आगामी शुक्रवारसम्म भूकम्पबाट विस्थापित भएकाहरुको पुनःस्थापनाको कार्यक्रम सरकारलाई बुझाउने

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २९ ब‌ैशाख, २०७२

Gobinda-Pokhrelजनबोली २९ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलले आगामी शुक्रवारसम्म भूकम्पबाट विस्थापित भएकाहरुको पुनःस्थापनाको कार्यक्रम सरकारलाई बुझाउने बताएका छन ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले मनसुन आउनु अघि नै अस्थायी बासस्थानको ब्यवस्था गर्न लागिएको उल्लेख गर्दै पछि पनि प्रयोग गर्न मिल्ने स्थानीय साधन स्रोतको प्रयोग गरी १०–१२ हजार रुपैयामा बन्ने अस्थायी बासस्थान बनाउने योजनामा रहेको खुलाए ।

साक्षात्कारमा डा.पोख्रेलले अहिले सबै सहयोगी विदेशी विज्ञहरुसँग बसेर आफूहरुले भावी योजनाको विषयमा छलफल गरिरहेको र यसलाई विदेशीहरुले पनि सह्राना गरेको भन्दै अहिलेलाई यातायातको ब्यवस्था भएको ठाँउमा जस्ता पाता र नपुगेका ठाँउमा टेन्टको ब्यवस्था गर्ने योजना भएको सुनाए ।

दशैतिर मात्र स्थायी संरचना निर्माणको योजना तयार हुने भन्दै जेठभित्रमा दीर्घकालीन खाका बनाएर अन्तर्राष्ट्रिय समूदायलाई खाका दिएर जेठ मसान्तसम्ममा दातृ निकायहरुको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने उनले जानकारी दिए ।

पोख्रेलले अहिलेलाई स्वास्थ्य, शिक्षा, कृषि र अस्थायी बसोवासको ब्यवस्थाको लागि योजना बनिरहेको जानकारी दिँदै योजना बनेपछि गाँउ गाँउमा एकै खाले नक्सा पठाएर २–४ दिनभित्रमै बन्ने घर बनाउने तयारी रहेको सुनाए ।

स्थायी बसोवासको निर्माणमा सरकारी सेवालाई जनतामा पुग्न सहज हुने गरी छरिएर रहेका बस्तीहरुलाई एकीकृत रुपमा उपयूक्त स्थानमा विकास गर्ने सोच रहेको भन्दै अहिले त्यसका लागि क्षतिको पूर्ण विवरण र एकीकृत बस्ती विकासको लागि उपयूक्त स्थानको तथ्याङक लिने काम भईरहेको बताए ।

प्रारम्भिक तथ्याङक अनुसार भूकम्पबाट नेपालको कुल ग्राहस्थ उत्पादनको ३० प्रतिशतसम्म अर्थात ७ खर्व क्षति भएको अनुमान गर्दै पाँच प्रतिशतको अनुमान गरिएको आर्थिक बृद्धिदर समेत घट्ने अनुमान ब्यक्त गरे ।

पोख्रेलले अहिलेसम्म घोषणा भएका विदेशी सहयोग प्रतिबद्धता मात्रै भएको र सरकारलाई भुटान र एसियाली विकास बैंक बाहेक कतैबाट पनि पनि रकम प्राप्त नभएको जानकारी पनि दिए ।

सम्बन्धित खबरहरु