पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ११ जेठ, २०७२
beni jomsom
११ जेठ, म्याग्दी ।म्याग्दीको राम्चे–९ काफलडाँडाको पहाड भत्किएर भगवती–२ बैसरीमा खसेको पहिरोका कारण आइतवार रातीदेखि हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने उक्त सडकको बैसरी खण्डमा करिब तीन किलोमिटर क्षेत्रमा पहिरोले क्षति पुर्याएपछि सवारीसाधन सञ्चालन हुन नसकेको म्याग्दी जिप तथा बस व्यवसायी समितिले जनाएको छ ।
पहिरोले सडक पुरेको र कालीगण्डकी नदी थुनिँदा केही ठाउँमा सडक भत्किएकाले चमेरेदेखि बेगखोलासम्म सवारीसाधन सञ्चालन गर्न नसकिने समितिका उपाध्यक्ष मोहन केसीले बताए ।

बेगखोलाभन्दा माथि रहेका गाडीलाई बेगखोलादेखि सञ्चालन गरेर यातायात सेवा दिइने उहाँले बताउनुभयो । मोटरसाइकल र साना सवारीसाधन बेग भगवती पिप्ले गलेश्वरको रुटबाट आवतजावत गर्न सक्ने जनाइएको छ ।

यसैबीच, नेपाली सेनाले अवरुद्ध सडक खुलाउन र कालीगण्डकी थुनिएको ठाउँबाट सुरक्षित रुपमा पानी बगाउने तयारी गरेको छ । इन्जिनियरिङ टोलीले सोमबार पहिरो र नदी थुनिएको क्षेत्रको अवस्थाको अध्ययन गरेपछि आवश्यक काम गरिने म्याग्दीस्थित इन्द्रबक्स गणका प्रमुख सेनानी मनोजकुमार सिलवालले जानकारी दिए ।

उनका अनुसार बैसरीमा थुनिएको कालीगण्डकी आफैं खुलेर बग्न थाले पनि पहिरो खस्ने क्रम नरोकिएकाले काम गर्न समस्या भएको छ । इन्जिनियरिङ टोलीले अध्ययन गरेपछि स्थानीय प्रशासनसँग समन्वय गरेर सडक खुलाउन तथा नदीको पानीलाई सुरक्षित रुपमा बगाउन जनशक्ति परिचालन गरिने सेनानी सिलवालले बताए । रासस

सम्बन्धित खबरहरु