आचार्यका कारण राहत आउने भयो

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २७ ब‌ैशाख, २०७२

आचार्यका कारण राहत आउने भयो

अहिंसा यात्राका क्रममा जैन समाजका सर्वोच्च तथा सम्माननीय व्यक्ति आचार्य महाश्रमण काठमाडौंमा रहेका वेला गोरखाको बारपाकलाई केन्द्र बनाएर विनाशकारी भूकम्प गयो । भूकम्पले जनधनको ठूलो क्षति गरेपछि विभिन्न व्यक्ति र समूह उद्धार तथा राहत संकलनमा लागे ।

जैन धर्मावलम्बीका गुरु आचार्य महाश्रमण त्यतिवेला काठमाडौंमै थिएँ । उनी बसेको नक्सालको बालमन्दिर भवन भत्कियो । तर, त्यहाँ रहेका कसैलाई केही भएन । आफू र आफ्ना अनुयायीलाई केही नभए पनि आचार्य श्रमणले आफूसँग भएको समूहलाई उद्धार र राहत वितरणमा सरिक रहन निर्देशन दिए । उनको निर्देशनपछि भारतसहित विश्वभरि रहेका तेरापन्थ समाजका सदस्य नेपालका निम्ति सहयोगी हात बढाउन उत्सुक भए ।

आचार्य महाश्रमणलाई नेपालमा बसोवासको व्यवस्थापन गर्न बनेको आचार्य महाश्रमण प्रवास व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष मोतीलाल दुगड भन्छन्, ‘तेरापन्थ प्रोफेसनल सोसाइटीको एम्बुलेन्स र मोबाइल अस्पताल काठमाडौंमै थिए । त्यसैवेला भुइँचालो गयो । त्यही दिनदेखि राहतको काममा सबै खटिए । उनीहरूले धेरै मानिसको ज्यान बचाउन सहयोग गरे । उनीहरूसँग सानो ल्याबसहितको मिनिअस्पताल नै थियो ।’

सेना र प्रहरीको आग्रहअनुसार भूकम्पप्रभावित धेरै ठाउँमा उद्धार र राहत वितरणमा सहभागी भएको बताइरहँदा दुगडको मुहारमा सन्तुष्टिका रेखा प्रस्टसँग देख्न सकिन्थ्यो । तर, भूकम्पका कारण भएको जनधनको क्षतिसम्बन्धी प्रसंग आउनासाथ उनी गम्भीर बन्थे । आचार्यको निर्देशनअनुरूप भारतका वरिष्ठ डाक्टर रातदिन नभनी उपचारमा सहभागी भएको उनले बताए । जैन समाजमा आबद्ध भारतभरको जनशक्तिबाट चुनिएका व्यक्ति राहत कार्यमा सहभागी भएको उनको जिकिर थियो ।

जैन धर्मावलम्बीको तेरापन्थ महासभा नाम गरिएको एउटा निकाय छ । यो जैन धर्मावलम्बीको छाता संगठन हो । यसका धेरैजसो पदाधिकारी राहतसम्बन्धी काममा काठमाडौं आएका थिए । सो संगठनमा जैन विश्व भारती, अखिल भारतीय महिला मण्डल, अखिल भारतीय युवा परिषद्जस्ता धेरै संगठन आबद्ध छन् । यी सबै मिलेर विभिन्न स्थानमा राहत सामग्री वितरण गरिरहेको दुगड बताउँछन् । महासभाबाट करिब एक करोड ५० लाख रुपैयाँबराबरको राहत सामग्री वितरण गर्न बुधबारबाट सुरु गरिएको उनी बताउँछन् ।

महासभाले राहत वितरणपछि भत्किएका संरचना बनाउने र पुनस्र्थापनाको क्षेत्रमा पनि काम गर्ने योजना बनाएको दुगडको भनाइ छ । उनी भन्छन्, ‘अहिले हामी मुम्बई, दुबई, लन्डनलगायत सहरमा रहेका हाम्रो समाजका व्यक्तिहरूसँग सम्पर्कमा गरिरहेका छौँ । हामी यो–यो काम गर्छौं र यसका लागि यति लाग्छ भनेर योजना पठाउने हो भने उताबाट रकम आउनु कुनै ठूलो कुरो होइन ।’ पीडितलाई तत्काल खाद्यान्न र पछि बिउ दिनुपर्ने दुगडको मान्यता छ । उनी थप्छन्, ‘बाहिर रहनुभएका साथीहरूले कुनै गाउँ अथवा विद्यालय पुनर्निर्माण गर्ने जिम्मा लिऊ भनिरहेका छन् । विश्वासिलो माध्यमबाट योजना ल्याउँदा आचार्य महाश्रमणकै कारण बीसौँ करोड रकम उद्दार तथा पुनर्निर्माणका लागि आउने भएको छ ।’ आफ्नो पहिलो यात्रामै नेपालमा समस्या आएको भन्दै आचार्य महाश्रमणले आफ्ना अनुयायीलाई भूकम्पपीडितका लागि काम गर्न आग्रह गरेको उनी बताउँछन् ।

नेपाल यात्राका क्रममा आचार्य महाश्रमणले रात बिताएका वा उहाँको यात्रासँग सरोकार राखेका संरचना भूकम्पका कारण भत्किए वा बिग्रिए त्यसलाई निर्माण गरिदिने विषयमा विचार–विमर्श भइरहेको प्रवास व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष दुगडको भनाइ छ । उनी भन्छन्, ‘आचार्यले रात बिताएका विद्यालयहरूसँग हाम्रो भावनात्मक सम्बन्ध छ । वीरगन्जबाट नेपाल प्रवेश गरेर पैदल काठमाडौं आउनुभएका उहाँले बाटोमा धेरैजसो रात विद्यालयमा बिताउनुभयो । त्यस्तै यहाँ आचार्य बालमन्दिरमा बस्नुभएको थियो । हाम्रो समाजका व्यक्तिहरू उहाँ जहाँ–जहाँ बस्नुभएको थियो, त्यो बिग्रिएको छ भने त्यसको जीर्णोद्धार गर्नु हाम्रो पहिलो धर्म हो भन्ने मान्यतामा हुनुहुन्छ ।’ आचार्य महाश्रमण नेपाल आउनु एउटा इतिहास भएकाले त्यससँग जोडिएका संरचना जोगाउनुपर्ने जैन महासभाको मान्यता रहेको उनी थप्छन् । त्यस्तै आचार्य महाश्रमण यहाँबाट विराटनगर जाने हुनाले बाटोमा जहाँ बस्ने निश्चय भएको छ, ती विद्यालय भत्किएको भए पहिलो प्राथमिकताका साथ निर्माण गर्ने तयारी भएको दुगडको भनाइ छ ।

सम्बन्धित खबरहरु