न आत्तिऔं, अर्को महाभूकम्प जांदैन – भूकम्पमा पिएचडी गर्ने पहिलो नेपाली डा. पौडेल

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ८ जेठ, २०७२
dr.prarajuli

गत शनिवारको महाभूकम्पपछि बिहिबारसम्म पनि लगातार भूकम्पका कम्पनहरु आइरहँदा आम जनमानसमा फेरी पनि ठूलो भूकम्प आइ पो हाल्छ कि भन्ने त्रास कायमै रहेको छ । खासगरी केही भारतीय टिबी च्यानलहरुले फेरी भूकम्प आउन सक्ने आशयका समाचार प्रसारण गरेपछि यस्ता हल्लाले त्रास फैलिन मद्धत पु¥याएको थियो । तर भूकम्पविद्हरुले भने अर्को महाभूकम्प कुनै पनि हालत नआउने भएकोले सर्वसाधारणलाई नआत्तिएर सतर्ककताका साथयस बस्न सुझाव दिएका छन् । भूकम्पसम्बन्धि गहिरो अध्ययन गरेका कतिपय विज्ञहरुले ससाना कम्पनहरु आउनु सामान्य प्रक्रिया भएको तर ठूलो विनाशकारी भूकम्प भने नआउने भनिरहेका छन् ।
नेपालमा भूकम्पसम्बन्धी विद्यावारिधि गर्ने पहिलो व्यक्ति प्राद्यापक हरिहर पौडेल पनि भूकम्पका बारेमा आम जनतामा हल्ला बढी फैलिएकोले यी हल्लाहरुको पछि नलाग्न सुझाव दिनुहुन्छ । पराजुलीले सन् २००८ मा भारतको बनारस हिन्दू विश्वविद्यालयबाट ‘नेपालको भूकम्पीय बनावट र भूकम्पीयता’ विषयमा विद्यावारिधि गर्नुभएको हो । महाभूकम्पका कारण भूकम्पबाट हुने क्षति न्यूनीकरण र भूकम्पबाट सिर्जित मनोवैज्ञानिक त्रास कसरी हटाउन सकिन्छ भन्ने विषयमा उहाँसँग चितवन पोष्ट दैनिकले लिएको अन्तर्वार्ता यहाँ साभार गरिएको छ । 
अहिले भूकम्पबाट मानिसहरु अत्यन्तै त्रसित छन्, घरमै नसुत्ने र सामान्य धक्कामा पनि डराइरहने । हरेक ठूला भूकम्पहरुमा के यस्तै त्रसित हुनुपर्ने हो ?

— भूकम्प प्राकृतिक प्रकोप हो । पूर्वजानकारीबिना यो आउँछ । केही क्षणमै यसले ठूलो क्षति पु¥याउँछ । अहिले भर्खरै नेपालमा असी वर्षपछि ठूलो भूकम्प र त्यसपछिका प्रकम्पनहरु निरन्तर जानेक्रम रहिरहेकाले मानिसहरु त्रसित हुनु स्वाभाविक हो । मानिसलाई भूकम्पले नभई मानिसले नै निर्माण गरेको भवनले थिचेर घाइते बनाउने तथा मार्ने हो । त्यसैले, घरमा सुत्न डर लाग्नु, सामान्य धक्कामा पनि ठूलो भूकम्प जान लागेझैँ आत्तिनु मनोवैज्ञानिक कारण पनि हो । साँच्ची नै ठूला भूकम्पहरुमा मानिस सावधान हुनुपर्छ ।

त्यसो भने अहिले घर नै छाडेर खाली ठाउँ तथा सडकहरुमा सर्वसाधारणहरु गएर बसेको देखिन्छ । के त्यो उचित हो त ?

— ठूलो भूकम्प आउनेबित्तिकै त्यसले भवनमा पु¥याएको क्षतिको राम्रोसँग जाँच–विचार गरेरमात्रै घरमा बस्नुपर्छ । अहिले भूकम्प जानेक्रम निरन्तर भैरहेकाले अझै ठूलो भूकम्प आउँछ कि भन्ने मनोवैज्ञानिक त्रास फैलिएको देखिन्छ । सावधान हुनु त राम्रो हो, तर भूकम्प गएको ७२ घन्टा भैसकेको अवस्थामा त्यसका पराकम्पहरु पनि साना र संख्यात्मक रुपमा घट्दै गएकाले अब घरमा फर्कनु उचित नै हुन्छ । ३। गएको शनिबार गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गयो । त्यसपछि लगत्तै शनिबार नै ६ दशमलव ५ को एउटा र साना भूकम्पहरु सयौँ गए । पछि आइतबार कोदारीलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गयो ।

 यो एकपछि अर्को ठूला भूकम्प जानुको कारणचाहिँ के हो ?
— हिमालय क्षेत्रको निर्माण दुई ठूला–ठूला टेक्टोनिक प्लेट (इन्डियन प्लेट र युरेसियन प्लेट) को निरन्तर टकराव र इन्डियन प्लेट युरेसियन प्लेटको तलतर्फ घुस्दै जानुका कारणले भएको हो । यसको प्रभावले यस क्षेत्रमा लाखौँ वर्षपहिले जमिनमा ठूला–ठूला चिराहरु परे, जसलाई फल्ट भनिन्छ । निरन्तर दुई ठूला प्लेटको घर्षणका कारणले ठूला मात्रामा शक्ति जमिनमुनि सञ्चय हुन पुग्यो । त्यही शक्ति समय–समयमा जमिनको कमजोर भागबाट बाहिर आउँछ । यसलाई हामीले भूकम्प भन्दछौँ । यसले पृथ्वीमा कम्पन ल्याउँछ । यो प्रक्रिया हजारौँ वर्षदेखि निरन्तर चलिरहेको छ । नेपालमा पनि सन् १८३३ र १९३४ (नब्बे साल) मा विनासकारी ठूला भूकम्पहरु गए । अहिले असी वर्षपछि उस्तै ठूलो भूकम्प गत शनिबार गयो, जसले ठूलो जनधनको क्षति पनि गरायो । ठूला भूकम्पहरु जाँदा धेरै मात्रामा जमिनमुनिको सञ्चित शक्ति बाहिर आउँछ । साथै, ठूला भूकम्पपछि सयौँ पराकम्पहरु जान्छन् । यो यहाँमात्रै नभई अन्य ठाउँमा ठूला भूकम्प जाँदा पनि हुने क्रम हो । अहिले भएको पनि यही हो । नब्बे सालमा पनि ६ दिनसम्म पराकम्पहरु गएको लिखित रेकर्डहरु छन् । गत शनिबार र आइतबार गएका भूकम्पहरु एउटै भूकम्पीय श्रोत (सेस्मोजोनिक सोेर्स) अन्तर्गत पर्दछन् । यी भूकम्पहरु उद्गम बिन्दुका हिसाबले टाढाजस्ता देखिए पनि तिनलाई उत्पादन गर्ने भौगर्भिक कारण एउटै हो । झन्डै पाँच सय किलोमिटरभन्दा पर सुदूरपूर्व मिरिकमा गएको भूकम्प स्थानीय फल्टसँग सम्बन्धित देखिन्छ । त्यसैले, यो अघिल्ला ठूला भूकम्पहरुकै निरन्तरता भने होइन । एक दिन फरकमा मिरिकमा गएको भूकम्पको नेपालमा गएका भूकम्पहरुबीच एकापसमा सम्बन्ध छैन ।

अहिले जनमानस बढी त्रसित हुनुका पछाडि अमेरिकन वैज्ञानिक र भारतीय मौसमविद्ले हवाला दिँदै आएका कुराहरुले हो भन्छन् । त्यसमा कत्तिको सत्यता छ ?

— हिमालय क्षेत्र र यसमा जाने भूकम्पहरुको अध्ययन हालसम्म सयौँ देशी–विदेशी अनुसन्धानकर्ताहरुले गरी थुप्रै शोधपत्र प्रकाशित गरिसकेका छन् । त्यस्तै, सन् २००१ मा चर्चित शोधपत्रिका ‘साइन्स’ मा हिमालय क्षेत्रमा थुप्रै आठ रेक्टर स्केलका भूकम्पहरु जान सक्ने गरी शक्ति सञ्चय भएको कुरा प्रकाशित भयो । यसलाई गम्भीर अध्ययन मानियो । सो अध्ययनमा हिमालयका प्रत्येक दुई सय किलोमिटर लम्बाइ एउटा महाभूकम्पको श्रोत हुन सक्ने दाबी गरिएको छ । यसपछि पनि थुप्रै शोधपत्रहरुले हिमालय क्षेत्रमा भूकम्पको जोखिम अत्यन्तै बढी भएको लेखेका छन् । नेपालमा प्रत्येक सय वर्षमा एउटा महाभूकम्प जान सक्ने भनी विभिन्न शोध अध्ययनहरुले देखाएका छन् । तर, हालसम्मको अध्ययनले कुनै पनि ठाउँमा कहिले र कत्रो आकारको भूकम्प जान्छ भन्ने पूर्वअनुमान गर्न सकिँदैन । भूकम्पको जोखिम बढ्नुको अर्थ अहिले नै अर्को भूकम्प आउँछ भन्ने होइन । हालकै सन्दर्भमा असी वर्षपछि ठूलो भूकम्प आएको हो । त्यसैले, अर्को ठूलो भूकम्प तत्काल जाने सम्भावना म निकै कम देख्दछु । तपाईंले सोध्नुभएअनुसार अमेरिकन वैज्ञानिक र भारतीय मौसमविद्का हवाला दिँदै तत्काल अर्को भूकम्प जाने भन्ने हल्ला शतप्रतिशत गलत छ ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले चितवनभन्दा लामो दूरीमा रहेको काठमाडौँआसपासका क्षेत्रमा चाहिँ किन ठूलो क्षति ग¥यो । गोरखाबाट नजिक मानिएको चितवन र यसआसपासका क्षेत्रमा क्षति कम हुनुको कारण चाहिँ के हो ?
— भूकम्पले गर्ने क्षति जमिनको बनावट र भवनको संरचनामा भर पर्छ । काठमाडौँ उपत्यका कुनै समयमा पोखरी थियो । त्यहाँको जमिन लेसिलो माटोयुक्त छ, जसमा भूकम्पको शक्ति बोकेर ल्याउने भूकम्पीय तरङ्ग पार भएर जान लामो समय लाग्छ । यसले गर्दा ठूलो मात्रामा शक्ति त्यस्तो जमिनमा अड्किन जान्छ । काठमाडौँ र आसपासका क्षेत्रमा बढी क्षति हुनुको मुख्य कारण यही हो । अर्कोतर्फ, क्षतिग्रस्त अधिकांश संरचनाहरु सयौँ वर्ष पुराना छन्, जसमा भूकम्प थेग्न सक्ने आधुनिक निर्माणशैली नभएकाले संरचना बढी भत्किएकाले जनधनको क्षति बढी भएको हो । मानिसलाई भूकम्पले नभई मानव निर्मित संरचनाले बढी क्षति गराउँछ । चितवन नयाँ बनेको सहर हो । यसमा व्यवस्थित बसोबासको इतिहास पाँच दशकमात्रै छ । त्यसैले, यहाँ बनेका भवनहरु तुलनात्मक रुपमा आधुनिक निर्माणशैली प्रयोग भएकाले पनि क्षति कम भएको हो ।
त्यसो हो भने सर्वसाधारणलाई भूकम्पले कसरी क्षति गर्छ भनेर चेतना जगाउन नसकिएको अवस्था हो त ?

— विसं १९९० सालको महाभूकम्पको सम्झना रहिरहोस् भन्ने उद्देश्यले प्रत्येक वर्ष माघ २ गते भूकम्प दिवस मनाउने गरिन्छ । सो दिवसमा भूकम्प आउँदा कसरी जोगिने, भूकम्पबाट सुरक्षित भवन कसरी बनाउनेसम्बन्धी जनचेतनाहरु जगाउने कार्य सरकारी तथा गैरसरकारी तवरबाट निरन्तर गरिँदै आइएको छ । तर पनि यो कार्य सहरी क्षेत्रमा मात्रै सीमित छ । यसले थोरै मात्रामा चेतनाको स्तर बढाए पनि पर्याप्त छैन । अर्कोतर्फ, भूकम्प आउँदा ठूलो जोखिम हुन्छ, ठूलाठूला समस्याहरु आउँछन् भनी जानकारी गराइरहँदा सर्वसाधारणले एउटा कथाका रुपमा मात्रै यसलाई लिने गरेको पाइन्छ । यदि यस्ता जानकारीलाई गम्भीरतापूर्वक लिइएको भए अहिलेको अवस्थामा मानिसहरु त्यति धेरै त्रसित हुनुपर्ने थिएन । साथै, भूकम्पसम्बन्धी जानकारी र अन्य सूचनाहरु सही तरिकाले जनमानसमा नपुगेकाले र विभिन्न प्रकारका भ्रमपूर्ण हल्लाहरुले जनमानसलाई अझ आतंकित बनाइरहेको देखिन्छ । त्यसैले, भूकम्पहरु सम्बन्धी सूचनाहरु आधिकारिक निकाय वा व्यक्तिबाट मात्रै सम्प्रेषण हुने कार्य कडाइका साथ लागू गरिनुपर्छ ।

भूकम्प आउँदा कसरी बच्ने र क्षति कम गर्न के गर्नुपर्छ ? 

— मुख्य रुपमा भवन भूकम्प प्रतिरोधात्मक बनाउनुपर्छ । धेरै मानिसहरु जम्मा हुने स्कुल, क्याम्पस, सरकारी कार्यालय, अस्पतालजस्ता संरचनाहरु अत्यन्तै मजबुत हुनुपर्छ, जसले क्षतिलाई कम गराउँछ । भवन निर्माणका क्रममा भूकम्प प्रतिरोधात्मक बनाउन नेपाल सरकारले भवन निर्माण आचारसंहिता बनाएको छ, जसलाई पूर्ण रुपमा लागू गरिनुपर्छ । अर्कोतर्फ, भूकम्प आउँदा भवनभित्र रहेका मानिसले आफूलाई कम चोटपटक लाग्ने ठाउँ जस्तै घरको बिमको तल, टेबुल वा खाटको तल बस्न सके सुरक्षित भइन्छ । बिजुलीको स्वीच अफ गर्ने, ग्यास बन्द गर्ने र कम्पन कम हुनासाथ बाहिर निस्की बिजुलीको लाइन चुडिँदा पनि नभेट्ने खुला ठाउँमा जानुपर्छ ।
 भूकम्प गैसकेपछि सरकार र गैरसरकारी संस्थाले गर्ने उद्धार र राहतका काम के–कसरी गर्दा व्यवस्थित हुन्छ ? — भूकम्पपश्चात् सबैभन्दा मह¤वपूर्ण कार्य उद्धार हो । भवनमा थिचिई बसेका मानिसलाई सकेसम्म चाँडो बाहिर निकाल्न सम्पूर्ण साधनश्रोतको व्यापक परिचालन गर्नु, घाइतेहरुलाई तुरून्तै उपचारका लागि अस्पताल पु¥याउनु, खुला आकासमा बस्नेहरुलाई पाल र खाद्य सामग्रीको पर्याप्त व्यवस्था हुनुपर्छ । क्षतिको लागत र तथ्याङ्क लिनु, मृत व्यक्तिको शव दाहसंस्कार गर्नु, फोहोर व्यवस्थापन गरी संक्रामक रोगहरुको नियन्त्रण गर्नु पहिलो दायित्व हुन आउँछ । अहिले उपत्यकाबाहिर विभिन्न जिल्लाका दुर्गम पहाडी इलाकामा पनि ठूलो क्षति भएको हुँदा ती ठाउँमा राहत सामग्री पु¥याउने र त्यहाँका घाइतेलाई सुगम ठाउँका अस्पतालमा पु¥याउने कार्य तदारूकताका साथ गर्नुपर्छ । यसका निम्ति सरकारी स्रोतसाधनमात्रै पर्याप्त नभएकाले गैरसरकारी तथा मित्रराष्ट्रहरुको सहयोग व्यवस्थित ढङ्गले यथेष्ट मात्रामा लिनु आवश्यक देखिन्छ । साथै, जनसमुदायलाई सही सूचना निरन्तर प्रवाहित गरिरहनुपर्छ, ताकि कुनै प्रकारको हल्ला वा मनोवैज्ञानिक त्रास फैलन नपाओस् ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७