लाङटाङमा लगातार हिमपहिरो, पुरिएका डेढ सय बढीको खोजीमा समस्या

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २६ ब‌ैशाख, २०७२

langtang_
जनबोली/ २६ वैशाख, काठमाडौ । लाङटाङमा दुई दिनदेखि हिमपहिरो झरेपछि हराइरहेकाहरुको शव खोज्न समस्या भएको छ । शुक्रवारदेखि झरेको हिमपहिरोले बेपत्ताको खोजी गर्न समस्या भएको रसुवा प्रशासनले जनाएको छ । हिमपहिरोका कारण हराइरहेकाहरुको खोजी गर्न समस्या आएको सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले जानकारी दिए । उनका अनुसार हराएकामध्ये ९० जनाको शव फेला पारी परिवारको जिम्मा लगाइसकिएको छ ।

हिमपहिरोमा तीनसय जना हराइरहेको जानकारी प्राप्त भएको उनले बताए । देशकै प्रमुख पर्यटकीय क्षेत्र लाङटाङमा १५ दिनअघि गएको भूकम्पपछि झरेको हिमपहिरोमा ९० जनाको शव शनिबारसम्म निकालिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । फेला पारिएकामध्ये ६ जना विदेशी नागरिक छन् । यसअघि २४ जनाको शव फेला परेको थियो । हिमपहिरोवाट ध्वस्त लाङटाङमा स्थानीयवासी, पर्यटक र सेनासहित अझै एकसय ६३ जनाको शव भेटिन बाँकी रहेको स्थानीय प्रशासनको भनाइ छ ।

सदरमुकाम धुन्चेदेखि दुई दिन पैदलपछि पुगिने लाङटाङमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र स्थानीयवासीले हिमपहिरोले पुरिएका शव निकाल्ने क्रम अझै जारी रहेको सेनाको नारायण दल गणका प्रमुख सेनानी लक्ष्मण थापाले जानकारी दिए । लाङटाङ अवलोकन तथा भ्रमणका क्रममा पुरिएकाहरु अब सकुशल भेटिने सम्भावना कम रहेको प्रशासानले जनाएको छ ।

लाङटाङमा सेनाका १० जवानसहित, पर्यटक र स्थानीय गरी एकसय ६३ जना हराएका छन् । लाङटाङक्षेत्रमा दुई हेलिकोप्टरद्वारा स्वदेशी र विदेशीसहित २ सय १३ को सकुशल उद्धार गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालका अनुसार भूकम्पले लाङटाङको क्यान्जिन, मुण्डु र थाङस्यापमा ठूलो क्षति पुगेको छ । लाङटाङको गाउँको नक्सा बदलिएको उनको भनाइ छ ।

लाङटाङमा ६० घरधुरी हिमपहिरोले पुरिएका छन् । हिमपहिरोले गाउँका घर, होटल र लाङटाङ राष्ट्रिय निकुन्ज सुरक्षार्थ लाङटाङ पोष्ट पुरै लाङटाङ खोलामा बढारिएर बगेको छ ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७