भीरमा चोक्टिएको जनताको शव प्रहरीले यसरी बर्दीमा पोक्याएर उठाए

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार ७ जेठ, २०७२
चितवन – मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको चण्डिभञ्याङ गाविस– ५ स्थित कालीखोला भन्ने ठाउँमा पहिरोले बगाएर भीरमा अड्काएको एक व्यक्तिको शव सशस्त्र प्रहरीले बुधबार कष्टपूर्वक निकालेको छ ।

सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोलीले र्‍याप्लिङ्ग र क्लाइम्बिङ्गको विधिबाट भीरमा अड्किएको चण्डिभञ्याङ– ५ का ५० वर्षिय मंगले चेपाङको शव निकालेको हो ।

पहिरोले बगाएर मंगलेको मृत्यु भएको जानकारी पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक टेकबहादुर कटवालको कमाण्डमा टोली खटिएको थियो ।

टोलीका सशस्त्र प्रहरी जवान डिल्ली भट्टराईले साहसिक ढंगले र्‍याप्लिङ्ग, क्लाइम्बिङ्ग गर्दै भीरमा पुगेर ढुंगामा अड्किएको शव बिस्तारै तानेर काँधमा राखी  ल्याएका थिए ।

मंगलेको शव सडकबाट करिब एक सय मिटर तल तथा त्रिशुली नदी किनारभन्दा केही माथि भीरमा ढुंगाको च्यापमा अड्किएर खुट्टा मात्रै देखिएको थियो ।

त्यस ठाउँमा मंगलबार राति करिब ११ बजेतिर पहिरो गएको थियो । त्यसपछि उक्त ठाउँमा स्काभेटरको मद्दतले पहिरोलाई आंशिक रुपमा पन्छाएर बाटो खोलिएको थियो ।

बुधबार बिहान पुनः उक्त पहिरो पन्छाउने क्रममा माथिबाट आएको पहिरोले मंगलेलाई बगाएको थियो । सशस्त्र टोलीले करिब पौने घण्टाको प्रयासपछि उक्त भीरबाट मंगलेको शव निकालेको हो । सशस्त्रको टोलीले मंगलेको शव स्थानीय प्रहरीलाई बुझाएको छ ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७