लास पुरिएकै ठाउँमा बास

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २७ ब‌ैशाख, २०७२

२७ वैशाख, काठमाडौं ।गत साउनमा भीषण पहिरो जाँदा उठिबास भएका जुरेका सयौं पीडित विनाशकारी भूकम्पका कारण झन् अलपत्र परेका छन्। एक सय ५० भन्दा बढीको ज्यान लिने गरी गएको पहिरोले घरबास बगाएका जुरेका बासिन्दा भूकम्पपछि शव पुरिएकै ठाउँमा बास बसिरहेका छन्।

kuber-giri-housw
जंगलमा बनाएको छाप्रोसमेत भूकम्पले भत्काइदिएपछि शव पुरिएको पहिरो र बगरमा पाल र प्लास्टिक टाँगेर रात कटाइरहेका छन्। सिन्धुपाल्चोकमा भूकम्पले ध्वस्त बनाएका बस्ती हेर्न सोही बाटो हुँदै दिनहुँ मन्त्री, दलका नेता, समाजसेवी र विदेशी गाडीमा हुइँकिन्छन्। तर, जुरेका पीडित बासिन्दाले बाँच्नका लागि गरेको कष्टमा कसैको ध्यान जान नसकेको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘पहिले हामी भत्किएकै छाप्रोमा प्लास्टिकले ओत लगाए बसेका थियौं, त्यहाँ कोही पनि गएन। कसैले सहयोग गर्ला कि भनेर यहाँ आएर दु:ख खेप्न थालका हौं’, कलेजोको क्यान्सरबाट थला परेका पीडित मंगले तामाङले अन्नपूर्णसँग भने, ‘रोएर बस्दा पनि सबैले हेरेर हाम्रो फोटोमात्र खिचेर जान्छन् तर तिमीहरूलाई के आवश्यक छ भनेर कसैले सोध्दैनन्।’

मंगलेले शुक्रबार यस्तो दु:खेसो गरिहँदा केही नेताका गाडी त्यही बाटो हुँदै बाह्रबिसेतर्फ हुइँकिरहेका थिए। अमेरिकामा बस्ने भारतीय नागरिक हतारहतार उनीहरूसँग फोटो खिचाएर चुपचाप दौडिए।

कतिपय भारतीय नागरिकले अर्धनग्न अवस्थामा अलपत्र परेका पीडित बालबालिकासँग ‘सेल्फी’ खिच्नसमेत च्याए। गत साउनमा गएको पहिरोले मंगलेको घर, गाईभैंसी र बारीसमेत बगाएको थियो।

पहिरोमा हराएका सयौं स्थानीयलाई खोज्न नसकिएपछि सरकारले मृत घोषणा गरेको ठाउँमाथि नै उनीहरूले रात बिताइरहेका छन्। पहिरोमा चारजना आफन्त गुमाएका मंगलेले नौ महिनामा परिवारलाई ओत लाग्ने एउटा छाप्रो बनाएका थिए। त्यही छाप्रो पनि भूकम्पले भत्काइदियो।

छाप्रो भत्किँदा उनका दुईवटा बाख्रासमेत मरे। ‘गाउँलेलाई पहिरोले थिचेर लग्यो, हामीलाई पीडाले थिचिरेहको छ। सबै रित्तिँदा पनि विपत्तिले हामीलाई अझै छोडेको छैन’, उनले भने, ‘मेरोभन्दा बालबच्चाको पीर छ, म त यसै पनि मर्छु। डाक्टरले क्यान्सर भएको छ भन्छन्। उपचार गर्ने पैसा पनि छैन।’

पहिरोमाथि त्रिपाल टाँगेर बस्न थालेपछि अन्य ६० परिवार पनि उनकै आसपासमा बस्न थालेका छन्। सुरक्षित बस्ने ठाउँ नहुँदा एकै ठाउँ १७ जनासमेत बस्न बाध्य भएको पीडित जूनमाया तामाङले बताइन्। भूकम्पको सानो धक्काले पनि पहिरोमा अड्किएका ढुंगा खसेर थिचिने डर छ उनीहरूलाई।

‘पहिरोले सखाप पारेपछि बजारमा गएका थियौं। बजारियाले हामीलाई हेला गरे। खानेपानीसमेत दिएनन्’, पीडित ७२ वर्षीया माइली तामाङले भनिन्, ‘हामीले के बिगारेका थियौं र? बिगारेको त हामीलाई पहिरो र भुइँचालोले हो।’

माइलीको १३ जनाको परिवार अहिले एक छाक खाएर बस्न बाध्य छ। पहिरोपीडित स्कुले बालबालिकाको अवस्था पनि दयनीय छ।

‘बस्नै कतै ठाँउ छैन। पहिरोले मान्छे पुरेको ठाँउ हो यो, यही ठाउँ नै हाम्रो एउटामात्र विकल्प बन्यो’, ३२ वर्षीय मोहन श्रेष्ठले भने, ‘सरकारी राहत अहिलेसम्म आएको छैन।

सम्बन्धित खबरहरु