काठमाडौं । २०१४ को विश्वकपमा ब्राजिलियन योङ स्टार गाब्रियल जेसुस केवल १७ बर्षका थिए । उक्त विश्कपमा उनले साओ पाओलोका सडकमा पहँलो र हरियो रंगले पेन्टिङ गर्दै हिडेका थिए, जुन कुरा अनलाइनमा भाइरल बनेको थियो । दुर्भाग्य, ब्राजिलको फुटबल इतिहासकै सबैभन्दा लज्जास्पद हार त्यही विश्वकपमा भयो । सेमिफाइनलमा जर्मनीसँग ब्राजिल ७–१ गोलले पराजित भएको थियो । फिफाले अहिलेका ब्राजिलका ९ नम्बर जर्सीधारी युवा स्टारलाई त्यो बेलाको अवस्था कस्तो थियो भनेर सोधेको थियो । उनले त्यो बेलाको क्षण र पीडा जिवनकै दुखदायी रहेको बताएका छन् ।

‘मैले ६ बर्षको उमेर देखि फुटबल खेलिरहेको छु । जब म १७ बर्षको भएँ पल्मारिस क्लबमा आवद्ध भएँ । फुटबलमा यस्ता अप्रत्यासित नतिजा आउँछन्, त्यो मलाई थाहा थियो र त्यती नराम्रोरुपमा पनि लिइनँ,’ उनले भने । २१ बर्षिय जेसुस ब्राजिलका सबैभन्दा कम उमेरका खेलाडी समेत हुन् । शुक्रबार उनले सेन्ट पिटर्सवर्गमा कोस्टारिका विरुद्ध खेल्दैछन् । माथिको प्रश्नमा उनले दिएको जवाफ सुन्दा उनी आफैंमा एक परिपक्व र अनुभवी खेलाडी जस्तो लाग्छ ।

उनको मानसिकता हेर्दा उनलाई अनुभवी खेलाडीलाई बाहिर राखेर ब्राजिलले कच्चा उमरेका उनलाई टिममा समावेश गरेको होइन । उनी आफैंपनि भन्छन्, ‘अब म बच्चा छैन ।’ उनको परिपक्वतालाई हेरेर ब्राजिल फुटबल संघले उनलाई म्याच भन्दा तीन अघि फ्रेन्स कन्फ्रेन्समा भाग लिन पठाएको थियो । जबकी, प्रेस कन्फ्रेन्समा अनुभवी खेलाडीलाई पठाइने गरिएको छ । उनी प्रेस कन्फ्रेन्समा आएपछि धेरैलाई अचम्म लागेको थियो । प्रेस कन्फ्रेन्स अघि पछि उनका टिममेटले उनको भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोका बारेमा कुरा गर्दै उनले भनेका छन्, ‘यो निकै राम्रो काम हो, मैले हेडर मार्फत गोल गरेँ । म चुकेको भए सायद समचार बन्ने थियो,’ उनले हाँस्दै भने । युवा स्टार जेसुसले सुरुवाती ११ मा पर्न संघर्ष भने गर्नुपर्नेछ । रोबर्टो फिर्मिनोले लिभरपुलमा गरेको शानदार प्रर्दशन र उनीहरुको एकै स्थानबाट खेल्ने शैलीका कारण यस्तो हुने बताइएको छ । ब्राजिलका मिडियाले पनि यसबारेमा चर्चा गर्दै आएका छन् ।

यसबारेमा पनि जेसुसले निकै परिपक्व जवाफ दिए । ‘मलाई प्रष्ट पार्न दिनुहोस्, सेन्टर फवार्ड पोजिसनबाट खेल्ने हामी दुवैले राम्रो खेल्न सक्छौं । हामीबीच कुनै समस्या छैन, मैले खेल्दा उसलाई खुसी बनाइदिन्छु, उसले खेले मलाई गुनासो रहँदैन ।’ फर्मिनोले पनि सुरुवाती लाइनअपमा बलियो दावेदारी प्रस्तुत गरेका थिए, तर जेसुस नै अहिलेसम्म सुरुवाती ११ मा पर्दै आएका छन् । जेसुसको तुलनामा फिर्मिनको पर्फमेन्स आशातित नभएकाले टिटेले वैकल्पीक खेलाडीकारुपमा राख्दै आएका छन् । यसको अर्को पनि कारण छ, टिटेले टोली सम्हाल्दा विश्वकप छनौंटको स्थिती सन्तोषजनक थिएन । टिटेको नेतृत्वको ब्राजिलले पहिलो खेल इक्वेडरसँग खेल्दै थियो । टिटेले जेसुसलाई सुरुवाती ११ मै राखेर सिनियर टोलीमा डेब्यू गराएका थिए । जेसुसले टिटेको विश्वासलाई तोडेनन् र ३–० ले ब्राजिलले जितेको खेलमा दुई गोल गरे । नेयमारसँगको तालमेलमा जेसुसले अहिलेसम्म १० गोल गरिसकेका छन् । उनलाई ब्राजिलका लिजेन्ड रोनाल्डोसँग समेत तुलना गर्ने गरिएको छ । उनको उत्कृष्ट प्रर्दशनको सहयोगले ब्राजिल रसिया विश्वकपमा छनौट हुने पहिलो टोली समेत बनेको थियो । ‘मलाई लाग्छ, उनै राम्रो छ र चाँडै परिपक्व हुँदैछ,’ रोनाल्डोले भनेका छन्, ‘जेसुसलाई सबैको समर्थन छ, र बलियो आत्मविश्वास पनि । उनी राम्रोसँग जान्दछन्, पहिलो पटक विश्वकपमा खेल्नु त्यती सजिलो छैन, र त्यती सजिलै पाइने अनुभव पनि होइन । यो फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो, त्यसमा उनी गम्भिर हुन आवश्यक छ ।’

सम्बन्धित खबरहरु