मुकेशलाई जिउँदो शहीद घोषणा गर्न परिवारको माग


बनेपा । “मुकेश उठ, यि हेर त यो के हो रु” बोल त बाबु, तिमी बोल्नुपर्छ । मुकेशकी आमा मीरा कायस्थ उहाँलाई स्याहार गर्ने क्रममा यसरी बोलिरहनु भएको थियो ।मुकेश कयस्थलाई भेट्दै गरेको प्रधानमन्त्री केपी ओली  आमा मीरा र बुबा कृष्णमानले बनेपा नगरपालिका–८ चैतन्य रोड छेउको घरमा रहेको दोस्रो तल्लामा मुकेशलाई यसरी नै स्याहार्दै आइरहनुभएको करीब १२ वर्ष भयो ।मुख चलाई सामान्य आवाज निकाल्ने र बोलाउँदा केही खेलौना दिँदा समात्ने सम्म गरेका उहाँले अझै अरु प्रतिक्रिया दिन सक्नुभएको छैन । खाना खुवाउने, लगाएको लुगा र ओछ्यानको कपडा फेर्नुपर्ने, सरसफाइ गर्नुपर्नेलगायतका काममा मीरा र कृष्णमान चौबिसै घण्टा खटिरहनुभएको छ ।गोली लागेको कञ्चटको घाउको खत ठूलै देखिन्छ । २०६२ साल चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि मुकेश अचेत भएका हुन् । २०६२ साल चैत २६ गते काभ्रेपलाञ्चोकका भीमसेन दाहाल पोखरामा सुरक्षाकर्मीको गोलीबाट मारिएपछि थप आक्रोसित भएका आन्दोलनकारीले आन्दोलन चर्किँदै गर्दा १५ वर्षीय मुकेश पनि आन्दोलनमा उत्रिनुभयो र सुरक्षाकर्मीले चलाएको गोली उहाँको कञ्चटमा लागेर उहाँ घाइते हुनुभयो ।

सोही दिनदेखि उहाँ अझैसम्म पनि ओछ्यानमा नै हुनुहुन्छ । त्यसबेला १५ वर्षका उहाँ अहिले २७ वर्षको हुनुभयो । घाइते पछिको केही समय अस्पतालमा बिताउनुभएका उहाँलाई अहिले अलि गाह्रो अवस्थामा अस्पतालसम्म लानेबाहेक सम्पूर्ण समय घरमा नै उपचार र स्याहारसुसार भइरहेको छ ।“पहिलेको भन्दा थोरै मात्रामा सुधार भएको छ,” मुकेशकी आमा मीरा कायस्थले भन्नुभयो, “आफैँले त केही गर्न सक्दैन, सबै हामीले नै गर्नुपर्छ ।”“पहिलाको अवस्थाभन्दा चनाखोपन, बोल्दाखेरी छिटो प्रतिक्रिया जनाउन खोज्ने चाँही भएको छ । मुकेशको उपचारका निम्ति औषधिको व्यवस्थासँगै एक अहेब र एकजना हेरचाह गर्ने ९कुरुवा० को व्यवस्था गर्दै आइएको छ, ” उहाँले भन्नुयो ।सरकारले गरेको त्यति सहयोगले मात्रै मुकेशका लागि अपुग भएको मीराले बताउनुभयो । “सरकारले जति गरेको छ, त्यो चाहीँ मुकेशको लागि पर्याप्त छैन ।” उहाँले भन्नुभयो, “कुरुवालाई मासिक रु छ हजार २०० दिएर आठ घण्टा हेर्छन्, त्यतिले काम गर्न नमान्ने अवस्था एकातिर छँदैछ । अर्कोतिर उसलाई चौबिसै घण्टा हेरचाह गर्न परिवारका सबैजना खट्नैपर्छ ।”

यस्तो अवस्थामा आफूहरुलाई पनि सधैँ रेखदेख गर्न गाह्रो भएको उहाँले बताउनुभयो । मुकेशलाई ह्विलचियरमा राख्नलाई नै तीनजना मान्छे चाहिन्छ । “उसलाई फकाइरहनुपर्ने हुन्छ,” मुकेशका बुबा कृष्णमान कायस्थले भन्नुभयो, “त्यसले गर्दा आफ्नो व्यापार व्यवसाय गर्नुपर्ने समय नै सबै त्यसैमा खर्चिरहनुपरेको छ ।” उनको उपचारको क्रममा लाग्दालाग्दै कसरी व्यवसाय चलाउने भन्ने चिन्ताले सताउन थालेको बुबा कायस्थले बताउनुभयो ।मुकेशका लागि यी व्यवस्था हो : जनआन्दोलन दोस्रो २०६२-०६३ का घाइते मुकेश कायस्थ अझै ओछ्यानमा नै रहेका छन् । विगत करीब १२ वर्षदेखि उपचाररत उनका लागि परिवारले अरु थप व्यवस्था गरिदिन सरकारसमक्ष माग गरेका छन् ।“बिरामीलाई घरमा एकै ठाउँमा मात्रै राखीराख्दा राम्रो नहुने रहेछ ।” आमा मीराले भन्नुभयो, “बाहिर हावामा फ्रेस गराउनुपर्नेमा जनशक्ति पुग्दो नहुँदा त्यो गर्न सकिरहेका छैनौँ ।” जनशक्ति अपुग भएका कारण सधैँभरि एउटै कोठामा मात्रै कोच्याइ राख्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।बाहिर वातावरणसँग घुलमिल हुने वातावरण बनाउनु पर्ने, पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्ने, बिरामी हुँदा अस्पताल पु¥याउन र ल्याउन व्यवस्था हुुनुपर्ने परिवारको माग छ ।मुकेशलाई निरन्तर फिजिओथेरापी गरिरहनुपर्ने हुन्छ । “त्यसका लागि निरन्तर फिजियोथेरापी चाहिन्छ, त्यो चाहीँ हामी आमाबुबाले सकेको र जानेको गरिदिँदै आएका छौँ,” मीराले भन्नुभयो । 

“उसका लागि त हामीले सकीनसकी घरमा नै उपचार गरिरहेका छौँ”, मीरा र कृष्णमान दुवैले एकै स्वरमा भन्नुभयो “उनी जस्तै ओछ्यानमा नै रहिरहने बिरामीलाई घरमा नै यसरी उपचार गर्न गाह्रो छ, त्यसैले यसको नामबाट पुनःस्थापना केन्द्र खोलेर भोलिको दिनमा उ जस्तै अरु बिरामीको निःशुल्क उपचार गर्ने व्यवस्था भएको अस्पताल खोलेर सेवा दिन आवश्यक छ ।”डाक्टरको सल्लाहअनुसार यस्तो बिरामीलाई अस्पतालपछि दोस्रो घर आवश्यक भएको र त्यस्तो घर नभएका कारण घरमा ल्याएर उपचार गर्नै गाह्रो भएको उहाँहरुको भनाइ छ । मुकेशलाई जिउँदो शहीद घोषणा गरियो : अहिलेसम्म मुखले मात्रै जिउँदो शहीद भनेर भनिरहेको भन्दै उहाँका परिवारले सरकारले मन्त्रिपरिषदबाट जिउँदो शहीद घोषणा गर्नुपर्ने बताउनुभएको छ ।“अहिलेसम्म मुखले मात्रै जिउँदो शहीद भनेर घोषणा गरेको छ, औपचारिक रुपमा नै क्याबिनेटबाट घोषणा गर्नुप¥यो नि, खै त अहिलेसम्म गरेको रु” प्रश्न गर्दै मीराले भन्नुभयो, “सरकारले क्याबिनेटबाट नै जिउँदो शहीद किन घोषणा गर्न सकिएन र ?”मुकेशका लागि गृह मन्त्रालयबाट शतप्रतिशत घाइते भनेर परिचयपत्र मात्रै दिएको मीराले बताउनुभयो । उहाँले सरकारले झन्झन् जनआन्दोलनलाई बिर्सिरहेको र त्यसमा योगदान पु¥याउनेको कदर उचित ढंगले नभएको गुनासो गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्