काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका बारेमा सबै चकित हुने अभिव्यक्ति दिएका छन् । उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा आएसँगै प्रचण्डले दिएको अभिव्यक्ति निक्कै अर्थपूर्ण छ । उनले दुई नम्बर प्रदेशमा चलखेल गरेर केन्द्र सरकारलाई अस्थीर बनाउने कोशिस भएकाले तत्काल हस्तक्षप गर्नुपर्ने धारणा राखेका छन् । यही कारण संघीय समाजवादी फोरमलाई केन्द्र सरकारमा ल्याउनु परेको समेत उनले खुलासा गरेका छन् । उनले केन्द्र सरकारकै प्रभावमा प्रदेश दुईमा सरकार बन्ने बाटो खुलेको पनि बताए । नेपाल पत्रकार महासंघ चार नम्बर प्रदेशले सोमबार बिहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशहरुको स्थितिभन्दा अलग गराउने र त्यहाँ चलखेल गरेर सरकारलाई अस्थीर बनाउने कसैले सपना देखेको या त्यसको निम्ति कसरत भएको हामीले देखेका थियौं । त्यसको ढोका चाहिँ बन्द भयो ।’


केपी ओली नेतृत्वको वर्तमान सरकारमा हालै संघीय समाजवादी फोरम पनि समावेश भएको छ । सरकारमा फोरम अध्यक्ष उपेन्द्र यादव आफै उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्री छन् । प्रचण्डले संघीय समाजवादी फोरमको नाम नलिइकन भने, ‘अहिलेको केन्द्र सरकारको फर्मेसनले अब दुई नम्बर प्रदेशमा पनि केन्द्र सरकारकै प्रभावमा सरकार बन्ने बाटो खुल्यो ।’ उनले अघि भने, ‘अब अपोजिसन (प्रतिपक्ष)ले कसरी काम गर्छ र सत्तापक्षले कसरी काम गर्छ, ति सबै इतिहासको परीक्षामा छन् ।’

सम्बन्धित खबरहरु