पोखरा । संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गएको भन्दै पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर माझथरमा यसलाई जोगाउने प्रयास थालिएको छ । संस्कृति संरक्षणका लागि सामाजिक सचेतना आवश्यक भएको भन्दै ज्येष्ठ नागरिकदेखि बयस्क र युवा सबै वर्ग एवं समुदायलाई एकै ठाउँमा समेट्दै संरक्षणको प्रयास थालिएको हो ।

सिद्धेश्वर शिव मन्दिर, सिलिङ्गे संरक्षण एवं पूजा व्यवस्थापन समिति मातहत रहने गरी सिलिङ्गे शिव मन्दिर भजन समूह गठन गरिएको समितिका संयोजक लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो । शालिकराम पौडेलको संयोजकत्वमा गठित भजन समूहका सदस्यमा कमलप्रसाद पौडेल, गुरुप्रसाद पौडेल, सदनकुमार महत, बन्दुराज पौडेल, लोकबहादुर महत, तीलकराम पौडेल, मीनबहादुर विश्वकर्मा, टेकनाथ पौडेल, मेघबहादुर पौडेल क्षेत्री, बाबुराम पौडेललगायत हुनुहुन्छ ।

संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गएको वास्तविकतामा भजन समूह गठन गरी तीनको जगेर्नाको प्रयास शुरु गरिएको भजन समूहका सदस्य कमलप्रसाद पौडेलले बताउनुभयो । समूहले प्रत्येक सङ्क्रान्ति, पूर्णिमा, एकादशीका साथै महत्वपूर्ण पर्वमा परम्परागत बाद्यवादनसहित भजनकीर्तन कार्यक्रम शुरु गरिसकेको छ । तीनवटै पुस्ता एकताबद्ध भई थालिएको संस्कृति संरक्षणको प्रयास उपलब्धिमूलक बन्ने विश्वास लिइएको समूहका अर्का सदस्य मीनबहादुर विश्वकर्माले बताउनुभयो ।

समूहका ज्येष्ठ सदस्यले परम्परागत बाद्यवादन लगायतका विषयमा आफ्ना ज्ञान, सीप र अनुभव बयस्क एवं युवापुस्तालाई हस्तान्तरण गर्ने उहाँले जानकारी दिनुभयो । रोजगारीको खोजीमा युवापुस्ता विदेशिनुपर्ने बाध्यतासँगै गाउँमा युवा नहुँदा धेरै संस्कृति संरक्षण नहुँदा सङ्कटमा पर्ने गरेको स्थानीय युवा श्रीलाल विश्वकर्माको भनाइ छ । रासस

सम्बन्धित खबरहरु