पाँच रेक्टरसम्मको पराकम्पन जाँदैमा डराउनुपर्दैन

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २७ ब‌ैशाख, २०७२

lokmani

लैनचौरस्थित खानी तथा भूगर्भ विभागपरिसर प्रवेश गर्दा दाहिने भवनको पहिलो तलामा राष्ट्रिय भूकम्पमापन केन्द्रको कार्यालय छ । केही थान कम्प्युटर र जनशक्ति राखिएको केन्द्रको भवन आफैँमा चर्किएको छ र त्यसको एउटा छेउ–कोठामा केन्द्र प्रमुख लोकविजय अधिकारीको कार्यकक्ष छ । बिहीबार भेट्न जाँदा उनी भूकम्पको पराकम्पनबारे ब्रिफिङ गरिरहेका थिए । भूकम्प आएदेखि अहिलेसम्म कार्यालयमै बसेर भूकम्पबारे उनी अपडेट गर्न उनलाई भ्याइनभ्याई छ । भूकम्पविद् अधिकारीले १२ वैशाखको भूकम्प, कारण, परिणाम र सजगताबारे नयाँ पत्रिकालाई यसरी बेलीविस्तार लगाए :

नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका भूकम्प बर्सेनि औसत २५ देखि ३० वटा गइरहेका छन् । विसं १९९० सालपछि ठूलो भूकम्प जान्छ भन्ने अनुमान थियो, हामीले त्यसबारे सगज पनि गराउँदै आएका हौँ । तर, यही क्षेत्रमा भूकम्प आउँछ भन्ने थाहा थिएन । पूर्वानुमान गर्न अहिलेसम्म सकिएको छैन ।

पृथ्वीको भूखण्डमध्ये एकतिहाइ मात्रै भूकम्पीय जोखिमरहित छ । बाँकी दुईतिहाइ भूखण्ड जहिलेसुकै भूकम्प जान सक्ने जोखिमयुक्त मानिन्छ । जोखिमको एउटा अंश नेपाल पनि हो, यहाँ जहिलेसुकै ठूलो भूकम्प जान्छ भन्ने पूर्वानुमान थियो । नेपालको काठमाडौं अझ भूकम्पीय हिसाबले जोखिमपूर्ण भनिँदै आएको थियो । यसका दुईवटा मुख्य कारण थिए । पहिलो, काठमाडौंमा अनियन्त्रित बसोबास छ । घरहरू पनि प्लानिङअनुसार बनेनन् भने प्रकोप व्यवस्थापनका हिसाबले पनि योजना थिएन, छैन । ०४५ सालपछि भनिँदै आएको छ कि भूकम्पीय जोखिमबाट सुरक्षित हुने गरी संरचना निर्माण गरौँ र प्रकोप व्यवस्थापनको तयारी पनि गरौँ । तर, तयारी भएन । दोस्रो, काठमाडौं भौगर्भिक रूपमा पनि जोखिममा थियो र अब पनि रहन्छ । काठमाडौंको सतहभन्दा ५ सय मिटरमुनिसम्म माटो र बालुवाको पत्र छ, त्यसमुनि मात्रै चट्टान छ । चट्टानमा जति कम्पन आउँछ, त्यसमाथि बालुवा र माटोको पत्रमा कम्पन १० गुणा बढी हुन्छ । त्यस्तो पत्रमा भूकम्पको तरंग फैलिँदा गुणात्मक रूपमा शक्ति पनि बढ्छ, गति सुस्त हुन्छ ।

बढी समय भूकम्पको तरंग रहने र त्यसको शक्ति तलभन्दा १० गुणा बढी प्रकट हुने कारण काठमाडौं उपत्यकालाई भूकम्पीय हिसाबले जोखिमयुक्त भनिएको हो । भौगर्भिक र अनियन्त्रित बसोबास तथा संरचनाका कारण काठमाडौं मुलुकको अन्य भागभन्दा जोखिममा छ । ००० इन्डियन प्लेट र युरेसियन प्लेटबीचको घर्षणका कारण चट्टान भारतबाट नेपालतर्फ प्रतिवर्ष दुई सेन्टिमिटरका दरले धकेलिने गरेको छ । नेपाली भूभागको तराईको चुरेदेखि एक सय किलोमिटर पूर्वी–पश्चिमी भाग सर्दैन । नेपाली भाग नसर्ने, भारततिरबाट प्रतिवर्ष दुई सेन्टिमिटरका दरले धकेल्ने प्रक्रियाले गर्दा हिमालको फेदीमा शक्ति सञ्चय हुँदै आयो । त्यो शक्ति चट्टानले थेग्न सकुन्जेल केही भएन, थेग्न नसकेपछि चट्टान काटेर बाहिर तरंगित भयो । त्यहीकारण गोर्खाको बारपाकलाई केन्द्र बनाएर भूकम्प आयो । शक्ति कति थियो र कति तरंगित भयो भन्ने हिसाबले भूकम्प कति म्याग्निच्युड भूकम्प गयो भन्ने मापन हुन्छ । देशभित्र भूकम्प नाप्ने यन्त्र र स्टेसनका आधारमा म्याग्निच्युड मापन गरिन्छ । स्थानीय तरंगका आधारमा हामी हेर्छौँ, जसलाई लोकल म्याग्निच्युड भन्छौँ । बडी वेभ म्याग्निच्युड, सर्फेस वेभ म्याग्निच्युड र मोमेन्ट वेभ म्याग्निच्युड अलग–अलग नापिन्छ । वैशाख १२ गते गोर्खाको बारपाकवरपरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो । त्यसपछि एक सय ३० किलोमिटरयता सिन्धुपाल्चोकसम्म पटक–पटक भूकम्पका पराकम्पन गए । भूकम्प जाँदा चट्टानी दरार जहाँ जान्छ, त्यसैलाई उद्गमबिन्दु भनिन्छ भने त्यसको भूसतहलाई केन्द्रबिन्दु भनिन्छ । काठमाडौं ७० सेन्टिमिटर माथि उठ्यो । यो अहिलेको भूकम्पका कारणले मात्र होइन, धेरै वर्षदेखिको चट्टानी घर्षणका कारणले हो ।

००० ७ दशमलब ६ रेक्टर स्केलको भूकम्पलाई महाभूकम्प भन्न मिल्दैन, यो होइन । ८ भन्दा माथिकोलाई महाभूकम्प भनिन्छ, ७ देखि ८ सम्मकोलाई मेजर अर्थक्वेक (ठूलो भूकम्प) भन्नुपर्छ । ठूलो भूकम्प गएपछि साना म्याग्निच्युडका पराकम्पन आउँछन् । अहिले नेपालमा पराकम्पन स्वाभाविक रूपमा आइरहेका छन् । अहिले आइरहेका पराकम्पनलाई अस्वाभाविक रूपमा लिनुहुँदैन । १९९० सालको भूकम्पपछि कत्रो पराकम्पन आएको थियो, हामीलाई थाहा छैन । यसपालि पराकम्पन सुरुमा धेरै गए, अहिले कम हुँदै गएको छ । ठूलो चट्टान फुटेपछि एक–आपसमा एड्जस्ट हुनका लागि पराकम्पन आइरहन्छ । भित्र चट्टान चिरा परेको छ, तर दूरी छैन । भित्र टुक्रिएका चट्टान अहिले व्यवस्थित हुँदा ससाना कम्पन आउँछन् । अहिले मिल्दै गएको अर्थमा लिनुपर्छ । पृथ्वीको सतहबाट सय किलोमिटरमुनिसम्मका टेक्टोनिक प्लेटहरू चलिरहन्छन् । प्लेट एक–आपसमा टाढा जाँदा, नजिक जाँदा र दायाँ–बायाँ खप्टिँदा सञ्चित शक्ति बाहिर निस्केर भूकम्प जान्छ । भूकम्पको क्षति भौगर्भिक अवस्थाले तय गर्छ । धेरै साह्रो वस्तुमा भूकम्पको घनत्व तीव्र हुन्छ र छिटो पास हुन्छ, जसका कारण क्षति कम हुन्छ । गिलो माटोमा धेरै हल्लिन्छ र गति कम हुन्छ, जसका कारण क्षति बढी हुन्छ । भूकम्प जानु मात्रै क्षति होइन । जापानमा ९ रेक्टर स्केलको भूकम्प जाँदा पनि क्षति हुँदैन, तर हैटीमा सन् २०१० मा सात रेक्टर स्केलको भूकम्प जाँदा दुई लाख २० हजार मानिसको मृत्यु भयो । कारण, मानिसले निर्माण गरेका संरचना हुन्, भूकम्प मात्रै होइन । नेपालका सन्दर्भमा काठमाडौंसहित सहरी क्षेत्रको संरचनाका कारण हामी जोखिममा छौँ । हामीले ९० सालमा गएको भूकम्पबाट शिक्षा लिन–दिन सकेनौँ । अहिले क्षतिको पछाडि त्यो पनि कारण हो । जस्तो, पराकम्पन साधारण प्रक्रिया हो भन्ने कुरा ९० सालमा भूकम्प झेलेको पिँढीले नयाँ पिँढीलाई भन्न सक्ने अवस्था भएन । त्यो अनुभव हस्तान्तरण नहुनु समस्या हो ।

अब डराउनुपर्ने कारण छैन, केवल सचेत हुनुपर्छ । हामीले वैशाख १२ भन्दा अगाडि सम्झिनुपर्छ । त्यतिवेला ठूलो भूकम्प जान सक्छ भनेर सभा, गोष्ठी, सेमिनार आयोजना भए । स्कुलका नानीहरूलाई सुरक्षित कसरी बस्ने भनेर अभ्यास गराइयो । त्यही अवस्थामा अब फर्किनुपर्छ । किनभने, हामी पहिलाभन्दा सुरक्षित छौँ ।[quote font_size=”16″ font_style=”italic” color=”#8cff4f” bcolor=”#90f24b” arrow=”yes” align=”right”][/quote]

किनभने, पूर्वानुमान थियो कि ठूलो भूकम्पले काठमाडौंमा एक लाख मानिसको मृत्यु हुन सक्छ, १० लाख घर क्षति हुन सक्छ । तर यो भइदिएन, राम्रो भयो । अब सबैले बुझ्नुपर्छ कि पाँच रेक्टर स्केलसम्म भूकम्पको पराकम्पन गएर फरक पर्दैन । डराउनु जरुरी छैन । तर, चर्केका घरमा बस्नुहुँदैन, बलियो घरमा सावधानीसाथ रहनुपर्छ । ००० चिलीमा सन् १९६० मा ९ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको थियो । अहिलेसम्मको ठूलो भूकम्प त्यही हो । नेपालमा विसं १२५५ मा पूर्वी नेपालमा ठूलो भूकम्प गयो । त्यसपछि एकैपटक १९९० मा ठूलो स्केलमा गयो । पश्चिम नेपालमा विसं १५०५ मा ठूलो भूकम्प गयो । त्यसपछि यसपालि गयो । त्यसकारण भूकम्प निश्चित वर्ष र आकारमा जाँदैन भन्ने कुरा बुझ्नुपर्छ । अहिलेसम्म जसरी गएको छ, त्यसको विश्लेषणका आधारमा व्याख्या हुँदै आएको छ । करोडौँ वर्षदेखि पृथ्वीमा भूकम्प जाने प्रक्रिया चलिरहेको छ । तर, बढीमा दुई हजार वर्षदेखिको भूकम्पको सामान्य आँकलन हुँदै आएको छ । एक–दुई वर्षमा भूकम्प जान्छ वा जाँदैन भन्ने कुरा पत्ता लगाउने प्रविधिको विकास भइसकेको छैन ।

भूकम्पको शक्ति हरेक रेक्टर स्केलको ग्यापमा ३२ गुणा बढी हुन्छ । अर्थात्, एक रेक्टर स्केलको भन्दा दुई रेक्टर स्केलको शक्ति ३२ गुणा बढी हुन्छ । एकभन्दा तीन रेक्टर स्केलको शक्ति एक हजार गुणा बढी हुन्छ । तर, कम्पन गराउने शक्तिचाहिँ हरेक रेक्टर स्केलमा १० गुणा मात्रै बढी हुन्छ । वैशाख १२ पछि चार रेक्टर स्केलका पराकम्पन करिब एक सय ५० पटक गएका छन् । त्यसभन्दा मुनिका हजारौँ गएका छन्, जसलाई हामी गणना गर्दैनौँ । ००० वैशाख १२ मा भूकम्प आएपछि हामी खानी विभागको लैनचौरस्थित कार्यालय आयौँ । त्यसअघि हामी २४सै घन्टा कार्यालय बस्दैनथ्यौँ । ४ रेक्टर स्केल र माथिको भूकम्प गएमा संकेत दिने गरी मोबाइलमा अलार्म राख्ने व्यवस्था थियो । कार्यालय बन्द हुँदा पनि यहाँको कम्प्युटरमा ल्यापटपलाई कनेक्ट गरेर सतर्क अवस्थामा बस्ने गरेका थियौँ । मोबाइलमा घन्टी बज्ने सिस्टमका कारण घरैमा बसेर पनि भूकम्पको बारेमा प्रोसेसिङ गर्न सजिलो भयो । भूकम्पपछि हामी २४सै घन्टा कार्यालय बसेका छौँ । भूकम्पको शक्ति र कम्पन हेरिरहेका छौँ । हामीसँग यतिवेला २१ वटा भूकम्पमापन यन्त्र र दुईवटा भूकम्पमापन केन्द्र छन् । सन् १९७८ मा फूलचोकीमा पहिलो भूकम्पमापन स्टेसन राखियो ।

सन् १९८० मा दामन र ककनीमा थपिए । पाँच वर्षपछि गोर्खा र सिन्धुपाल्चोकमा थपिएर पाँचवटा स्टेसन भयो । ०४५ भदौ ५ गते उदयपुरलाई केन्द्र बनाएर भूकम्प आएपछि देशैभरि स्टेसन राख्ने कुरा सरकारी प्राथमिकतामा पर्‍यो । सन् १९९४ मा ताप्लेजुङ, रामेछापको ओडारे, उदयपुरको रमिते, दोलखाको जिरी, कास्कीको दानसिङ, पाल्पाको कोलडाँडा, प्युठान, सुर्खेतको हर्रे, रुकुम, डोटी, बैतडी, बझाङ गरी १२ वटा स्टेसन थपियो । सन् १९९७ मा कर्णालीमा बाँधका विषयमा अध्ययन गर्ने तयारी चलिरहेका वेला कैलाली, बर्दिया–सुर्खेत सिमाना, सुर्खेतको पुस्मा र दैलेकको गाईबान्नामा चारवटा स्टेसन थपियो । अहिले रुकुम पश्चिमको डाटा सुर्खेतले तथा प्युठान र पूर्वका डाटा काठमाडौंको राष्ट्रिय भूकम्पमापन केन्द्रले हेरिरहेको छ । सुर्खेतको मापन केन्द्र डिजिटलाइज भएको छ, काठमाडौंको आगामी डिसेम्बरसम्म डिजिटलाइज गर्ने तयारी छ । वैशाख १२ गतेको भूकम्प २१ वटै स्टेसनबाट नापियो । मैले आइफोनबाट गुगल अर्थको नक्सा हेरेर गोर्खाको बारपाकआसपासमा भूकम्पको केन्द्र भएको जानकारी गृह मन्त्रालयमा सुरुमा दिएँ । –

सम्बन्धित खबरहरु

दुर्घटनामा ४ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७