महुरेगढीको आँखा आकारको अनौठो पोखरी औपचारिक रुपमा उद्घाटन


खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेगढीमा आँखा आकारको पोखरी निर्माण गरिएको छ । हरेक वर्ष साउन २ गते ठूलो मेला लाग्ने महुरेगढीमा नगरपालिकाको रु ४३ लाख तथा स्थानीयवासीको रु आठ लाख बराबरको जनश्रमदान गरी रु ५१ लाखको लागतमा पोखरी निर्माण गरिएको हो । मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गको संगमस्थल महुरेगढीमा निर्माण गरिएको पोखरीको लम्बाई ३२ मिटर छ । बीच भागमा ब्रिज डाईनिङ बनाइएको पोखरीको दाँया र बाँया पानीको फोहोरा छोडिएको छ ।


ब्रिज डाईनिङको माथिबाट सेन्सर विजुलीबत्ती र डिजिटल वोर्ड राखिएको पोखरीको शुक्रबार नगर प्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्त रुपमा उद्घाटन गरे । पोखरी उद्घाटन कार्यक्रममा सहभागी नेपाल कम्युनिष्ट पार्टीका नेता दिपक पाण्डे (आकाश), नेपाली काँग्रेसका राजनशेर राई, जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर कार्की लगायतका वक्ताहरुले ऐतिहासिकस्थलमा पोखरी निर्माण गर्नुले पर्यटकीयस्थलको थप शोभा बढेको बताएका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रिजालले पोखरीमा नगरको समग्र वस्तुस्थिति झल्कने तस्विरहरु राख्ने तयारी गरिएको बताए । “नगरको प्रवेशद्धारमा सांकेतिक रुपमा आँखा आकारको पोखरी बनाइएको छ ।” उनले भने, “पोखरीमा आइपुग्ने जो कोहीले यो नगरपालिका कस्तो छ र कहाँ के छ भन्ने प्रष्ट देख्न सक्ने छन् ।” वि।सं। १८३० मा भुमराजले राईले निर्माण गरेको पोखरीलाई आधुनिकता दिइएको पोखरीमा पाइपबाट ल्याइएको शुद्ध पानी प्रयोग गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश राईले बताए । पोखरीमा रंगीन माछा समेत राखिने अध्यक्ष राईको भनाइ छ ।

महुरेगढीमा संसारमै नभएको मान्छेको आँखा आकारको पोखरी निर्माण भएपछि हेर्ने र सेल्फी खिच्ने मान्छेको भीड लाग्न थालेको छ । महुरेगढी दिक्तेल–हलेसी र दिक्तेल–गाईघाट सडकको संगमस्थलमा पर्छ । ऐतिहासिक एवम् पर्यटकीयस्थल महुरेगढीमा पोखरी निर्माण गरेपछि आन्तरिक तथा वाह्य पर्यटकको केन्द्रबिन्दु बन्ने वडा अध्यक्ष भीम राईले बताए । “महुरेगढीमा यसअघि पनि आन्तरिक तथा बाह्य पर्यटकको भुइचो लाग्थ्यो ।” उनले भने, “संसारमै नभएको पोखरी निर्माण गरेपछि झनै चाप बढ्न थालेको छ ।”

महुरेगढीमा विशेषगरि हिमश्रृङ्खला, तराईका फाँट र लालीगुराँस हेर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । महुरेगढी आउने पर्यटकलाई थप मनोरन्जन दिलाउँदै नगरपालिकाको आन्तरिक आयश्रोत बृद्धि गर्ने उद्देश्यले अन्य ठाउँमा निर्माण भएको भन्दा छुट्टै मानिसको आँखा आकारको पोखरी निर्माण गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकाको सिमाना नजिक पर्ने महुरेगढी समुन्द्री सहतदेखि करिब दुई हजार २०० मिटर उचाईमा पर्छ । महुरेगढीमा निर्माण गरिएको पोखरी आसपासमा पिकनिक स्पोर्टस लगायतका भौतिक संरचना समेत निर्माण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्