काठमाडौ । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको असर चितवन लगायतका विभिन्न जिल्लामा नराम्रो परेको छ । बिहानै केही स्कुल बस र ट्रकमा आगजनी गरिएको छ । कही बम फेला परेको छ । कही विष्फोटक पदार्थ सहित पक्राउ परेका छन् । बन्दले बिहानैदेखि सवारी साधन नचल्दा समस्या आएको छ ।

चितवनमा सार्वजनिक सवारी पूर्णरुपमा ठप्प छन् भने फाट्फुट् इ–रिक्सा चलेका छन् । यता भक्तपुको सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउनुभयो । चन्दा आतंक फैलाएको नाममा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले नियन्त्रणमा लिएपछि नेकपाले आज नेपाल बन्द आब्वान गरेको हो ।

यता अखिल क्रान्तिकारी विप्लव समूहकी केन्द्रीय सदस्य उषा किरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सन्जेल रावललाई प्रहरीले पक्राउ गरेको छ। सुरक्षा जाँचका क्रममा प्रहरीले अखिल क्रान्तिकारी विप्लव समूहकी केन्द्रीय सदस्य उषा किरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सन्जेल रावललाई पक्राउ गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले आव्हान गरेको बन्द निष्प्रभावी बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । मंगलबार विहान काठमाडौंको जमल पुलमुनी कार्टुनमा प्याक गरिएको प्रेसर कुकुर सहित आजाद र रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले से ५ प ६७०१ नम्वरको स्कुटीमा सवार दुवै जनालाई चेकजाच गर्दा प्रेसर कुकुर भेटिएकाले पक्राउ गरेको हो ।

नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ। मंगलबार बिहान ६ बजे बसमा आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो। भन्सार छुटाएर काठमाण्डौं लैजादै गरेको स्कुल बस पूर्ण रुपमा क्षति पुगेको पालुङ प्रहरीले जनाएको छ। त्यस्तै हेटौँडा–११ नवलपुरमा शंकास्पद वस्तु फेला परेको छ। राजमार्ग अवरुद्ध गर्ने उद्देश्यले राखेको प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाले बताए। घटनाका कारण केहीबेर राजमार्ग अवरुद्ध भएको थियो। बन्दका कारण मकवानपुरमा सवारी कम चलेका छन्।

सम्बन्धित खबरहरु