अनलाईन बन्द गराएकोमा महासंघको गम्भीर आपत्ति

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ११ जेठ, २०७२

fnj-japanकाठमाडौं । गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि भूकम्पबारे विभिन्न समाचार लेखेर भ्रम फैलाएको आरोप लगउँदै प्रहरीले विभिन्न अनलाईनहरु बन्द गराएकोमा नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ ।

महासंघले विज्ञप्ती जारी गर्दै सरकारी निकायले विभिन्न बहाना बनाएर कानुन विपरित अनलाईनहरुलाई बन्द गराउने काम गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

महाभूकम्प र लगातार गइरहेको पराकम्पनका कारण उत्पन्न विषम परिस्थितिमा पनि अत्यन्तै जोखिम मोलेर नेपाली पत्रकार र पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका सञ्चारमाध्यमहरुमा भएको हस्तक्षेपको महासंघले विरोध गरेको छ ।

‘यस्तो अवस्थामा मिडियाका विषयवस्तुप्रति सबैको चासो रहनु स्वाभाविक हो । तर, यसै बहानामा संविधान तथा प्रचलित कानुनविपरित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरी गैरअख्तियार प्राप्त सरकारी निकायले शान्ति सुव्यवस्था कायम राख्ने बहानामा सम्पूर्ण आमसञ्चार माध्यमको निगरानी राख्नुको साथै कानुनले तोकेको प्रक्रियाबाहिर गई केही अनलाईन समाचार माध्यमहरु बन्द गराइएकोप्रति महासंघको गम्भीर ध्यानाकर्र्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

महासंघले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५ (२) ले प्रत्याभूत गरेको ‘कुनै श्रव्य, श्रव्य दृष्य वा विद्युतीय उपकरणको माध्यमबाट कुनै सामग्रीको प्रकाशन तथा प्रसारण गरे वा छापे वापत त्यस्तो सामग्री प्रकाशन तथा प्रसारण गर्ने वा छाप्ने, रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय, छापा वा अन्य सञ्चार माध्यमलाई बन्द, जफत वा दर्ता खारेज गरिने छैन’ तथा धारा १५ (४) ले प्रत्याभूत गरेको ‘कानूनबमोजिम बाहेक कुनै छापा, विद्युतीय प्रसारण तथा टेलिफोन लगायतका सञ्चार साधनलाई अवरुद्ध गर्न सकिने छैन’ भन्ने व्यवस्थाको समेत स्मरण गराएको छ ।

शान्ति सुव्यवस्था कायम राख्ने बहानामा आमसञ्चार माध्यमको निगरानी राख्नु न्यायोचित नभएको महासंघको ठहर छ ।

सम्बन्धित खबरहरु