भूकम्पले घर सबै क्षतिग्रस्त, त्रिपालसमेत नपाएर खुला आकाशमा बस्दै

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २९ ब‌ैशाख, २०७२

DSC00104जनबोली २९ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पबाट धादिङ–८ वेनिघाटका दिनेश कँडेलको घर बस्न नमिल्ने गरी चर्किएको छ । उनको परिवार अहिले पनि त्रिपालमुनि बस्दै आएको छ ।

तर कँडेल भने आफूलाई भूकम्पको पीडा हुँदाहुँदै आफूभन्दा पीडितको घाउमा मलहम लगाउन सहयोगमा जुटेका छन् । कँडेलले विभिन्न सङ्घसस्था र आफ्नोतर्फबाट समेत १४ लाखबराबरको राहत साम्रगी सहयोग गरेका छन् ।

इटलीमा रहेको हनुमुन अन्लुस नामक संस्था र कोअपे्रटिभ युथ अर्गनाइजेसन नेपालको संयुक्त सहयोगमा गोरखाका नाम्जुङ, हङ्सपुर गाविस र धादिङको बेनिघाट गाविसमा चामल, चिउरा, चाउचाउ, नुन, तेल, बिस्कुट, त्रिपाल, कम्बललगायतका सामग्री वितरण गरिएको छ ।

“अहिले सबैलाई पीडा परेको छ यस्तो समयमा कम पीडा परेको व्यक्तिले धेरै पीडा परेको व्यक्तिलाई सहयोग गर्नु आवश्यक छ सबैले आ–आफ्नो स्थानबाट सकेको सहयोग गरौँ यो नै सबैभन्दा ठूलो मानवीय धर्म हो”–कँडेलले भने ।

गोरखा नाम्जुङ–३ का भूकम्पपीडित चेतनारायण सुवेदीले अहिलेसम्म सरकारका तर्फबाट राहतको महसुस गर्न नपाए पनि विभिन्न सङ्घसंस्था र व्यक्तिले सहयोग गर्दै आएको बताए ।

“भूकम्पले घर सबै क्षतिग्रस्त भएको छ, एउटा त्रिपालसमेत नपाएर खुला आकाशमा बस्दै आएका छौँ, राहत त विभिन्न सङ्घसंस्था दिएका छन्, सरकारले कम्तीमा एउटा बस्ने बासको व्यवस्था मिलाइदिए हुन्थ्यो”–उनले भने ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ४ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७