काठमाडौ‌ । पूर्वएमाले चारवटा र पूर्वमाओवादीले तीनवटा प्रदेश कमिटीको नेतृत्व लिने अनौपचारिक सहमति भएको छ । १, ३, कर्णाली र ७ प्रदेशको अध्यक्ष पूर्वएमाले र २, गण्डकी र ५ प्रदेशको अध्यक्ष पूर्वमाओवादीको भागमा पर्ने एक सचिवालय सदस्यले बताए । यद्यपि, प्रदेश संगठन कमिटीमा स्थायी समिति तहका नेताहरूलाई इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिइने भएकाले अध्यक्ष र सचिव पदको बाँडफाँड पनि सन्तुलन मिलाएर गर्ने तयारी छ । प्रदेश र जिल्लामा एउटा पक्षले अध्यक्ष र सहइन्चार्ज तथा अर्को पक्षले इन्चार्ज र सचिव लिने गरी छलफल चलिरहेको स्थायी समिति सदस्य तथा प्रदेश ३ कार्यदलका सदस्य अग्निप्रसाद सापकोटाले बताए ।

पूर्वएमालेका नेताहरूले प्रदेश ६ मा तत्कालीन माओवादीका नेता मुख्यमन्त्री रहेकाले प्रदेश अध्यक्षमा दाबी गरेका छन् । उता, प्रदेश २ मा पूर्वमाओवादीले अध्यक्षभन्दा इन्चार्जमा बढी रुचि राखेको छ । यसअघि प्रदेशको जिम्मेवारी सम्हालेका नेताहरूको मर्यादाक्रमलाई समेत ख्याल गरेर इन्चार्ज र अध्यक्ष तथा सहइन्चार्ज र सचिव बाँडफाँडको सन्तुलन मिलाउने तयारी छ । अहिलेसम्म टुंगिएका प्रदेश १ मा पूर्वएमाले बढी समेटिएको कमिटी बन्ने भएको छ । कर्णाली प्रदेशमा भने पूर्वमाओवादीबाट ८८ र एमालेबाट ८७ जना समेटिएको कमिटी बन्ने भएको छ । बाँकी प्रदेशमा २ नम्बरबाहेक पूर्वएमाले बढी सदस्य रहेको कमिटी बनाउने तयारी छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

सम्बन्धित खबरहरु