काठमाडौं । काठमाडौंको काँडाघारीबाट अपहरित बालकको हत्या कसरी गरे भन्ने कुरा खुल्न आएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले गरेको पोष्टमार्टम रिपोर्टले अपहरणकारीले बालकको घाँटी थिचेर हत्या गरेको देखाएको छ । यसअघि आइतबार साँझ काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरणमा परेका थिए । तर, प्रहरीले बालकको खोजी थालेको ८ घण्टा वित्न नपाउँदै बालकको हत्या भएको थियो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरसँग कुरा गर्दै अपहरणकारीले बालकको घाँटी थिचेर हत्या गरेको पुष्टि भएको बताए । प्रहरी मुठभेडमा सोमबार भक्तपुरको डोलेश्वरमा मारिएका अपहरणकारी गोपाल तामाङ र अजय तामाङले बालकको क्रुर हत्या गरेको उनले बताए ।

प्रहरी स्रोतका अनुसार उनीहरुले खड्काको राति नै हत्या गरेका थिए । अपराध महाशाखा स्रोत भन्छ, ‘राति ११ देखि १२ बजेको समयमा बालकको हत्या भएको देखिएको छ ।’ हत्यापछि आफैं बस्दै आएको घरधनी भक्तपुरको ठिमी नगरपालिका – ९ स्थित श्याम लबटको नजिकै रहेको निर्माणाधिन घरको जगमा अपहरणकारीले बालकलार्इ पुरेका थिए । जुन शवलार्इ महाशाखाको प्रहरी टोलीले सोमबार दिउँसो उत्खनन् गरेर निकालेको थियो ।

सम्बन्धित खबरहरु