काठमाडौ । काठमाडौंमा अर्को हप्तादेखि सुरु हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका लागि सरकारलाई सडकका खाल्डा पुर्न भ्याइ नभ्याई छ। अन्य दिन रातको समयमा मात्रै पुरिने सडकका खाल्डा बिमस्टेक सम्मेलन नजिकिंदै गर्दा मंगलबार दिउँसो देखिनै पुर्न थालिएको थियो। त्यसले गर्दा काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।


बिमस्टेकका पाहुना जाने रूटमा सडक निर्माण र स्तरोन्नतीको काम भइरहेका कारण मंगलबार साँझ काठमाडौंमा लगातार साढे दुई घण्टा जाम भएको थियो। बिमस्टेकको शिखर सम्मेलनका लागि विदेशी पाहुनाहरु आउने दिन नजिकिँदा समेत सडकका खाल्डा पुर्ने काम नसकिएपछि मंगलबार दिउँसो खाल्डाखुल्डी पुर्न थालिएको हो। सबैतिर खाल्डाखुल्डी पुर्न थालिएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो। साँझ अबेरसम्म पनि ट्राफिक जाम भएको थियो।

ट्राफिक प्रहरीलाई सडकमा काम गराउदै ट्राफिक व्यवस्थापन गर्न हम्मे–हम्मे परेको छ। ट्राफिक प्रहरीका अनुसार ट्राफिक आवागमन सहज हुन राति अबेरसम्म लाग्ने अवस्था छ। विशेष गरी चोकहरुमा बढी समस्या देखिएको छ। भित्री सडकहरुमा पनि जाम भएकाले उपत्यकाका सवारी आवागमन अस्तव्यस्त भएको ट्राफिक प्रहरीले बताएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले दिनभर ट्राफिकका बिषयमा विभिन्न माध्यमबाट सूचना प्रवाह गरेपनि जाममा कमि नआएको बताए। उनका अनुसार मंगलबार काठमाडौंको जाम धेरैपछि भएको हो। भदौ १४ र १५ गते हुने बिमस्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत ६ राष्ट्रका सरकार र राष्ट्र प्रमुख काठमाडौं आउने कार्यक्रम छ।

सम्बन्धित खबरहरु