काठमाडौ । अबको करिब १ महिनापछि अर्थात भाद्र २४ (सेप्टेम्बर ९) का दिन नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वले नै रहस्यमय देश भनेको उत्तर कोरिया जाने भएका छन् ।

अन्तिम टुंगो नलागेपछि उनी त्यहाँका शासक किम जोङलाई भेट्न जाने विषयम कार्यक्रम तय भएको छ । एक महिना अघि असार २५ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसँग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योंग हकले केन्द्रीय कार्यालय पेरिसडाँडामा भेटघाट गरेर निम्तो दिइसकेका छन् । उनले निम्तो स्वीकार गरेको बुझिएको छ ।

भेटमा राजदूत हकले उत्तर कोरिया स्थापनाको ७०औं वर्षको उपलक्ष्यमा प्रचण्डलाई आगामी भाद्र २४ (सेप्टेम्बर ९) गते उत्तर कोरिया भ्रमणका लागि औपचारिक निम्तापत्र हस्तान्तरण गरे ।

यो निम्ता सत्तारुढ वर्कर्स पार्टी अफ कोरियाको तर्फबाट दिइएको थियो । सो पार्टीको नेतृत्व अहिले त्यहाँका प्रमुख नेता किम जोङ उनले गरेका छन् । निम्तापत्र ग्रहण गर्दै नेकपा अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उत्तर कोरियामा भ्रमण टोली पठाउन तयार रहेको बताएका थिए । तर आफू जाने वा नजानेबारे प्रचण्डले स्पष्ट केही भनेनन् ।

प्रचण्डले भेटमा पछिल्लो पटक कोरियन उपमहाद्विपमा भइरहेको तीव्र राजनीतिक तथा कूटनीतिक विकासक्रमप्रति खुशी व्यक्त गरे । यसले विश्वमा सकारात्मक सन्देश प्रवाह भइरहेको प्रचण्डको भनाइ थियो । भेटका क्रममा नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी थिए ।

राजदूत किम योंग हकले पाँच महिनाको अन्तरमा प्रचण्डलाई उत्तर कोरियाका भ्रमणका लागि गरेको दोस्रो निम्ता थियो । यसअघि उनले २०७५ माघ ७ गते प्रचण्डसँग भेटघाट गरका थिए । तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पुगेर भेट गरेका राजदूत उत्तर कोरियाका राजदूत किम योंग हकले नेपालमा बाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा प्रचण्डलाई बधाई दिएका थिए ।

त्यतिबेला नै राजदूत किम योंग हकले सेप्टेम्बरमा हुने उत्तर कोरिया स्थापनाको ७०औं स्थापना दिवसको आतिथ्यताका लागि प्रचण्डलाई निमन्त्रणा गरेका थिए । त्यसबेला राजदूतले नेपालमा प्रचण्डको नेतृत्वमा चलेको युद्धले एकात्मक सत्ताको अन्त्य र गणतन्त्रको स्थापना गरेकोमा खुसी व्यक्त गरेका थिए ।

जवाफमा अध्यक्ष प्रचण्डले बधाईका लागि धन्यवाद दिँदै कोरियन कम्युनिस्ट पार्टीको स्थापना दिवसमा पार्टीको तर्फबाट उच्च स्तरीय प्रतिनिधि मण्डल उपस्थित हुने जानकारी गराएका थिए । प्रचण्डले किम इल सुनको सङ्घर्षको गाथाबारे आफू जानकार रहेको बताउँदै नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माण, संविधान कार्यान्वयनमा दलहरू मिलेर सफलता हासिल गरेको जानकारी दिएका थिए ।

प्रचण्डसँग भेट गरेको चार दिनपछि अर्थात असार २९ गते उत्तर कोरियाका राजदूत किम योङ हकले गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटवार्ता गरे । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । राजदूत हकले गृहमन्त्रीलाई केही दिनमा हुन गइरहेको आफूहरूकोे राष्ट्रिय दिवसमा उत्तर कोरिया भ्रमणका लागि गृहमन्त्री थापालाई आग्रह गरेका थिए ।

भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरेका थिए । गृहमन्त्री थापाले देशभक्तिका लागि उत्तर कोरिया सबैका लागि प्रेरणाको स्रोत भएको बताएका थिए । उक्त भेटमा राजदूत हकले नेपाल र उत्तर कोरियाको सम्बन्धको चर्चा गर्दै यसलाई थप उचाइमा पु¥याउनुपर्नेमा जोड दिएका थिए । उनले नेपालमा रोजगारीकालागि आउने कोरियाली नागरिक प्रवेशाज्ञा प्रक्रिया झन्झटिलो हुँदा समस्या रहेको बताएका थिए । जवाफमा गृहमन्त्री थापाले सो प्रक्रिया सहज र सरल बनाउन तत्काल कदम चालिने बताएका थिए ।

उत्तर कोरियाले आफ्नो स्थापनाको ६९औं वर्षगाँठमा अमेरिकाविरुद्ध उभिन सक्ने र विश्वस्तरीय सैन्य सामथ्र्य भएको प्रदर्शन गरेको थियो । जहाँ विश्वका चर्चित मिडिया पुगेका थिए । त्यसबेला उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घमार्फत आफूविरुद्ध कडा प्रतिबन्ध लगाउने दिशामा अमेरिका अघि बढिरहे उसलाई ‘ठूलो पीडा र दुःख’ दिने चेतावनी दिएको थियो ।

विदेश मन्त्रालयद्वारा प्योङयाङमा जारी एउटा विज्ञप्तिमा उत्तर कोरियाको परमाणु विकासलाई उल्ट्याउन चाहने अमेरिका एउटा ‘रक्तपिपाशु जनावर’ भएको आरोप लगाइएको थियो ।

के प्रचण्ड उत्तर कोरिया जालान् ?
उत्तर कारियाली राजदूतले गरेका यी ३ भेटघाटको अर्थ उत्तर कोरिया नेपालसँगको सम्बन्ध अझै सुदृढ बनाउन चाहन्छ भन्ने देखिन्छ । नेपालको बामपन्थी सरकार हुँदा उत्तर कोरियाले सम्बन्ध थप राम्रो बनाउन चाहेको जस्तो देखिन्छ ।

नेकपाका अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नेपाल र गृहमन्त्री थापासँगको भेटले यस्तो सङ्केत दिने कूटनीतिक मामलाका जानकारहरू बताउँछन् । उत्तर कोरियाका तर्फबाट भएका यी दुई निमन्त्रणा प्रचण्डका लागि अर्थपूर्ण हुन सक्छन् ।

निम्तापत्र राजदूतले दिए पनि निम्ता चाहिँ उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको हो । सशस्त्र सङ्घर्षसहितको विद्रोही नेताको पृष्ठभूमि र कम्युनिस्ट व्यवस्थाका पक्षपाती प्रचण्डलाई संसारमै थोरै मात्र अभ्यास भएको उत्तर कोरियाली शासन व्यवस्थाले निमन्त्रण गरेर केही सन्देश दिएको पनि हुन सक्छ ।

यद्यपि प्रचण्ड आफू यो उत्तर कोरिया स्थापनाको ७०औं वर्षको कार्यक्रममा गएर विश्व राजनीतिमा नयाँ सन्देश दिन्छन् कि दिँदैनन् ? यो चाहिँ अहिले नै यकिन गर्न सक्ने अवस्था छैन् । केही समय अगाडि उत्तर कोरियाली शाकस किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको वार्ताले विश्वमञ्चमा किमको छविमै नाटकीय परिवर्तन आएको छ ।

किमको चीनसँगको निकटता त संसारकै लागि चासोको मुद्दा हो । एउटै कार्यक्रमका लागि दुई–दुई पटक औपचारिक निम्ता पाएका प्रचण्ड भदौमा उत्तर कोरिया जालान् ? प्रचण्डको निजी सचिवालयले प्रचण्ड भ्रमणका लागि इच्छुक छन् । यसको कूटनीतिक असरबारे जानकारी लिएपछि जाने–नजाने निर्णय हुने प्रचण्डको सचिवालय स्रोतले बतायो ।

तर, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रमणमा जाने निश्चित नभएको बताए । उनले भने, ‘पार्टी अध्यक्ष प्रचण्डलाई निम्ता आएको छ । अब नीतिगत रूपमा नजाने भन्ने त्यस्तो केही छैन । उहाँको समय मुख्य हो । समय मिल्यो भने नजाने भन्ने छैन ।’ पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ भन्छन् प्रचण्ड पनि जालान्

उत्तर कोरियाको नेपालसँगको सम्बन्ध राज्य, पार्टी र जनस्तरमा पनि रहेको बताए । अमेरिकी राष्ट्रपति ट्रमसँग कुरा गरेपछि तनाव खुकुलो भएको छ । केही समयअघि माधव नेपाल उत्तर कोरिया गएर फर्किनुभएको हो । अस्तिको भेट माधव नेपालले नै बनाएर प्रचण्डलाई भेट गराउनु भएको हो । नेताहरू बाहिर भ्रमण भनेपछि हुरुक्कै भएर जान्छन् अब प्रचण्ड पनि जालान् ।

नेताहरू खाली घुम्न मात्र जाने होइन । देश बनाउनका लागि लगानी ल्याउन पनि केन्द्रित हुन पर्छ । उत्तर कोरिया र नेपाल ठूला देशको हैकममा छन् । त्यसमानेमा दुवै देशको राज्यको सम्बन्ध राम्रो छ । पहिला पनि उत्तर कोरियाले नेपाललाई सहयोग गरेको थियो । उत्तर कोरियाको राज्य र अन्य कम्युनिस्ट पार्टीसँग भाइचाराको सम्बन्ध छ ।

उत्तर कोरिया त्यसलाई अझै बढाउन चाहान्छ । त्यसकारण पनि भेटघाट गरिरहेको हो । अलि बढी उत्तर कोरिया नेकपासँग सम्बन्ध सुमधुर बनाउन खोजेको देखिन्छ । त्यसका लागि पार्टीको अध्यक्ष प्रचण्ड चाहियो । राज्यसँग सम्बन्ध सुमधुर बनाउन राज्य चाहियो । उनीहरूले अन्य पार्टीसँग पनि सम्बन्ध बढाउँदै छन् ।

जनस्तरमा पनि सम्बन्ध बढाउँदै छन् । उनीहरूका विभिन्न संस्था, अध्ययन केन्द्रहरू पनि छन् । त्यसैले उनीहरूको बहुआयामिक सम्बन्ध छ । अहिले वातावरण सहज बनेको छ । त्यसैले राज्य र पार्टीसँगको सम्बन्ध बढाउन खोजेको देखिन्छ । दुई देशबीच उनीहरू पेसा, व्यवसायका लागि नेपाल आउन सहज होस् भन्ने हो ।

केही दिनअघि उक्त देशका दुई तीन जनालाई नेपालले फर्कायो । आवतजावतका लागि सहजता होस् भन्ने पनि एउटा कारण हो । नेपालले फाइदा लिन जान्ने हो भने राम्रै हुन्छ । उनीहरूकोबाट कृषि, उद्योगलगायतका क्षेत्रमा प्राविधिक सहयोग लिन सकिन्छ । त्यहाँ कृषिको राम्रो विकास छ ।

अब नेताहरू भ्रमणमा जाँदा दुई देशबीच आर्थिक गतिविधि बढाउने खालका कुरमा ध्यान दिनुपर्छ । उत्तर कोरियाबाट सीधै सामान नेपाल आओस् । नेपालबाट सीधै उत्तर कोरिया जाओस् । नेताहरू त्यता ध्यान दिनुपर्छ । खाली भ्रमण भन्ने घुम्ने आउने होइन ।

विभिन्न समयमा नेपाली पक्षबाट उत्तर कोरियाको उच्च स्तरीय भ्रमण भएको छ । प्रजातन्त्र स्थापनापछि तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आर्चायले उत्तर कोरियाको औपचारिक भ्रमण गरेका थिए । त्यस्तै पञ्चायतकालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि उत्तर कोरियाको औपचारिक भ्रमण गरेका थिए ।

तत्कालीन सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले २००८ सेप्टेम्बरमा उत्तर कोरियाको भ्रमण गरेका थिए । त्यस्तै उत्तर कोरियाका लागि गैर–आवासीय राजदूत रहेका डा. महेशकुमार मास्केले सन् २०१३ जुलाई २७ मा उत्तर कोरियामा भएको ‘विजय दिवस’को कार्यक्रममा सहभागी जनाउन उत्तर कोरिया गएका थिए । अन्य उच्च स्तरीय भ्रमणको कुरा गर्दा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न अवसरमा अनौपचारिक रूपमा उत्तर कोरियाको भ्रमण गरेका छन् । गत वर्ष विप्लव पार्टीका युवा नेताहरू पनि उत्तर कोरिया भ्रमणमा गएका थिए ।

तर, विवादित बनेको थियो माधव नेपालको भ्रमण
२०७४ साउन २७ गते पूर्वप्रधानमन्त्री एवम् तत्कालीन एमालेका एमाले नेता माधवकुमार नेपाल उत्तर कोरिया भ्रमणमा गए । त्यसबेला तत्कालीन एमाले अध्यक्ष ओलीले नेता नेपाललाई प्योङयाङ नजान सुझाएका थिए । तर नेपाल रोकिएनन् । २७ साउनमा प्योङयाङ प्रस्थान गरेका उनी ४ भदौमा स्वदेश फर्किए ।

ओलीले नेपालको भ्रमणबारे आफूलाई थाहा नभएको बताएका थिए भने भ्रमण सकेर फर्केपछि नेपालले भ्रमणको निम्तो पार्टीलाई नभई आफूलाई आएको बताएका थिए । भ्रमणका बेला नेपालसहितको टोलीले सर्वोच्च नेता किमसँग भने भेट गरेको थिएन । तर नेता नेपालको यो भ्रमण विवादमा तानियो ।

नेपालको उक्त भ्रमणबारे दक्षिण कोरिया र काठमाडौँस्थित अमेरिकी दूतावासले चासो राख्यो । उत्तर कोरियामाथि त्यसबेला संयुक्त राष्ट्रसङ्घले नाकाबन्दी थियो । तर उत्तर कोरियाको निम्तो मानेर नेता नेपाल प्योङयाङ गए । उच्च नेताको यस्तो भ्रमणले उत्तर कोरियाको मनोबल बढ्ने अनुमानका साथ नेता नेपाललाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भ्रमण नगर्न सुझाइएको तत्कालीन एमालेका नेताहरू बताउँछन् ।

पूर्वप्रधानमन्त्री समेत भइसकेका नेपाल कोरिया भ्रमणमा गएको भन्दै सर्वत्र आलोचना भएको थियो । ‘इन्टरनेसनल फेस्टिभल इन प्रेज अफ ग्रेटपर्सन्स अफ माउन्ट पिकेट’ नामक कार्यक्रममा सहभागी हुन माधवकुमार नेपालसँगै तत्कालीन माओवादी केन्द्रका नेता हरिबोल गजुरेल र एकनाथ ढकालसमेत नेपालसँगै प्योङयाङ गएका थिए ।

विपक्षी काङ्ग्रेसले पनि भ्रमणलाई लिएर आपत्ति जनाएको थियो । काङ्ग्रेस नेता विमलेन्द्र निधिले नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उत्तर कोरिया भ्रमण नेपालको परराष्ट्र नीति विपरीत भएको आरोप लगाएका थिए । पत्रकार सम्मेलन नै गरेर उनले नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र भएकाले उत्तर कोरियामाथि संयुक्त राष्ट्रसङ्घले नाकाबन्दी गरेको बेला नेता नेपालले गरेकोे उत्तर कोरियाको भ्रमण परराष्ट्र मन्त्रालयको सुझाव विपरीत भएको बताएका थिए ।

त्यसबेला काङ्ग्रेस नेतृत्वको सरकार थियो । काङ्ग्रेस नेता निधिले एमाले नेता नेपाल चिनियाँ राजदूतको सल्लाहमा उत्तर कोरिया गएको दाबी नै गरेका थिए । चीन र उत्तर कोरियाको साठगाँठ रहेको र चिनियाँ राजदूतकै सल्लाहमा पूर्वप्रधानमन्त्री नेपाल उत्तर कोरिया गएको उनले दाबी गरेका थिए । नेता निधिले भनेका थिए, ‘एमालेको राष्ट्रियता कताबाट सञ्चालित छ भन्ने यसबाटै प्रष्ट हुन्छ ।’

नेता निधिले सुराकी बनेर माधव नेपाल उत्तर कोरिया गएको समेत भन्न भ्याएका थिए । ‘माधवजी चीनको सुराकी भएर उत्तर कोरिया जान मिल्ने, प्रधानमन्त्रीले भारतमा केही बोल्न नुहँने हो र ?’ निधिले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिव्यक्ति विवादमा आएपछि त्यसको बचाउ गर्दै भनेका थिए ।

कतिपयले भ्रमणले माधवकुमार नेपालको कूटनीतिक सम्बन्ध प्रभावित हुने पनि बताएका थिए । त्यसबेला नेपालको भ्रमण रोक्न परराष्ट्र मन्त्रालयले पनि आग्रह गरेको थियो । नेपालको उत्तर कोरिया भ्रमणबारे सदनमा जानकारी गराउन राजपाले माग गरेको थियो । राजपाका सांसद अकबाल अहम्मद साहले नेता नेपालको भ्रमणबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका थिए । साहले संसदको विशेष समयमा माधव नेपालको भ्रमण लगत्तै उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको उल्लेख गरेका थिए । ‘के उहाँ हाइड्रोजन बम परीक्षण गराउन जानु भएको थियो ?,’ साहले प्रश्न गरेका थिए, ‘विश्वका अधिकांश राष्ट्रले नाकाबन्दी गरिरहेका बेला के मनसायले भ्रमण भयो ?’

संसदकै विशेष समयमा नेपाल मजदुर किसान पार्टीले भने उत्तर कोरयाले गरेको मिसाइल परीक्षणको समर्थन गर्नुपर्ने जनाएको थियो । नेमकिपाका प्रेम सुवालले साम्राज्यवादी आक्रमण विरुद्ध उत्तर कोरियाले गरको मिसाइल परीक्षणको समर्थन गर्नुपर्ने बताएका थिए ।

उत्तर कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्ध
नेपाल आफैँ संयुक्त राष्ट्रसङ्घको सदस्य हो । उत्तर कोरियासँग नेपालको पनि कूटनीतिक सम्बन्ध छ । नेपाल र जनवादी गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । नेपालको उत्तर कोरिया र दक्षिण कोरियासँग एकै दिन कूटनीतिक सम्बन्ध स्थापित भएको हो ।

कूटनीतिक सम्बन्ध स्थापना भएकै वर्ष नेपालमा उत्तर कोरियाले आवासीय दूताबास निर्माण गरेको थियो । उत्तर कोरियाको विश्वको ४८ देशमा दूताबास रहेका छन् । त्यसमध्ये नेपाल पनि एक हो । दक्षिण एसियामा उसको नेपालबाहेक भारत, पाकिस्तान, बङ्गलादेशमा मात्र आवासीय दूताबास छन् ।

तर हालसम्म नेपालको भने उत्तर कोरियामा दूताबास रहेको छैन । चीनका लागि नेपाली राजदूतले नै उत्तर कोरिया पनि हेर्ने गर्छन् । यसका लागि उनीहरूलाई उत्तर कोरियाको गैर आवासीय राजदूतको हैसियत प्रदान गरिएको हुन्छ । नेपाल र उत्तर कोरियाबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ । नेपालले लामो समयदेखि कोरियाली प्रायद्विपमा शान्ति र दुई कोरियाको एकीकरणको मुद्दालाई समर्थन गरेको छ ।

सहकार्य र सद्भावका कदम
सन् २००२ मा नेपाल–उत्तर कोरिया संसदीय मैत्री समूहको स्थापना भयो । व्यापार, सिंचाइ, संस्कृति र सूचनाको क्षेत्रमा नेपाल र उत्तर कोरियाबीच कैयौँ द्विपक्षीय सम्झौता पनि भएको छ । गौशालास्थित तिलगङ्गा आँखा अस्पतालले प्रत्येक वर्ष उत्तर कोरियाका आँखा विशेषज्ञहरूलाई तालिम दिने गरेको छ ।

सन् २००१ नोभेम्बरमा उत्तर कोरियाको राजधानी प्योङयाङ र काठमाडौँ महानगरपालिकाबीच भगिनी सहरको नाता स्थापित गरियो । त्यस्तै सन् २०१४ मा भक्तपुर र उत्तर कोरियाको अर्को सहर पिओङसाङबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ । उत्तर कोरियाद्वारा पछिल्लो समय विश्वमञ्चमा खुल्ने प्रयास

उत्तर कोरियालाई अङ्ग्रेजीमा ‘हरमिट नेसन’ पनि भनिन्छ । यसको अर्थ बाँकीबाट एक्लिएको राष्ट्र भन्ने हुन्छ । यसको लामो इतिहास छ । दुई कोरियाबीच सन् १९५० देखि तीन वर्षसम्म चलेको भीषण युद्ध सकिएपछि अमेरिकाले आफूले पराजित गर्न नसकेको राष्ट्रलाई एक्ल्याउने नीति लियो । त्यसमा उत्तर कोरियाका संस्थापक नेता किम जोङ सुङ्गले ‘झुच्छे नीति (आत्मनिर्भर नीति) ले पनि सघायो । यस नीतिमा उत्तर कोरिया हरेक कुरामा आत्मनिर्भर रहने रणनीति लिइएको थियो । बाँकीबाट एक्लिएपछि उत्पन्न असुरक्षालाई सामना गर्न उसले आफूलाई आणविक शक्ति राष्ट्र बनायो ।

उत्तर कोरियाका तेस्रो पुस्ताका नेता तथा वर्तमान राष्ट्रपति किम जोङ उनले आफ्नो राष्ट्रलाई लामो दूरीसम्म मार हान्न सक्ने अन्तरमहादेशीय व्यालेस्टिक मिसाइल सम्पन्न राष्ट्र बनाएपछि पहिलो एकलकाँटे रहने नीतिमा युटर्न लिएका छन् । यही वर्षको सुरुबाट प्रारम्भ भएको यस नीति अन्तर्गत किम आफूले ‘शत्रु राष्ट्र’ मान्दै आएको छिमेकी दक्षिण कोरिया र ‘परम शत्रु’ मान्दै आएको अमेरिकाका राष्ट्र प्रमुखहरूसँग वार्ता गरिसके ।

चासो चीनको
चीनसँग उत्तर कोरियाको सम्बन्ध सुदृढ छ । चीनले उत्तर कोरियासँग बलियो ऐतिहासिक सम्बन्ध कायम गरेको छ । सन् १९५० देखि ५३ सम्म चलेको कोरियाली युद्धमा चीनले उत्तरको पक्ष लिएको थियो र अमेरिका तथा दक्षिण कोरियाको हातबाट पराजित हुन उत्तरलाई जोगाएको थियो । चीन उत्तर कोरियाको महत्वपूर्ण व्यापारिक साझेदार पनि हो ।

पश्चिमले दशकौँसम्म लगाएको आर्थिक नाकाबन्दीमा बाँच्न उत्तरलाई चीनले सहज बनाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय मिडियाहरू नेपालका कम्युनिस्ट चीनसँग निकट रहेको दाबी गरिरहेका छन् । त्यसमा पनि तत्कालीन एमाले र माओवादी पार्टी एकतामा चीनको हात रहेको दाबी गर्दै आएका छन् । यस्तोमा नेपाल र उत्तर कोरियासँगको सम्बन्ध अझै सुदृढ होस् भन्नेमा चीनको पनि चासो हुन सक्छ । नेपालमा लामो सशस्त्र द्वन्द्वको नेतृत्वपछि शान्ति प्रक्रिया र पार्टी एकतासम्मको नेतृत्व गरेका प्रचण्डसँग विशेष सम्बन्ध राख्न खोजेको देखिन्छ ।

जसमा चीनले सहजीकरण गरेको हुन पनि सक्छ । उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीसँग एमाले, माओवादी, माले, नेमकिपालगायतका वामपन्थी दलहरूको भाइचारा सम्बन्ध रहेको छ । रातोपाटीको सहयोगमा

 

सम्बन्धित खबरहरु