थिए। त्यसयता यसै दिनलाई लोकतन्त्र दिवसका रुपमा स्मरण गर्ने गरिएको छ।

लोकतन्त्र दिवसका अवसरमा आज राजधानी लगायत देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। २०६२ सालको चैत २६ गतेबाट सुरु भई १९ दिनपछि सफलता प्राप्त गरेको आन्दोलनको दिनको सम्झनामा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ। जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र शक्ति आफ्नो हातमा लिएपछि नेपाली काँग्रेस सहितका तात्कालीन सात दलले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग बोकेर सडकमा ओर्लिएका थिए। कांग्रेसका तत्कालीन सभापति स्व गिरिजाप्रसाद कोइरालाको यो अडानले यहि दिन अर्थात् बैशाख ११ गते पूर्ण रुप पाएको थियो। जनताको हातमा आफुले लिएका सबै शक्ति र सत्ता फर्काउन राजा ज्ञानेन्द्र सहमत भएपछि आन्दोलन टुंङगिएको थियो। ०६२–६३ मा भएको जनआन्दोलनमा २५ जना नेपाली सपूतले जीवन वलिदान दिए भने थुप्रै घाइते भए।

राजा ज्ञानेन्द्रले मुलुकमा निरंकुश शासन लादेपछि विपरीत ध्रुवमा मुख फर्काएर बसेका संसदवादी सात राजनीतिक दल र माओवादी १२ वुँदे दिल्ली सम्झौतापछि एउटै विन्दुमा उभिएर लोकतान्त्रिक आन्दोलन सुरु भएको थियो। भारतको दिल्लीमा सात दल र माओवादीबीच निरंकुश राजतन्त्र अन्त्य गरी लोकतन्त्र स्थापना गर्न ऐतिहासिक १२ बुँदे समझदारी भएपछि नेपालीले लोकतन्त्र प्राप्त गरेका हुन्। २०६२ चैतमा आह्वान गरिएको शान्तिपूर्ण आन्दोलनका अगाडि राजाले घुँडा टेके र अन्ततः नेपाली जनताको जीत भएको थियो। संविधानसभाको चुनाव भई बसेको संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते मुलुकबाट अढाई सय वर्षको इतिहास बोकेको राजतन्त्र सदाका लागि अन्त्य भएको घोषणा गरेको थियो। यो घोषणासँगै राजा ज्ञानेन्द्रले राजाहरुको निवास अर्थात् नारायणहिटी दरवारबाट बिदा लिएका थिए। अर्कातिर एक दशक लामो माओवादी सशस्त्र युद्धले शान्तिपूर्ण राजनीतिक मोड लिएको समय पनि यही थियो।

सम्बन्धित खबरहरु