जाजरकोट । खलङ्गा–पाँचकाटिया सडक वर्षात्सँगै खसेको पहिरो, हिलो र खाल्टाखुल्टीका कारण अवरुद्ध भएको छ । दुई महिनादेखि यातायात अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भएको छ भने जाजरकोट भएर डोल्पा र रुकुम जाने यात्रु तथा व्यापारीले समेत निकै कठिनाइ व्यहोर्नु परेको छ । सडक विभाग, भेरी नगरपालिकालगायत निकायले अवरुद्ध सडकको मर्मत सुधारमा बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको छ । सडक अवरुद्ध भएपछि कुशे र बारेकोटका बासिन्दा दुई÷तीन दिनको पैदल हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् ।

त्यस्तै, उक्त सडकमा यातायातका साधन नचल्दा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा पनि समस्या भएको छ । घोडा, खच्चड र भरियाको माध्यमबाट ढुवानी गरिएको खाद्यान्नको मूल्य आकासिएको स्थानीय उपभोक्ताको गुनासो छ । यातायातको असुविधा भएपछि त्यस क्षेत्रका बिरामीलाई उपचारका लागि बाहिर लैजान स्ट्ेरचरको सहारा लिनुको विकल्प छैन । बाढी, पहिरो, हिलोलगायत कारण पाँचकाटिया सडकमा दुई महिना यातायात बन्द हुँदा सास्ती भएको बारेकोट १, रामीडाँडाका दलबहादुर बुढाले बताउनुभयो ।

सडक मर्मत सुधार नहुँदा पाँचकाटिया मात्र होइन, जिल्लाका अन्य ग्रामीण सडकमा पनि यातायात सञ्चालन हुन सकेका छैनन् । सदरमुकाम खलङ्गादेखि जिल्लाका विभिन्न भागमा जाने ग्रामीण सडक मर्मत सुधार गर्न सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीय बासिन्दा मर्कामा परेका हुन् ।

खलङ्गादेखि उत्तरी भेगका बारेकोट, कुशे, जुनीचाँदे, मजकोट, कार्कीगाउँ, बाटुले, दशेरा, सीमालगायतका बासिन्दा बढी मर्कामा परेका छन् । वर्षेनी वर्षात् पछिका तीन÷चार महिनासम्म स्थानीय बासिन्दाले आवतजावतमा निकै सास्ती बेहोर्नुपरेको जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो । कतिपय सडकमा पहिरोले पैदल हिँड्ने अवस्था पनि नभएको उहाँले बताउनुभयो । सडक निर्माणका नाममा हरेक वर्ष करोडौँ रकम खर्च हुँदै आएको उहाँको भनाइ छ ।

सम्बन्धित खबरहरु