काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथी गम्भीर प्रकारको आरोप लगाएको छ । उसले प्रधानमन्त्री ओलीलाई दोहोरो चरित्र देखाएको आरोप लगाएको हो । प्रधानमन्त्रीकै कारण ‘दुर्भाग्यपूर्ण घटना’ भएको र यसले न्यायपालिकाको स्वतन्त्रता र निस्पक्षतामाथि कार्यकारिणीको नियन्त्रणकारी हस्तक्षेप भएको ठहर गरेको छ ।

मंगलबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीको आलोचना गरेको छ । संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीकै सिफारिसमा जोशीको नाम प्रस्ताव भएको तर, प्रधानमन्त्रीले नै अस्वीकृत गराउन आफ्ना पार्टीका सांसदहरुलाई हृवीप लगाएको कांग्रेसको दाबी छ ।

ओलीले प्रधानमन्त्री पदको प्रतिष्ठा र जिम्मेवारी विपरित भूमिका खेलेको भन्दै कांग्रेसले भनेको छ, प्रधानमन्त्रीले दुराशयपूर्ण तवरबाट आफैं सिफारिस गर्ने, आफैं अस्वीकृत गराउने दोहोरो भूमिका गर्नु भएकामा कांग्रेस गम्भीर छ ।’ प्रधानमन्त्रीकै कारण प्रधानन्यायाधिश नियुक्तिको प्रक्रिया दुर्घटनामा परेको कांग्रेसले बताएको छ ।

यसलााई न्यायपालिकाको स्वतन्त्रता र निस्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेप भन्दै कांग्रेसले लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, संवैधानिक सर्वोच्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षा गर्न अझ बढी गम्भीरताका साथ क्रियाशील रहने निर्णय गरेको छ । बैठकपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यदि जोशीको शैक्षिक प्रमाणपत्र नक्कली छ भने राज्यले छानविन गरेर कारबाही गर्नु पर्ने माग समेत गरेका छन् ।

सम्बन्धित खबरहरु