7553_khum-Bhadur-Khadkaपार्टीको संस्थापन पक्षले सुशिल कोइराला नेतृत्वको सरकारलाई नै राष्टिय सरकारको स्वरुप दिनुपर्ने बताइरहेका बेला कांग्रेसका एक प्रभावशाली नेताले भने अबको सरकारको प्रधानमन्त्री केपी ओली हुने दावी गरेका छन् ।

वर्तमान सरकार कमजोर रहेको र यसप्रति विश्वास पनि धेरैको नभएको बताउँदै काँग्रेस नेता खुमबहादुर खड्काले काँग्रेस भित्रबाटै फेरि प्रधानमन्त्री हुने सम्भावना नरहेको बताए । संचारमाध्यामसँग कुरा गर्दै नेता खड्काले अबको सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीको सम्भावना बलियो रहेको बताए ।

एक प्रसङ्गमा नेता खड्काले कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशिल कोइराला व्यक्तिगत रुपमा पनि कमजोर रहेको बताए । उनले पार्टी सभापति हुँदा ‘म बुढो भए एक चोटीलाई सभापति बनाइदिनु पर्यो’ भनेर आग्रह गरेकोले एकचोटीलाई सभापति बनाइदिएको बताए ।

विपतीको यो बेला सरकारको नेतृत्व बलियो हुनुपर्ने बताए । वर्तमान सरकारप्रति जनताको तहमा विश्वास नदेखिएको भुकम्पले देखाएको उनले बताए । त्यसैगरी राष्टिय अन्तराष्टिय दाताहरुको पनि विश्वास नरहेको कुरा अहिले देखा परेको बताए ।

एक प्रसंगमा सरकारले दाताहरुलाई क्यास नै चाहियो भनेर भन्नु गलत भएको बताए । सरकारले पैसा देउ हामी बनाउछु भन्न नहुने बताउँदै उनले भने, ‘जापान, चीन वा अरु कुनै देशले भत्किएका गाउँ बनाइदिन्छु भन्छन् भने किन नदिने ? उनीहरुलाई दिनुपर्छ । यदि उनीहरुले बनाएको गुणस्तरहीन भयो भने उनीहरुको दोष हुनसक्छ । सरकारले हामीलाई पैसा देउ अनि बनाउँछु भन्न हुँदैन ।’ मन्त्रीहरुले विदेशी दातालाई सोझै पैसा मागेर पनि बिभिन्न आशंका उत्पन्न भएको बताए ।

उच्च पदमा रहेका बेला भ्रष्टाचार गरेको पुष्टि भइ जेल सजाय भोगेका नेता खड्का अहिले पनि कांग्रेसभित्र प्रभावशाली नै मानिन्छन् । साथै बिभिन्न शक्तिकेन्द्रहरुसँग उनको सम्बन्ध पनि दह्रो रहेको चर्चा गरिन्छ । खड्काको यो टिप्पणीलाई महत्वपूर्ण रुपमा लिइएको छ । कांग्रेसभित्र पनि कोइरालाले प्रधानमन्त्रीका रुपमा र पार्टी सभापतिका रुपमा निभाएको भूमिकामाथि धेरै प्रश्न र आलोचना भइरहेका छन् ।

सम्बन्धित खबरहरु