Baburam bhattari123
तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा एकीकृत माओवादी नेता डा. बाबुराम भट्टराई १२ वैशाखको भूकम्पपछि व्यक्तिगत र संस्थागत योजनासहित उद्धार, राहत र पुनस्र्थापनामा खटिँदै आएका छन् ।

एमाओवादी पार्टी नेतृत्वमा ८ जेठदेखि ‘राहत र पुनस्र्थापनाका लागि सुरु भएको राष्ट्रिय श्रम अभियान–०७२’ को नेतृत्व गरी गोरखा गएका डा. भट्टराईले अभियानपूर्व नै विभिन्न जिल्लामा पुगेर उद्धार, राहत र पुनस्र्थापनाको काम गरिसकेका छन् । डा. भट्टराई भूकम्प प्रभावित जिल्लामा पुगे पनि गृहजिल्ला गोरखामा अझ बढी खटिएका छन् ।

भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार डा. भट्टराई १२ वैशाखपछि दिनरात उद्धार, राहत तथा पुनस्र्थापनाको काममा खटिएका छन् । १३ वैशाखमा भूकम्प प्रभावित गोरखा पुगेर उद्धार, राहत र पुनस्र्थापनाको काममा लागेका उनी १० जेठमा पनि गोरखामै थिए । आफैँसमेत इन्जिनियर रहेका भट्टराईले अबको बस्ती बसाइबारे पनि उत्तिकै परामर्श गरेका छन् । भट्टराईको स्वकीय सचिवालयका अनुसार जेठ १० मा उनी धादिङको कम्पर गाविस–३ मा वयोवृद्ध षडानन्द थपलियाको घर सफा गर्दै श्रम शिविरमा सहभागी भएका थिए ।

सोही दिन बेलुकी सोमबारको श्रम शिविरमा सहभागी हुन गोरखा पुगेका थिए । पूर्वप्रधानमन्त्री भट्टराईले सरकारी समन्वयमा राहत वितरण र पुनर्वासका लागि प्रयास गर्दै आएको उनको सचिवालयले जनाएको छ । डा. भट्टराईले ९ जेठमा गोरखाका भूकम्पपीडितलाई भेटेर अस्थायी आवास निर्माणका विषयमा छलफल गरेका थिए । त्यसैगरी ८ जेठमा उनले गोरखा नगरपालिका–४ मा रहेको शिवशक्ति प्राथमिक विद्यालयको पुनर्निर्माणको काम थाल्दै आफ्नो पार्टीले सुरु गरेको ‘राहत तथा पुनस्र्थापनाका लागि राष्ट्रिय श्रम अभियान–०७२’ को उद्घाटन गरेका थिए ।

६ जेठमा डा.भट्टराई भूकम्पपछि प्रारम्भिक राहत वितरण, विपत् व्यवस्थापन अवस्था र अस्थायी बसोबास तथा नयाँ बस्ती विकासको सम्भावनालगायत अध्ययन गर्न केही प्राविधिज्ञसहित उत्तरी गोरखा गएका थिए । वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु बारपाक, गुम्दा, लाप्राकलगायत स्थान अवलोकन तथा अध्ययनका लागि गएका उनले नयाँ बस्ती सम्भावनाबारे खाकासमेत कोर्ने योजना बनाएका छन् ।

बारपाकमै बास बसेका भट्टराईले पुरानै स्वरूप देखिने तर नयाँ प्रविधि प्रयोग गरेर भूकम्प प्रतिरोधात्मक बस्ती निर्माण गर्नुपर्ने बताए । भट्टराई सोही दिन लाप्राक पनि गएका थिए । ५ जेठमा उनले काठमाडौंमा रहेको एकीकृत विकास केन्द्रको कार्यालय पुगेर भूकम्पपश्चात नेपालका हिमतालको अवस्थाबारे जानकारी लिएका थिए । ४ जेठमा भूकम्पपछिको पिपत् व्यवस्थापनका विषयमा इन्जिनियर्स एसोसिएसनका पदाधिकारीलगायत वरिष्ठ इन्जिनियर, आर्किटेक, प्लानर, भूकम्पविद्सँग अन्तक्र्रिया गरेका थिए ।

२ जेठमा गोरखा नगरपालिकास्थित आहालेमा अस्थायी आवास निर्माण सुरु गरेका थिए । उनले राष्ट्रिय एकता, राष्ट्रिय सरकार र अधिकारसम्पन्न राष्ट्रिय नवनिर्माण प्राधिकरणमार्फत् अब नेपाललाई नवनिर्माणको अभियानमा लगिने बताएका थिए । सोही दिन भट्टराईले गोरखा नगरपालिकास्थित कट्टेलडाँडामा भूकम्पले पुर्‍याएको क्षति अवलोकन तथा पीडित जनतासँग संवाद पनि गरेका थिए । ट्युबमार्फत् त्रिशूली नदी तरेर पढ्न जाने गोरखाका चेपाङ समुदायका विद्यार्थीका लागि धादिङको मझिमटारमा स्थापना गरिएको अस्थायी छात्रावासको समेत भट्टराईले अवलोकन गरेका थिए ।

३० वैशाखमा उनले भूकम्पपीडित काठमाडौं गोलढुंगा (बैखु)को तामाङ बाहुल्य बस्तीमा अस्थायी आवास निर्माण सुरु गरेका थिए । २८ वैशाखमै भट्टराईले भूकम्पबाट सिर्जित विपत् व्यवस्थापनका लागि तत्काल प्रारम्भिक राहतस्वरूप पाल, त्रिपाल, खाद्यान्न व्यवस्था, लगत्तै अस्थायी बसोबास व्यवस्था र दीर्घकालीन रूपमा योजनाबद्ध नयाँ बस्ती प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका थिए । उनले सोही दिन चार जिल्लाका दुर्गम र अतिप्रभावित जिल्लाको भ्रमण गरे । भट्टराई सिन्धुपाल्चोकको घुम्थाङको नाघबुझे गाउँ र गोल्चेको नाम्फा, दोलखाको ओराङ गाउँ र सदरमुकाम चरिकोट, रसुवाको गतलाङ गाउँ र सदरमुकाम धुन्चे तथा नुवाकोटको सुन्दरादेवी पुगेका थिए । उनले पीडित स्थानीय, स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिसँग छलफलसमेत चलाएका थिए ।

२६ वैशाखमा भट्टराईले काठमाडौंमा बस्ने गोरखाका सबै राजनीतिक पार्टीका नेता–कार्यकर्ता, विभिन्न सामाजिक संघसंस्थामा आबद्ध र स्वतन्त्र व्यक्तिसँग छलफल गरेका थिए । उनले सोही दिन व्यवस्थापिका संसद्मा समेत विशेष सम्बोधन गरेका थिए । २५ वैशाखमा उनले भूकम्पबाट पीडितको उद्धारमा खटिने नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको कामको प्रशंसा गरे । महाभूकम्पबाट पीडितलाई राहत उपलब्ध गराउन भूमिका खेल्ने उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समुदायलगायत सहयोगीलाई पनि नेता भट्टराईले धन्यवाद दिएका थिए । उनले रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत सम्पूर्ण सञ्चार जगत्लाई धन्यवाद पनि दिएका थिए ।

डा. भट्टराईले २२ वैशाखमा ताङलिचोक, मकैसिङ, नाम्जुङ, घैरुङ, ताक्लुङ, बक्राङ, गोरखा नगरपालिका ११ वडाको स्याउलीबजार, तारानगर, क्षेत्र नं. २ को राहत वितरण केन्द्र चोरकाटे, खोप्लाङ, पालुङटार नगरपालिकाका विभिन्न क्षतिग्रस्त गाउँ निरीक्षण गरेका थिए । उनले आफूले अध्ययन गरेको अमरज्योति उच्च माविको पनि निरीक्षण गरेका थिए । सोही दिन सबै सरकारी निकायका प्रमुखसँग विपत् व्यवस्थापन सम्बन्धमा पनि भट्टराईले छलफल गरेका थिए । भट्टराईले रसुवा, नुवाकोट, दोलखालगायत जिल्ला पुगेर भूकम्पपीडितसँग भेट्नुका साथै काठमाडौंका विभिन्न अस्पतालमा पुगेर भूकम्पका घाइतेलाई भेटेका थिए ।

सम्बन्धित खबरहरु