भूकम्प पीडितहरूलाई मन ,वचन र कर्मले सहयोग गरौं : प्रधानमन्त्री

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २१ ब‌ैशाख, २०७२

Sushil Koirala

जनबोली/ २१ वैशाख, काठमाडौ ।  प्रधानमन्त्री सुशील कोइरालाले विश्वभरका बुद्ध धर्मावलम्बीहरुलाई बुद्धका वाणी र व्यवहारलाई स्मरण गरी भूकम्पपीडितहरूलाई मन ,वचन र कर्मले सहयोग गर्न अनुरोध गरेका छन् । पच्चीस सय ५९ औँ बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिदै उनले शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले अहिंसा, सत्यवादिता, अपरिग्रह, पारस्पारिक सहयोग र परोपकारका लागि दिनुभएको सन्देश शाश्वत रहेको बताए ।
प्राकृतिक प्रकोप, हिंसा र द्वन्द्वको असैह्य पीडा भोगेको नेपाली समाजका लागि बुद्धले देखाएको शान्तिको मार्गको विकल्प नभएको प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्री कोइरालाले सन्देशमा आपसी सद्भाव, सहकार्य, एकता र मेलमिलाप नै प्राकृतिक प्रकोपबाट जोगाउने शक्ति भएका र त्यस्ता प्रकोपको पीडाबाट बाहिर निस्केर विकासलाई गति दिएपछि मात्र आम नागरिकलाई सुख र समृद्धि प्राप्त हुन सक्ने उल्लेख गरेका छन् ।
सन्देशमा उनले जनताको सुख र समृद्धिका लागि कार्यरत सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्तासहित समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई राहत कार्यमा जुट्दै भगवान् गौतम बुद्धले देखाएको शान्ति र सद्भावको मार्ग अवलम्बन आग्रह गरेका छन् ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७