काठमाडौ । नेपाल प्रहरीले ३५ हजार जोर गुणस्तरहीन जुत्ताको भुक्तानी दिएको खबर छ । भारतको एसजीएसबाट गुणस्तर परीक्षणमा फेल भएका डीएसएम जुत्ताको भुक्तानी दिएको हो । गत आर्थिक बर्षमा दीपक मल्होत्राको आइएमएस इन्टरप्राइजेजले ३५ हजार डीएमएस जुत्ताको ठेक्का पाएको थियो ।

मल्होत्राले भारतीय उत्पादक कम्पनी लिबर्टीबाट जुत्ता आयात गरी प्रहरीलाई बुझाए । प्रहरीले गुणस्तर परीक्षणका लागि भारतको एसजीएसमा पठायो । एसजीएसबाट गुणस्तर फेल भएको रिपोर्ट आयो । गुणस्तर फेल भएपछि उक्त जुत्ता कानूनी प्रक्रिया पूरा गरी गुणस्तर हेर्ने अधिकारी आर्थिक प्रशासन महाशाखाका प्रमुख एसएसपी प्रकाश अधिकारीले पत्र लेखेरै सामान फिर्ता गर्नुपर्ने हुन्छ । तर मल्होत्रको डीएमएस जुत्ता फिर्ता गरिएन । भण्डारबाट गुणस्तर फेल भएको जुत्ता फिर्ता नगरी मल्होत्रालाई चलखेल गर्ने अवसर प्रदान गरिएको थियो ।


यसबीचमा नेपाल प्रहरीमा आइजीपी सर्वेन्द्र खनाल नियुक्त भए । उनी नियुक्त भएपछि दीपक मल्होत्राले उक्त जुत्ता प्रहरीलाई खरिद गराउन पुनः सक्रिय भए । प्रकाश अर्यालको समयमा गुणस्तर फेल भएका उक्त जुत्ता खरिद गराउन उनले ठेक्का हेर्ने गरी राखेका नेपाल प्रहरीका पूर्वडीएसपी सुरेन्द्रबहादुर सिंहलाई पनि सक्रिय बनाउनतिर लागे । स्रोतका अनुसार, आइजीपी खनाललाई मल्होत्रा स्वयंले भेटेर जुत्ताका बिषयमा कुरा गरे ।

स्रोतका अनुसार, आइजीपी खनालले प्रक्रिया मिलाएर जुत्ता खरिद गर्न प्रबन्धका तत्कालीन डीआइजी पवन खरेल र आर्थिक प्रशासन महाशाखाका प्रमुख प्रकाश अधिकारीलाई निर्देशन दिए । आइजीपीको संकेत पाएपछि प्रबन्ध, आर्थिक प्रशासन महाशाखाका हाकिमले ५ जोर गुणस्तरीय जुत्ता ल्याएर परीक्षणका लागि भारत पठाए । र, उताबाट गुणस्तर पास भएको रिपोर्ट आएपछि मल्होत्राको आईएमएस इन्टरप्राइजेजले प्रतिजोर १ हजार ८ सय ४५ रुपैयाँका दरले ६ करोड ४५ लाख ७५ हजार रुपैयाँ भुक्तानी लिएको स्रोतको दावी छ । साँघु साप्ताहिकबाट साभार

सम्बन्धित खबरहरु